एकदिन ढिलो भित्रियो मनसुन, सय दिन सक्रिय हुने

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपालमा यस वर्षको मनसुन भित्रिएको छ । नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ भए पनि यस वर्ष एकदिन ढिला गरी बुधबार मनसुन भित्रिएको हो । कोशी प्रदेशबाट भित्रिएको मनसुन पूर्वी मधेश, बागमती प्रदेशका अधिकांश भूभाग र गण्डकी प्रदेशका पूर्वी भूभागमा फैलिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

नेपालका अन्य भू-भागहरूमा भने केही दिनमा क्रमिक रूपमा मनसुन फैलिँदै जाने महाशाखाले जनाएको छ । औसतमा नेपालमा जुन १३ मा मनसुन भित्रिन्छ भने अक्टोबर २ मा बाहिरिन्छ । मौसम विज्ञान विभागका महानिर्देशक कमल राम जोशीका अनुसार यस वर्षको मनसुन सय दिन सक्रिय हुनेछ ।

पछिल्लो डेढसाता मुलुकका धेरै स्थानमा अधिकतत् तापक्रमले नयाँ कीर्तिमान कायम गरेसँगै बढेको अत्यधिक गर्मीले जनजीवन प्रभावित भएको थियो । मनसुन भित्रिएसँगै पानी पर्ने र गर्मी पनि विस्तारै घट्ने अनुमान छ । यस वर्ष देशका अधिकांश स्थानमा औसतभन्दा कम वर्षा हुने प्रक्षेपण जल तथा मौसम विज्ञान विभागले गरेको छ । विभागका अनुसार पूर्व र मध्य नेपालका केही क्षेत्रबाहेक अन्य स्थानमा औसतभन्दा कम वर्षा हुने प्रक्षेपण गरिएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको अध्ययन प्रतिवेदनका अनुसार वर्षमा ३४ जिल्लामा बाढी पहिरोको जोखिम हुने अनुमान छ । यस वर्ष बाढी-पहिरोलगायत मनसुनजन्य प्रकोपबाट साढे १२ लाख नागरिक प्रभावित हुने अनुमान गरिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?