धनगढी डुबानको समस्या हल गर्न १२ खोलानालाको अतिक्रमण हटाइयो

भाेजराज रोस्यारा कैलाली, संवाददाता
Read Time = 5 mins

कैलाली । कैलालीको धनगढी उपमहानगरपालिकाले गत आर्थिक वर्षको असार १ गतेबाट खोलानाला माथिको अतिक्रमण हटाउन सुरु गरेको थियो । धनगढी उपमहानगरपालिकाको वडा नम्बर ५ तारानगरस्थित बाल बिहानीबाट सुरु भएको अभियान बजार क्षेत्रका चार वडामा फैलिएको छ । खोलानालाको अतिक्रमणका कारण धनगढी डुबान हुँदै आएको भन्दै खाली गर्ने अभियान सञ्चालन गरिएको हो । धनगढी उपमहानगरपालिकाले आफ्नै स्रोत साधनको प्रयोग गरेर बजार क्षेत्रमा अतिक्रमण परेका खोलानाला खाली गर्ने कार्यलाई निरन्त्रता दीएको छ ।

धनगढी उपमहानगरपालिकाका डिभिजन इन्जिनियर दीजराज भट्टले प्राकृतिक नालाको अतिक्रमण खाली गर्न काम जारी रहेको बताउँनुभयो । उहाँले धनगढीको वडा नम्बर २, ३ र ४ का प्राकृतिक खोलाहरुको अतिक्रमण खाली गरिएको बताउँनु भयो । धनगढी उपमहानगरपालिकाले वडा नम्बर २ को पुरानो दिनेश मेटल हुँदै रुवस होटल-सन्तोषीटोल भएर बग्ने नाला, रातोपुल हुँदै सुदूरपश्चिमाञ्चल क्याम्पस पछाडि भएर बग्ने नाला, भन्सारको रश्मी मेडिकल हुँदै बग्ने नालाको अतिक्रमण खाली गरिएको छ ।

सबै भन्दा बढी डुबान हुँदै आएको वडा नम्बर ३ का पाँच नालाको अतिक्रमण उपमहानगरपालिकाले खाली गराएको छ । डिलासैनी टोल-सुधारगृह नाला, फाप्ला खानेपानीदेखि राजधाट जानेपुल, मोहनापुल अत्तरिया ६ लेन सडकदेखि जनता विद्यालय सम्मको नाला, राधा विकको घर नजिकको नाला, भाटभटेनी पछाडिदेखि मोहनापुल अत्तरिया ६ लेन सडकसम्मको नालाको अतिक्रमण खाली गराइएको छ ।

धनगढीको बजार क्षेत्रका अतिक्रमणमा परेका खोला, नाला, ताल तथा सार्वजनिक जग्गा खाली गर्न उपमहानगरपालिकाले स्काभेटर प्रयोग गर्दै आएको हो । धनगढीको वडा नम्बर ४ का शिवपुरपछाडिको नाला, ठाकुर एग्रोदेखि भगवती टोलको नाला, मोहना पुलदेखि पूर्व एकता टोलको नाला, नेपाली सेनाको बोराडाँडी ब्यारेक भित्र हुँदै शिवपुरी धामको नालाको अतिक्रमण खाली गराइएको छ ।

धनगढी उपमहानगरपालिकाका डिभिजन इन्जिनियर भट्टले बर्सादको पानी नाला हुँदै गन्तव्यमा जाने दाबी गरेका छन् । उहाँले नालामा रहेका ठुला भौतिक संरचना अझै हटाउन बाँकी रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘ठुला नाला पनि खोल्छौँ । नियमित खोल्ने कार्यक्रम छ । बर्खालाई लक्षित गरेर काम हुँदै छ । अहिले साना कुला नालाहरू खोल्दै छौँ । पहिलो प्राथमिकतामा बस्तीका नालाहरू छन् ।’

खोलानाला माथि भएको अतिक्रमण नहटाउँदासम्म धनगढी डुबानको समस्या समाधान नहुने भएकाले अतिक्रमित क्षेत्र खाली गर्न थालिएको हो । मोहन पुल-अत्तरिया ६ लेन सडक क्षेत्रको डुबान समस्या समाधानका लागि आगामी आर्थिक वर्षमा सङ्घीय सरकारले बजेट विनियोजन गरेको छ । इन्जिनियर भट्टले सङ्घीय सरकारले डेढ अर्बको विस्तृत आयोजना प्रतिवेदन तयार गरिएकोमा १७ करोड विनियोजन गरेको बताउनु भयो ।
माहेनापुल-अत्तरिया ६ लेन सडक क्षेत्रको पानी निकासका लागि सहरी विकासले आगामी आर्थिक वर्षदेखि काम सुरु गर्ने भएको हो । धनगढी बजार क्षेत्रका अन्य खोलाको अतिक्रमण खाली र व्यवस्थित ढल निकासका लागि एसियाली विकास बैङ्कले लगानी गर्ने भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?