ऐनविपरीत वैदेशिक रोजगारीका नाममा वार्षिक अर्बभन्दा बढी ठगी गर्दै एजेण्ट

हिमालय टाइम्स
Read Time = 5 mins

रमेश भारती/हिटा
काठमाडौं । वैदेशिक रोजगारी क्षेत्रमा म्यानपावर कम्पनीभन्दा एजेण्टको हाबी धेरै छ । पछिल्लो समय एजेण्टबाट ठगिने (व्यक्तिगत ठगी) बढ्ने क्रममा रहेको वैदेशिक रोजगार विभागले जनाएको छ । वैदेशिक रोजगारीमा कामदार पठाउनकै लागि भने विभागसँग अनुमति लिएका म्यानपावर कम्पनीबाहेक कोही पनि एजेण्टले श्रमिकसँग यो क्षेत्रको काम गर्न पाउँदैनन् । रोजगारीका लागि एजेण्टले कामदार पठाउन नपाउने वैदेशिक रोजगार ऐनमा व्यवस्था छ । २०७२ सालमै विभागले एजेण्ट खारेजी गरेको छ । तर, विभागको नियमविपरीत एजेण्ट तथा बिचौलियाबाट हुने ठगी भने बर्सेनि बढ्न थालेको छ ।

एजेण्टको ठगी बढेसँगै पक्राउ पर्ने क्रम पनि बढेको वैदेशिक रोजगार विभागका महानिर्देशक मदन दाहालले जानकारी दिनुभयो । सामाजिक सञ्जाल, नेटवर्क तथा अन्य माध्यम प्रयोग गरी वैदेशिक रोजगारीको प्रलोभन देखाएर एजेण्ट ठगी गर्ने गरेको उहाँले बताउनुभयो । ‘रोजगारीको प्रलोभनमा परेर कामको खोजीमा रहेको युवासमेत ठगिन्छन् । ठगिनुभन्दा अगाडि सम्बन्धित निकायसम्म आउँदैनन् ।

अन्तिममा ठगिएपछि अथवा एजेण्ट भागेपछि मात्र विभागमा पीडित आउने गरेको छन् ।’ उहाँले भन्नुभयो, ‘प्रायजसो एजेण्टबाट हुने ठगी धेरै हुन्छ । त्यसमा प्रमाण पनि अपुग हुन्छ । त्यसैले पीडितले न्याय पाउने दर कम छ । पछिल्लो समय विभागले प्रमाण पुगेका नपुगेका सबैखाले उजुरी दर्ता गर्छ ।’

अघिल्लो आर्थिक वर्ष २०७८/०७९ मा एजेण्टबाट ठगिनेको संख्या ६९५ थियो । तर, चालु आर्थिक वर्ष २०७९/०८० को दश महिनामा मात्रै ९२५ वटा एजेण्टले ठगी गरेको उजुरी विभागमा परेको छ । यसरी दर्ता भएका नौ सय २५ उजुरीमा ७५ करोड ७७ लाख ४१ हजार २१४ रुपैयाँ ठगी रकम दाबी एजेण्टबाट ठगिएका पीडितले गरेका छन् ।

गत आर्थिक वर्षमा विभागमा दर्ता भएका ६ सय ९५ उजुरी उपर ५० करोड ४४ लाख ६१ हजार २०३ रुपैयाँ रकम दाबी गरिएको थियो । विभागका अनुसार अघिल्लो आर्थिक वर्ष २०७८/०७९ देखि अहिलेसम्म एजेण्ट र बिचौलियाबाट एक अर्ब २६ करोड २२ लाख दुई हजार ४१७ रुपैयाँ ठगी भएको छ । यो अवधिमा विभागमा परेको १६ सय २० उजुरी उपर यो रकम दाबी गरिएको हो ।

यस्तै, चालु आर्थिक वर्षको १० महिनामा परेका नौ सय २५ उजुरीमध्ये १७६ जना एजेण्टलाई प्रहरीले पक्राउ गरेर कारबाही चलाएको विभागले जनाएको छ । त्यसअन्तर्गत १३५ जनाले विभागकै रोहबरमा मिलापत्र गरेका थिए भने, मिलापत्रमार्फत नौ करोड ४३ लाख ५६ हजार एक सय रुपैयाँ एजेण्टहरूले पीडितलाई तिरेको विभागको तथ्यांकमा छ । साथै, यो अवधिमा विभागबाट नटुंगिएका ७७ वटा मुद्दा वैदेशिक रोजगार न्याधिकरण अदालतमा पठाइएको छ ।

यसैगरी, गत आर्थिक वर्षमा १४९ एजेण्ट पक्राउ परेकोमा ११४ वटा मुद्दाको मिलापत्र भएको थियो । जसबाट नौ करोड ३३ लाख ५० हजार ६९५ रुपैयाँ पीडितले पाएका थिए । यसरी गैरकानुनी रूपमा एजेण्टबाट ठगीका ३५ प्रतिशत रोजगारपीडितले मात्र न्याय पाउने गरेको विभागले बताउँदै आएको छ ।

पछिल्लो समयमा कतिपय म्यानपावर कम्पनीले खोलेमा विभिन्न शहरका शाखा कार्यालय र कतिपय म्यानपावर एजेण्टकै भरमा चलेको रोजगारविज्ञहरूले बताउँदै आएका छन् । जापान, दक्षिण कोरिया, सिंगापुर, रोमानिया, पोर्चुगल, युके, न्युजिल्याण्ड, युरोपका देश, क्यानडा, अफ्रिकी देश, खाडी देश र मलेसिया रोजगारीमा पठाइदिने प्रलोभन देखाएर एजेण्टले ठगी गर्दै आएको विभागले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?