बास्केटबलमा नेपालको हार

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । भुटानले खेलको अन्तिम सेकेण्डमा निर्णायक स्कोर गर्दा नेपाली पुरुष राष्ट्रिय बास्केटबल टोलीले फाइभ नेसन च्याम्पियनसिप २०२३ को सेमिफाइनलमा पराजय भोगेको छ । निकै प्रतिस्पर्धात्मक सेमिफाइनलमा भुटानले ६१-६० को जित दर्ता गरेपछि नेपाल फाइनल पुग्नबाट वञ्चित भयो । हाफ टाइममा नेपाल २७-३१ ले पछि रहेको थियो । तेस्रो क्वाटरको सुरुवातमा नेपालले खेलमा अग्रता लिँदै ३५-३१ को अग्रता बनायो । तर, पुनरागमन गर्दै भुटानले तेस्रो क्वाटरको अन्त्यमा स्कोर ४३-४० मा पुर्‍यायो ।

चौथो क्वाटरमा सुरुवातदेखि नै कडा प्रतिस्पर्धा भएको थियो । खेलको १७ सेकेण्ड बाँकीमा खेल ५९-५८ को स्थितिमा थियो । नेपालले पहिलो फ्री थ्रो कन्भर्ट गर्दै २ अंकले अघि बढ्यो । तर, नेपालबाट फुस्किएको बल नियन्त्रणमा लिँदै भुटानी खेलाडीले अन्तिम सेकेण्डमा स्कोर गर्दै भुटानलाई ६१-६० को जित दिलाए ।

अब बिहीबार हुने फाइनलमा भुटानले उपाधिका लागि बंगलादेशको सामना गर्नेछ । बंगलादेशले पहिलो सेमिफाइनलमा पाकिस्तानलाई ७९-६५ ले हराएको थियो ।

नेपाल लिग चरणमा भुटानसँग पराजित भए पनि अंक तालिकाको शीर्षस्थानमा रहेको थियो । नेपालले पहिलो खेलमा हार बेहोरे पनि त्यसपछि पाकिस्तान, बंगलादेश र माल्दिभ्सलाई हराउँदै लय समातेको थियो । तर, सेमिफाइनलमा हार बेहोरेसँगै नेपालको उपाधि जित्ने सपना तुहिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?