अवैध रूपमा काटिएका काठ एकाएक हराउँदै

हिमालय टाइम्स
Read Time = 4 mins

सरोज निरौला/हिटा
उदयपुर । उदयपुरको मैनामैनीस्थित एक सामुदायिक वन जंगलमा अवैध रूपमा काटिएका हरिया रूखका काठ एकाएक हराउन थालेका छन् । बेलका नगरपालिका-७ मैनामैनीस्थित दुधकोशी सामुदायिक वन उपभोक्ता समूहमा अवैध फँडानी गरी गोलिया र चिरान काठ रातारात हराउन थालेको स्थानीयको भनाइ छ ।

अवैध रूपमा रूख ढालेर घाटगद्दी गरी चिरानसमेत भइसकेको काठ वन कार्यालयले निगरानी गर्न थालेपछि हराएको भन्दै खोजी गर्न स्थानीयले माग गरेका छन् । ७ नं. वडाको जंगलका रूख ढालेर गोलिया टुन बनाई वडा नं. ८ को आरंगास्थित चौरीमा घाटगद्दी गरी चिरानसमेत गरेको काठ वन कर्मचारीकै आँखा अगाडि रातारात हराउन थालेको उनीहरूको भनाइ छ ।

उपभोक्ताका अनुसार अघिल्लो दिनसम्म घाटगद्दीमा रहेको केही गोलिया र ३१ थान चिरान काठ रातारात गायव भएको छ । हरिया रुख ढालेको जानकारी दिएअनुसार डिभिजनबाट खटिएर आएको वन कर्मचारी टोलीले अनुसन्धान गरिरहेकै बेला काठ हराउनु रहस्यको विषय भएको भन्दै उपभोक्ताले खबरदारी गर्न पत्रकारलाई गुहारेका छन् । ‘वन कार्यालयसँग अनुमति नलिई हरिया रूख फँडानी गरेर गोलिया र चिरानसमेत गरेको पाइएपछि हामीले डिभिजनमा निवेदन दियौँ’ एक उपभोक्ताले भने त्यसपछि तीन दिनयता सहायक वन अधिकृत समेतको वन कर्मचारी आएर अनुसन्धान गरिरहेकै बेला अचम्म तरिकाले काठ हराउन थालेको छ ।’

उपभोक्ताले दिएको उजुरीका आधारमा डिभिजनले सहायक वन अधिकृत रामभगत यादव नेतृत्वको कर्मचारी टोली घटनास्थल पठाएर अनुसन्धान गरिरहेको छ । डिभिजन वन अधिकृत डा. इन्द्र सापकोटाले उपभोक्ताले अवैध रूख ढालेको भन्ने उजुरी दिएको आधारमा यादव नेतृत्वको टोली घटनास्थल पठाएर अनुसन्धान गरिरहेको बताउनुभयो । सापकोटाले रूख ढालेको भन्ने कुरा टोलीले पुष्टि गरिसकेको तर, परिमाण र अन्य विस्तृत विवरण पत्ता भने नलागिसकेको बताउनुभयो । ‘यसबारे अनुसन्धान गरिरहेका छौँ, केही समयपछि वास्तविकता पत्ता लाग्छ’ उहाँले भन्नुभयो ।

घटनास्थलमा खटिएका सहायक वन अधिकृत यादवले समूहको वनक्षेत्रमा तीन दर्जन बढी हरिया रूख ढालेको पाइएको बताउनुभयो । उहाँका अनुसार जंगलमा नजिक टाढा गरी एउटा करम र बाँकी सबै सालका रूख ढालेको पाइएको र कतिपय रुखहरू गोलिया टुन बनाएर चिरानसमेत गरिसकेको भेटिएको छ ।

यादवले रूख ढाल्ने काममा कसको संलग्नता छ भन्ने कुरा नखुलिसकेको र समूहका पदाधिकारी कोही सम्पर्कमा नरहेको बताउनुभयो । समूहका अध्यक्ष मणिराज राईलगायत पदाधिकारी सम्पर्कविहीन भएकाले खोजी कार्य भईरहेको पनि यादवले बताउनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?