बजेटमा न्यायोचित वितरण भएन, नसच्याइकन पारित हुन सक्दैन : उपेन्द्र यादव

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकलाई अग्रगामी निकास दिने र अग्रगामी दिशातर्फ लैजाने प्रयासका साथ समाजवादी मोर्चा गठन भएको बताउनुभएको छ ।

बिहीवार पार्टी केन्द्रिय काार्यलय बालकुमारीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले विगतका कमी कमजोरीहरुलाई सच्याएर देखा परेका राष्ट्रिय मुद्दाहरुलाई सम्बोधन गर्दै मुलुकलाई सुशासन, स्थिरता, विकास र समृद्धिका लागि मोर्चा गठन भएको बताउनु भयो ।

उहाँले आदिवासी, मधेसी मुद्दाहरु सम्बोधन गर्दै मुलुकलाई अग्रगामी निकास दिने लक्ष्य रहेको बताउनु भयो । उहाँले समाजवादी मोर्चा गठन गर्दा आफ्नो अस्तित्व नै सकियो भन्ने किसिमका समाचारहरु आइरहेको भन्दै समाजवादी मोर्चाले आदिवासी, जनजाती, मधेसी र पहिचानवादीको मुद्दालाई झनै बलियो बनाएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामीले समाजवादी मोर्चा घोषणा गरेका छौँ । यी लक्ष्यहरु बोकेको समाजवादी मोर्चाले निश्चित रुपमा विगतका कमी कमजोरीहरुलाई सच्याएर देखा परेका राष्ट्रिय मुद्दाहरुलाई सम्बोधन गर्दै मुलुकलाई सुशासन, स्थिरता, विकास र समृद्धिका साथसाथै सामाजिक न्यायसँगै आदिवासी, मधेसी लगायतका जुन राष्ट्रिय मुद्दाहरु छन्, केही मुद्दाहरु सम्बोधन गर्दै मुलुकलाई अग्रगामी निकास दिने र अग्रगामी दिशातर्फ लैजाने प्रयास गर्नका लागि नै त्यो निर्माण भएको हो । जुनकुरा अस्तिमात्रै जारी भएको अवधारणा पत्रका उद्देश्यले स्पष्ट हुन्छ । बीचमा फलानो खत्तम भयो, मधेसकाक मुद्दा छोड्यो भन्नुभएको छ, यो गलत छ, झनै ती मुद्दा बलियो भएका छन् । बाबुरामलाई हामीले छोडेको पनि होइन, समातेको पनि होइन । मोर्चामा आएको कहिले पनि देखिएन मोर्चामा आएको । यो मोर्चा डेढ वर्षदेखि तयारी हुँदै आएको हो । हामीले उहाँ आउनका लागि बाटो राखिदिएका छौँ ।’

अध्यक्ष यादवले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट गठबन्धनका दलहरुसँग छलफल नै नगरी ल्याइएकाले यथास्थितिमा बजेट पारित नहुने बताउनु भयो । उहाँले सरकारले बजेट सच्याएर ल्याएपछि मात्रै बजेट संसदबाट पास हुने बताउनु भयो । उहाँले आफ्नो पार्टी बजेटमा न्यायोचित वितरण भएन भन्ने पक्षमा रहेको बताउनु भयो । उहाँले बजेट सच्याएर अघि बढ्ने सहमति भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिलेको बजेट एकलौटी ढंगले गठबन्धनमा रहेका दलहरुसँग छलफल नै नगरीकन यो बजेट ल्याइएको छ । बजेटले पूरै मधेस लगायत धेरै क्षेत्रलाई उपेक्षा गरेको छ । त्यसकारणले यसलाई सच्याउनुपर्छ भनेर सुधार गर्नुपर्छ भनेर हामीले भनेका छौँ । नसच्याइ बजेट पास हुन कठिन छ । त्यसकारण सच्याउनु पर्छ । हाम्रो पार्टी यो बजेटमा न्यायोचित वितरण भएन, देशमा चालु रहेका योजनालाई समेत अवरोध हुनेगरी जुन ल्याइएको छ । यसलाई सुधार्नुपर्छ, सच्याउनुपर्छ । बजेट अब सच्चिएर अघि बढ्छ ।’

अध्यक्ष यादवले राष्ट्रपतिले प्रमाणीकरण गरेको नागरिकता विधेयकलाई व्यवहारमा कार्यान्वयन गर्ने बेला आएको बताउनु भयो । उहाँले आफ्नै देशका नागरिकलाई नागरिकता दिनबाट वञ्चित गर्ने कार्य असंवैधानिक कार्य भएको बताउनु भयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?