११ महिनामा विदेशी लगानी प्रतिबद्धता साढे ३४ अर्ब

Read Time = 4 mins

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा ३४ अर्ब ५९ करोड विदेशी लगानी प्रतिबद्धता आएको छ । जेठ महिनामा मात्रै चार अर्ब ९६ करोड विदेशी लगानी प्रतिबद्धता आएको छ । उद्योग विभागका अनुसार चालु आवको ११ महिना अर्थात् जेठसम्म कुल ३४ अर्ब ५८ करोड ४ लाख ६६ हजार सात सय चार रुपैयाँ बराबरको लगानीमा दुई सय ७४ उद्योगमा विदेशी लगानी प्रतिबद्धता आएको हो । जसबाट १४ हजार छ सय १६ रोजगारी सिर्जना हुने बताइएको छ ।

जेठमा सबैभन्दा बढी पर्यटन क्षेत्रमा २६.४५ र सबैभन्दा कम पूर्वाधार तथा ऊर्जामा क्रमशः १.२ प्रतिशत, १.२ प्रतिशत लगानी प्रतिबद्धता आएको छ । कृषि र खनिजमा लगानी प्रतिबद्धता आएको छैन । जेठमा ५६ साना र एउटा ठूलो उद्योगमा लगानी प्रतिबद्धता आएको हो । वैशाखमा २८ उद्योगमा एक अर्ब ६४ करोड ८३ लाख रुपैयाँ विदेशी लगानी प्रतिबद्धता आएको थियो । हालसम्म चार खर्ब ५३ अर्ब ८४ करोड ९९ लाख रुपैयाँको लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ ।

जेठमा सेयर पर्चेज एग्रिमेन्ट (एसपिए), सेयर सब्सक्रिप्सन एग्रिमेन्ट (एसएसए) र टेक्नोलोजी ट्रान्सफर एग्रिमेन्ट (टिटिए) गरी १३ उद्योगमार्फत् सात करोड ३१ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको छ । जेठसम्ममा एक सय २६ उद्योगमा एसपिए, एसएसएस र टिटिएमार्फत् १५ अर्ब ३८ करोड ३७ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको छ । जेठमा विदेशी लगानी प्रतिबद्धता जनाउने तीन सय दुई लगानीकर्ताले बिजनेस भिसा लिएका छन् ।

विभागका अनुसार चालु आवका ११ महिनामा विदेशी लगानी आएका उद्योगले नाफा तथा रोयल्टी गरेर १३ अर्ब ८२ करोड ५५ लाख रुपैयाँ लैजान विभागमा प्रस्ताव पेश गरेका छन् । जेठमा त्यस्ता कम्पनीले नाफासहित ३२ करोड ४३ लाख रुपैयाँ लाभांश लैजान प्रस्ताव गरेका हुन् । उल्लेखित उद्योगले चालु आवको ११ महिनामा रोयल्टीबापत दुई अर्ब ३२ करोड आठ लाख, १६ लाख १५ हजार अमेरिकी डलर, ३० करोड ७० लाख भारतीय रुपैयाँ र ४९ हजार युरो विदेश लैजान प्रस्ताव गरेका छन् ।

जेठमा रोयल्टीबापत छ करोड ७५ लाख २५ हजार, दुई लाख ९२ हजार एक सय ३३ अमेरिकी डलर, एक लाख ५३ हजार भारतीय रुपैयाँ र ४२ हजार युरो विदेश लैजान प्रस्ताव गरेका छन् ।

त्यस्तै, जेठमसम्म विभागले व्यवसायी भिसाअन्तर्गत एक हजार छ सय १९ लगानीकर्ता, दुई सय ६३ प्रतिनिधि र सात सय २६ आश्रितका लागि सिफारिस गरेको छ भने जेठमा मात्रै तीन सय दुई लगानीकर्ता, ४४ प्रतिनिधि र एक सय ७५ आश्रितका लागि भिसा सिफारिस गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?