कलैयाका युवाहरुद्वारा चिसो पानी तथा पेय पदार्थ निःशुल्क वितरण

सञ्जिवकुमार मिश्र बारा, संवाददाता
Read Time = 3 mins

बारा । जेठ महिनाको टण्टलापुरको घाम र त्यसमाथि लामो समय देखि पानी नपर्दा खडेरी परेको अवस्था छ । एक दुई दिन अगाडी केही पानी परेपनि त्यसले वातावरणमा खासै असर पार्न सकेको छैन ।

जमीन मुनिको पानीको सतह सुकेको कारण जिल्लाका अधिकांश धाराहरु सुकिसकेका छन भने कतिपय सुक्ने क्रममा रहेको छ । गर्मी महिनामा खाना भन्दा बढी पानी आवश्यक पर्दछ । तर पानीका मुहानहरु सुक्दै गएको कारण बाराली जनताहरुलाई झनै समस्या थपिएको छ । हरेक गाउँका ३० देखि ४० प्रतिशत धाराहरु सुकिसकेका छन् । यसै समस्यालाई मध्येनजर गर्दै बाराका स्थानीय ब्यापारी तथा युवाहरुले पानी लगायतका चिसो पेय पदार्थ निःशुल्क कलैया उपमहानगरपालिका १ भरतचौकमा विहिवार वितरण शुरु गरेका छन् ।

जिल्लाको दुर्गम ठाउँहरुबाट सदरमुकाम आउने आगन्तुक तथा बटुवाहरुलाई राहत दिनको लागि चिसो पानी र सर्वतको व्यवस्था गरिएको कलैया उपमहानगरपालिका १ स्थानीय युवा तथा ब्यापारी सुशिल साह कानुले बताउनुभयो ।

गर्मीको बेलामा खाना नभए पनि हुन्छ तर पानी विना बाँच्न सकिदैन, कानुले भन्नुभयो,‘यस बेला छिन छिनमा पानीको आवश्यकता पर्दछ । जसले शरीरलाई डिहाइड्रेशन हुनबाट जोगाउँछ । एकातिर गर्मीको मौसम र घाम र अर्कोतर्फ तातो हावा चलिरहेको छ गाउँ गाउँबाट सदरमुकाम आउने बटुवा तथा आगन्तुकहरुलाई चिसो पानीको अभावमा समस्या हुने गरेको छ । त्यसैले पानी र सर्वत निशुल्क रुपमा वितरण गरिरहेको उहाँले बताउनुभयो ।’

सर्वत र चिसो पानी बाडिरहेको ठाउँमा मानिसहरुको घुइचो देखिएको थियो सदरमुकाम बाहिरबाट किनमेल गर्न आउने आगन्तुकहरुलाई केही हदसम्म भएपनि सर्वत र चिसो पानीले राहत दिएको बारागढी गाउँपालिका ६ का राजकुमार साहले बताउनुभयो । उनी गाउँबाट किनमेल गर्न सदरमुकाम पुग्नु भएको थियो । आफू भरतचौकमा पानी खान जादा लाइन बस्नु पर्ने बाध्यता रहेको तर चिसो पानी र पेय पदार्थ निशुल्क वितरण भइरहेको देखेर यही आएर पानी र चिसो पेय पदार्थ (सर्वत) खाएको बताउनुभयो । कलैयाका युवाहरु गुडु साह, सोनालाल सर्राफ, राजकुमार लगायतकाले निशुल्क चिसो पानी र सर्वत खुवाउने कार्यक्रम संचालन गरेका छन् ।

 

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?