गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउन दबाब, नौ जिल्लाका जनजीवन प्रभावित

भाेजराज रोस्यारा कैलाली, संवाददाता
Read Time = 4 mins

धनगढी। गेटा अस्पताललाई शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय कार्यान्वयनको माग गर्दै सुदूरपश्चिम प्रदेशमा आम हड्ताल सुरु भएको छ ।

विश्वविद्यालय स्थापनार्थ गठित संघर्ष समितिले यसअघि सार्वजनिक गरेको बिरोध कार्यक्रमको तालिका अनुसार आज सुदूरपश्चिम प्रदेशमा आम हड्तालको आयोजना गरेको हो । जसका कारण नौ जिल्लाको जनजीवन प्रभावित हुन पुगेको छ ।

काठमाडौंमासमेत बिरोध प्रदर्शन गरेका असन्तुष्ट समूहले आज सो प्रदेश ठप्प पारेका छन् । सो हड्तालका कारण सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लामा लामो तथा छोटो दूरीका सवारी साधन चल्न सकेको छैन । प्रहरी का अनुसार महेन्द्र राजमार्गमा ठूला सवारी साधान चलेका छैनन् भने अन्य सहायक मार्ग पनि दुई पाङग्रे सवारी साधान मात्रै छिटफुट रुपमा चलेका छन ।

गत २९ माघमा बसेको मन्त्रिपरिषद्को बैठकले गेटामा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय गरेको थियो, सो अघि सुदूरपश्चिम भ्रमणमा गएका प्रधानमन्त्री प्रचण्डले गेटालाई बिश्वबिद्यालय बनाउने घोषणा पनि गरेका थिए ।

तर, गत जेठ १५ मा सरकारले ल्याएको बजेटमा विश्वविद्यालयको ठाउँमा प्रतिष्ठानका रुपमा अघि बढाउने र एक सय शैय्याको अस्पताल सञ्चालन गर्ने घोषणा गरे पछि सुदुरपश्चेमका नागरिकमा असन्तुष्टी बढेको हो ।

शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ गठित संघर्ष समितिका संयोजक लोकराज पाण्डेले आजको आमहड्तालमा यातायात व्यवसायी, राजनीतिक दल, व्यापारीहरूले समेत ऐक्यबद्धता जनाएको बताउनुभयो । आमहड्ताल साँझ ६ बजेसम्म रहने जनाइएको छ ।

संघर्ष समितिले सरकारले २०७९ माघ २९ गतेका दिन मन्त्रिपरिषद् र जेठ ५ गते नीति तथा कार्यक्रममा पास गरे अनुसार गेटामा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन हुनुपर्ने माग गर्दै आएको छ । सरकारले जेठ १५ गते संसद्मा पेस गरेको आगामी आर्थिक वर्षको बजेटमा गेटामा प्रतिष्ठान निर्माण गरेर एक सय शय्याको मात्रै अस्पतालमा सीमित पारेपछि स्थानीयले सङ्घर्षको कार्यक्रम घोषणा गदै आन्दोलित भएका हुन् ।

यसैबीच धनगढीमा बजार बन्द गराउँदै हिँडेका पाँच जना बन्धकर्तालाई प्रहरीले पक्राउ गरेको छ । मन्त्री सवार गाडीमा ढुंगा हानेको भन्दै पाँच जना बन्धकर्तालाई प्रदेश सभा भवन बाहिरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रदेश सरकारका आर्थिक मामिला मन्त्री नरेशकुमार शाहीको गाडीमा उनीहरूले ढुंगा प्रहार गरेका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?