भीमेश्वर नगरले चार्जिङ स्टेशन स्थापना गर्ने

हिमालय टाइम्स
Read Time = 4 mins

-नवराज शिवाकोटी

दोखला । भीमेश्वर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ मा विद्युतीय चार्जिङ स्टेशन स्थापना गर्ने भएको छ । नगरले विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहित गर्न नगर भित्र चार्जिङ स्टेशन स्थापना गर्ने भएको हो ।

विहिवार भीमेश्वर नगरपालिकाको तेस्रो नगरसभामा आर्थिक वर्ष २०८०–८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै भीमेश्वर नगरपालिकाका उप्रमुख कमला बस्नेतले सो जानकारी दिनुभएको हो । नीजि क्षेत्रसँगको साझेदारीमा विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहित गर्न चार्जिङ स्टेशनको निर्माण गर्न लागिएको उहाँको भनाई रहेको छ । यसैगरी केन्द्र सरकारका विभिन्न निकायको समन्वयमा नगरमा शौर्य पार्क निर्माण गर्ने तथा तामाकोसी तेस्रो जलविद्युत आयोजना निर्माणकार्यमा नगरले समन्वयात्मक भूमिका खेल्ने पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।
यस्तै नगरभित्र निर्माणाधिन कभर्डहल, भीमेश्वर रंगशाला, थामी संग्रहालय जस्ता ठूला आयोजनाहरु पनि आब २०८०–८१ मा सम्पन्न गर्ने गरी बजेट विनियोजन गर्ने उप्रमुख बस्नेतले बताउनु भयो । ३० वर्ष अवधिकालागि कृषि फम संचालन गर्ने युवाहरुलाई लागतको २५ प्रतिशतसम्म अनुदान दिने ब्यवस्था मिलाईने पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।

काठमाडौं महानगरको सिको गर्दै नीति तथा कार्यक्रममा “आइतवारदेखि विहीबार पढ्नै पर्छ तर शुक्रवार एक दिनलाई कक्षा कोठा पर” भन्ने नाराकासाथ शुक्रवारलाई विद्यालयहरुमा अतिरिक्त क्रियाकलाप संचालन बारका रुपमा ब्यवस्थित गर्ने उल्लेख छ ।

एक घर एक धारा कार्यक्रमलाई निरन्तरता दिँदै कछुवाको गतिमा आगाडि बढिरहेको चरिकोट बजारमा निर्माणाधिन ढल ब्यवस्थापनको कार्यलाई आर्थिक वर्ष २०८०–८१ मा पूर्णता प्रदान गरिने उपप्रमुख बस्नेतले बताउनुभयो । साथै भीमेश्वर नगरपालिका वडा नम्बर एकको राङराङथली क्षेत्रलाई सुनाखरी संरक्षण क्ष्ोत्र घोषित गरी सुनाखरीको संरक्षण गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । नगरको आमदानी बृद्धि गर्नकालागि करका दरमा बृद्धि गरिने बताइएको छ । नगरसभाको बैठक भीमेश्वर नगरपालिकाका नगरप्रमुख ईश्वरनारायण मानन्धरको अध्यक्षतामा बसेको थियो । असार १० गते बस्ने नगरसभाको बैठकमा आर्थिक वर्ष २०८०–८१ को अनुमानित आय–ब्ययका विवरण(बजेट) पेश गरिने कार्य सूचि रहेको भीमेश्वर नगरपालिकाले बताएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?