बाढीपहिरोले घरगोठ र खेतमा क्षति

राधिका बुढाथोकी सिन्धुली, संवाददाता
Read Time = 2 mins

सिन्धुली । गोलञ्जोर गाउँपालिका-२ बितिजोर क्षेत्रमा बाढीपहिरोले घर-खेतमा क्षति गरेको छ । शनिबार बिहान लेदोसहित आएको बाढीले ३१ घरमा क्षति पुर्‍याउनुका साथै पाक्न लागेको मकै र रोपाइँ गर्न राखिएको धानको ब्याडमा क्षति गरेको हो ।

पशुचौपाया र कखुरा समेत बगाएको वडाध्यक्ष दौलत कार्कीले जानकारी दिनुभयो । उहाँकाअनुसार लगातारको वर्षापछि खसेको पहिरो र खोल्साहरुमा लेदोसहित आएको बाढीले बितिजोरको कुखुरेटारका चित्रबहादुर माझीको गोठ बगाउँदा पाँचवटा सुँगुर र ६० वटा स्थानीय जातका कुखुरा पुरिएका छन् ।

‘बितिजोरका कखुरेटार, तीनमाने, कटहरे, भालुखोलाका स्थानीय सबैको घरमा क्षति पुगेको छ । कसको, कति क्षति भयो भन्ने विवरण संकलन गरिरहेका छौँ,’ वडाध्यक्ष कार्कीले भन्नुभयो ।

घरगोठमा बाढीसँगै आएको लेदो पसेर बस्नै नहुने भएको, भित्र्याउने बेला भएको बाली र रोपाइँको लागि तयार हुँदै गरेको धानको ब्याड चिनोमानो नरहने गरी पुरिदिँदा स्थानीय किसान मर्कामा परेका छन् ।

सुख्खा मौसममा जंगलमा डढेलो लगाइदिएकाले पहिरो खस्ने र लेदोसहितको बाढीले क्षति पुर्‍याएको वडाध्यक्ष कार्कीको दाबी छ । क्षति भएका घरको विवरण संकलन गरिसकेर राहतको लागि पहल गरिने उहाँले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?