नेपालमा ‘पार्टी ड्रग्स’ हुने गरेको खुलासा, बच्चन र डेभिडसम्म पुग्दा खुल्यो पोल

डिबी शर्मा
Read Time = 7 mins

काठमाडौं । जेठ २८ गते बिहान सिनामंगल क्षेत्रमा गोली चल्यो । लागूऔषध नियन्त्रण ब्युरोको टोलीले गोली चलाएको थियो । लागूऔषध ओसारपसारमा संलग्न गिरोह पक्राउ गर्ने क्रममा प्रहरीले गोली चलाएको थियो । प्रहरीको गोली लागेर एक भारतीय नागरिक विकास भनिने हेमन्तकुमार भगत घाइते भए । खासमा उनलाई पक्राउ गर्ने क्रममा प्रहरीमाथि नै जाइलागेपछि गोली चलाउनुपरेको थियो । भारतको विहार राज्य मथुरा ग्राम ठेगाना भएका २७ वर्षीय भगतलाई लागूऔषध खैरो हेरोइन १०० ग्रामसहित नियन्त्रणमा लिने क्रममा प्रहरीकै पेस्तोल खोस्ने प्रयास गरेपछि जवाफी कारबाहीमा घुँडाभन्दा तल गोली हानिएको थियो ।

उनलाई नियन्त्रणमा अनुसन्धान गर्दै जाँदा प्रहरीले लागूऔषध कारोबारीको गिरोह नै फेला पारेको छ । आठ चरणको अपरेशन चलाएर एक दर्जन आरोपीलाई पक्राउ गरिएको लागूऔषध नियन्त्रण ब्यूरोका एसपी चक्रराज जोशीले जानकारी दिनुभयो । लागूऔषध कारोबार तथा सेवन गर्ने १२ जनालाई प्रहरीले पक्राउ गरेर शुक्रबार सार्वजनिक गरेको छ । जसमा पाँँचजना विदेशी नागरिकसमेत छन् । लागूऔषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरीको टोलीले अवैध लागूऔषध कारोबार गर्ने पाँचजना विदेशी नागरिकसहित १२ जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

भगतसँगको सोधपुछपश्चात भारतको विहार घर भई हाल सुनसरी धरान-उपमहानगरपालिका-३ बस्ने २८ का रामभजन भन्ने सञ्जीव कुमारको समेत संलग्नता रहेको खुल्न आएको छ । उनलाई सुनसरीबाट असार ६ गते पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

लागूऔषध नियन्त्रण ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक चक्रराज जोशीका अनुसार जेठ २९ गते टर्किस एयरलाइन्सको उडानबाट इस्तानबुल हुँदै स्टर्गट (जर्मन) जान लागेका जर्मन नागरिक पाउल वेस्र्टले साथमा ल्याएको दुईवटा सुटकेस चेकजाँच गर्दा सुटकेसभित्र लागूऔषध चरेस ६ केजी ८६० ग्राम बरामद भगरेको थियो । उहाँले असार ३० गते ललतिपुर महानगरपालिका-११ बाट चितवनका वर्ष २९ का महेश चौधरीलाई लागूऔषध कोडिन १६ बोतलसहित पक्राउ गरेका जानकारी दिनुभयो । असार ५ गते काठमाडौं महानगरपालिका-१६ बाट चन्द्रागिरि नगरपालिका-८ का वर्ष २९ का सुगम मैनालीलाई एलएसडी स्टिकर सात पिससहित पक्राउ गरेको र असार ५ गते काठमाडौं महानगरपालिका-२९ बाट २४ वर्षीय मुखिया गुरुङलाई अवैध लागूऔषध कोकिन तीन जिएम सात सय एमजीसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

अनुसन्धानको सिलसिलामा कारोबारमा संलग्न मोरङका २६ वर्षीय बच्चन भन्ने राज गौतम र चेक रिपब्लिकका ३२ वर्षीया मार्टिना सेर्नालाई एलएसडी स्टिकर २६ थान तथा मेथाम्फेटामाइन चार सय एमजीसहित कास्कीस्थित पोखराको एक होटलबाट पक्राउ गरिएको थियो । असार ६ गते नेपाल प्रहरीले कामनपा-१६ स्थित एक होटलबाट इटालियन नागरिक ३४ वर्षीय डेभिडमिनाडिओलाई अवैध लागूऔषध चरेस ६ ग्रामसहित पक्राउ गरिएको जानकारी दिनुभयो ।

कामनपा-२६ स्थित एक होटलबाट कोठा खानतलासी गर्दा एलएसडी स्टिकर एक हजार ९८ थान, मेथाम्फेटामाइन ३८ ग्राम, भारतीय रुपैयाँ एक लाख ३९ हजार, यूरो, सात सय, टर्किस रुपैयाँ ५३०, थाई भाट ५० सहित पक्राउ गरिएको उहाँले बताउनुभयो । त्यस्तै प्रहरीले असार ७ गते कामनपा-२६ बाट धादिङ रुविभ्याली-२ का ४२ वर्षीय दावा तामाङ र सोहीस्थान वडा-४ का ३३ वर्षीय नरबहादुर तामाङलाई लागूऔषध दुई ग्राम ४५० मिलिग्रामसहित पक्राउ गरिएको जनाएको छ । असार ७ गते नै इण्डियन एयरलाइन्सको उडानद्वारा काठमाडौंबाट दिल्ली हुँदैै ओमानको मट जान लागेका झापाको भद्रपुर नगरपालिका–४ का २५ वर्षीय सुमन लिम्बूलाई अवैध लागूऔषध गाँजा चार केजी ७५० ग्रामसहित पक्राउ गरेको प्रहरीले जनाएको छ । बरामद लागूऔषधको बजारमूल्य दुई करोड ३३ लाख १५ हजार २५० रहेको उहाँले बताउनुभयो ।

पोखरा र काठमाडौं ‘ड्रग्स पार्टी’ अखडा
नेपालमा लागूऔषध सेवन गरेर ‘पार्टी ड्रग्स’ हुने गरेको तथ्य प्रहरीले फेला पारेको छ । जसमा सहभागीहरू लागूऔषध सेवन गरेर संगीतमा नाच्ने गर्छन् । लागूऔषध सेवनपछि त्यस्ता पार्टीहरूमा यौनजन्य क्रियाकलापसमेत हुने गरेको प्रहरीले जनाएको छ । पछिल्लो समय काठमाडौं र पोखरामा ड्रग्स पार्टी हुने गरेको पाइएको प्रहरीले जानकारी दिएको छ । काठमाडौं उपत्यकाभित्र ठमेल र नगरकोटका ठूला क्लब तथा पोखराको चापाकोटमा ट्रान्स पार्टी हुने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । ती पार्टीमा बच्चन भन्ने राज गौतम र मुखिया गुरुङले एलएसडी लागूऔषध सप्लाई गर्दै आएको प्रहरीको अनुसन्धानमा खुलेको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानमा नेपालमा एलएसडी लागूऔषध भारतबाट भित्रिएको देखिएको छ । एलएसडी ड्रग कडा लागूऔषधको रूपमा लिने गरिन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?