नेदरल्याण्ड्ससँगको हारसँगै नेपालको विश्वकप सपना समाप्त

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । आइसिसी विश्वकप छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा शनिबार नेदरल्याण्ड्ससँग ७ विकेटले पराजित भएसँगै नेपालको एकदिवसीय विश्वकप २०२३ खेल्ने सपना समाप्त भएको छ । यस खेलमा जित हात पारेको भए नेपाल सुपर सिक्स हुँदै अघि बढ्ने सम्भावना रहन्थ्यो तर नेदरल्याण्ड्ससँग फराकिलो हार बेहोरेसँगै नेपाल समूहका चारमध्ये तीन खेलमा हार बेहोर्दै प्रतियोगिताबाट बाहिरिएको छ ।

खराब ब्याटिङ गरेको नेपालले नेदरल्याण्ड्सलाई जम्मा १६८ रनको लक्ष्य दिएको थियो । जुन लक्ष्य उसले २७.१ ओभरमा तीन विकेट गुमाउँदै पूरा गर्‍यो । नेदरल्याण्ड्सको जितमा ओपनर म्याक्स ओडाउडले ७५ बलमा आठ चौका र चार छक्कासहित ९० रन बनाउनुभयो ।
यस्तै, बास डि लिडले ३९ बलमा ६ चौकासहित ४१ रन जोड्नुभयो । त्यसबाहेक नेदरल्याण्ड्सका विक्रम जितले ४३ बलमा तीन चौका र एक छक्कासहित ३० रन बनाउनुभयो । नेपालका सन्दीप लामिछानेले १० ओभरमा ६० रन खर्चेर दुई विकेट लिनुभयो भने गुलशन झाले ६ ओभरमा २७ रन खर्चेर एक विकेट पाउनुभयो ।

त्यसअघि जिम्बाबेको ताकाशिंगा स्पोर्ट्स क्लबमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ४४.३ ओभरमा सबै विकेट गुमाएर १६७ रन बनाएको थियो ।

नेपालका कप्तान रोहित पौडेलले ५५ बलमा तीन चौका र एक छक्कासहित ३३ रन जोड्नुभयो । पुछारका सन्दीप लामिछाने ३३ बलमा चार चौकासहित २७ रन जोड्नुबाहेक अन्यको गतिलो प्रदर्शन रहेन ।

ओपनर आसिफ शेख शून्यमा पवेलियन फर्कनुभयो । अर्का ओपनर कुशल भुर्तेलले ४२ बलमा दुई चौकासहित २७ रन जोड्नुभयो । कुशल र भीम सार्कीले दोस्रो विकेटका लागि ३७ रनको साझेदारी गर्नुभए पनि त्यसले खासै फरक पारेन ।

आरिफ शेख ६, भीम सार्की २२, कुशल मल्ल १२, कप्तान रोहित पौडेल १४ रनमा आउट हुनुभयो । गुलशन झाले ३१ बलमा १५ रन बनाउनुभयो । नेदरल्याण्ड्सका तीव्रगतिका बलर लोगन भान बीकले ९.३ ओभरमा एक मेडनसहित २४ रन खर्चेर चार विकेट लिनुभयो । यस्तै, बास डि लिडे र विक्रमजित सिंहले समान दुई विकेट लिनुभयो ।

नेपाल समूह ‘ए’ बाट चार खेलमा तीनमा हार र एकमा जितसहित चौथो स्थानमा रहेर बाहिरियो । अमेरिका यसअघि नै लगातार तीन खेलमा हारका साथ बाहिरिएको थियो । समूह ‘ए’ बाट वेस्टइण्डिज, जिम्बाबे र नेदरल्याण्ड्स सुपर सिक्समा पुगेका छन् । नेपालले अब सातौँदेखि १०औँ स्थानसम्मका लागि प्लेअफ खेल्नेछ । प्लेअफमा नेपालले समूह ‘बी’ को पुछारको टोलीसँग खेल्नेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?