न्यायपरिषद्को संरचनाका विषयमा छलफल हुन जरुरी छ

न्यायाधीशको नियुक्ति पद रिक्त हुनुभन्दा एक महिना पहिले नै दाबी गरिने

यज्ञराज पाण्डे
Read Time = 8 mins

काठमाडौं । प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले न्यायपरिषद्को संरचनामा पुनरावलोकन हुनु आवश्यक रहेको बताउनुभएको छ । आइतबार नेपाल बार एसोसिएसनले आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा सम्बोधन गर्दै नवनियुक्त प्रधानन्यायाधीश कार्कीले न्यायपरिषद्को चुस्तताका लागि परिषद्को संरचनाका विषयमा पुनरावलोकन हुनुपर्ने बताउनुभएको हो ।

प्रधानन्यायाधीश कार्कीले न्यायपरिषद्मा रहेको हालको संरचनाका कारण परिषद्ले समयमै निर्णय गर्न नसकेको औँल्याउनुभएको हो । न्यायाधीशको नियुक्तिमा पनि ढिलाइ हुनुमा न्यायपरिषद्को संरचना जिम्मेवार रहेको उहाँको भनाइ थियो । प्रधानन्यायाधीश कार्कीले भन्नुभयो, ‘न्यायपरिषद्को संरचनाका विषयमा छलफल हुनु जरुरी छ । केही छलफल पनि भएको छ, तर छलफलले आकार लिएको छैन । परिषद् कहिल्यै पनि खाली नहुने वातावरण बन्नुपर्छ र त्यसका लागि संरचनामा परिवर्तनको आवश्यकता छ ।’

कार्यक्रममा जिल्ला, उच्च र सर्वोच्च अदालतमा रिक्त न्यायाधीशको नियुक्तिमा ढिलाइ भएको अधिवक्ताहरूले गुनासो गरेका थिए । सो प्रसंगमा प्रधानन्यायाधीश कार्कीले आफूले मात्रै चाहेर न्यायाधीशको नियुक्ति नहुने गुनासो गर्नुभएको हो । प्रधानन्यायाधीश कार्कीले भन्नुभयो, ‘म कामु प्रधानन्यायाधीश भएर नगरेको होइन, मैले सुरुदेखि नै न्यायाधीश नियुक्तिबारे प्रक्रिया सुरु गर्न आग्रह गरेको हो । सर्वोच्चमा नियुक्तिको सिफारिससम्म गरेकै हो, तर दुर्भाग्य सिफारिस हुन सकेन । अब हामी यसको समाधानमा जान्छौँ । कानुनमन्त्री राजनीतिक व्यक्ति भएकाले कतिपय विषय राजनीतिक पनि हुने र कानुन मन्त्रालयले रोजाइको मन्त्रालय नपर्ने भएर हो कि किन हो, लामो समय कानुन मन्त्रालय खाली पनि रह्यो । त्यसकारण परिषद्कै संरचनाका सम्बन्धमा पनि विचार गर्ने पो हो कि ?’

आफ्नै प्रतिवेदनलाई फुलकोर्टबाट अनुमोदन गर्ने प्रयास
प्रधानन्यायाधीश कार्कीले आफ्नै प्रतिवेदनलाई फुलकोर्टबाट अनुमोदन गर्ने प्रयास भएको बताउनुभयो । उहाँको नेतृत्वमा गठन भएको समितिले बनाएको प्रतिवेदनलाई किन फुलकोर्टबाट अनुमोदन नगरेको भन्ने वकिलहरूको गुनासोमा प्रधानन्यायाधीश कार्कीले प्रतिवेदनलाई फुलकोर्टमा राखेर छलफल गरेको र दुईवटा विषय पारित भइसकेको बताउनुभएको हो । पेसी व्यवस्थापन र इजलास तोक्ने सम्बन्धमा प्रतिवेदनकै सुझावअनुसार सम्बोधन भइसकेको कार्कीको भनाइ थियो ।

कार्कीले भन्नुभयो, ‘अटोमेसनको सुरुवात नहुँदा अहिले तत्कालका लागि गोला प्रक्रिया सुरुवात गरेका हौँ । यसको सुरुवात गर्दा फैसला नै नगरी मितको टाउकोमा हान्ने प्रवृत्ति बढ्छ कि भन्ने चिन्ता थियो । विवादमा आउने फैसला नगर्ने जोखिम थियो, तर अहिले त्यस्तो छैन । मुद्दा पन्छाउने काम बन्द गर्नुहोस् भनेर हामीले भनेका छौँ र अहिले राम्रो पनि भइरहेको छ ।’

आफ्नै नेतृत्वमा मुद्दा फस्र्योटले अग्रसरता लिइरहेको दाबी
प्रधानन्यायाधीश कार्कीले जिल्ला र उच्च अदालतका न्यायाधीशहरूलाई न्याय सम्पादन गर्दा न्यायिक निष्ठामा रहेर गर्नुपर्ने कुरालाई विशेष जोड दिएको बताउनुभयो । न्याय सम्पादनलाई निष्ठामा रहेर गरेमा न्यायालयप्रति कसैले पनि प्रश्न गर्न नसक्ने भएकाले न्यायिक निष्ठामा रहेर शीघ्र न्याय दिन भनिएको र त्यसको सकारात्मक प्रभाव परेको उहाँको भनाइ थियो ।

त्यस्तै, आफ्नो नेतृत्वमा मुद्दाको फस्र्योटले अग्रसरता लिएको कार्कीको दाबी थियो । आफू कामु भइसकेपछि सर्वोच्चमा १६ वर्ष अगाडिदेखिको मुद्दा विस्तारै फैसला हुँदै गएको र ५ वर्ष कटेका मुद्दाहरूलाई प्राथमिकता दिएर सुनुवाइ गरिएको कार्कीले बताउनुभयो ।

मातहत अदालतको निरीक्षण गर्नुपर्ने कानुनी दायित्व भए पनि न्यायाधीशको संख्या कम भएका कारण सर्वोच्चको सुनुवाइमा पनि केही समस्या भइरहेको कार्कीले बताउनुभयो । पहिले पहिले अल्पकालीन अन्तरिम आदेश लिएर अनन्तकालसम्म लम्बाउने काम भएकामा अब त्यस्तो नहोस् भनेर अल्पकालीन आदेश पाएका मुद्दाहरूको हप्तैपिच्छे पेसीमा चढाउने गरिएको कार्कीको भनाइ थियो ।

न्याय सम्पादनमा सेवाग्राहीलाई सहज होस् भनेर आफूहरूले शुक्रबार ५ बजेसम्म काम गर्न थाले पनि केही समस्या भएको कार्कीले बताउनुभयो । पाँच बजेसमम काम लगाउँदा कर्मचारीलाई प्रोत्साहन भत्ता वा बढी काम लगाएबापत थप पारिश्रमिक दिन नसकिएको कारण कर्मचारीहरूको असन्तुष्टि रहेको कार्कीले बताउनुभएको हो । त्यसको समाधानका लागि पनि काम भइरहेको उहाँको भनाइ छ ।

कार्कीले आफूलाई तत्कालकै पूर्ण स्वचालित पेसी व्यवस्थापनमा जान मन लागेको भए पनि प्राविधिक कारणले त्यसो हुन नसकेको बताउनुभयो । कार्कीले भन्नुभयो, ‘मलाई अहिलेको गोला प्रणाली अझै बढी ट्रान्सप्यारेण्ट हो कि जस्तो पनि लागेको छ । यद्यपि, हाम्रो उद्देश्य भनेको अटोमेसन नै हो र मलाई यसको सुनिश्चितता गरेर जाने इच्छा छ, अटोमेसन लागू गर्ने हरसम्भव प्रयास गर्नेछु । यो मेरो इच्छा र प्रतिष्ठाको विषय पनि हो ।’

लामो समय प्रधानन्यायाधीशको पद रिक्त रहेको सम्बन्धमा वकिलहरूको गुनासोलाई सम्बोधन गर्दै प्रधानन्यायाधीश कार्कीले प्रधानन्यायाधीश नियुक्तिका लागि एक महिना पहिले नै सिफारिसका लागि पहल गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘प्रधानन्यायाधीश नियुक्तिका लागि एक महिना पहिल्यै सिफारिस गर्न म प्रयास गर्नेछु । तर, म संवैधानिक परिषद्को सदस्य मात्रै भएको कारणले मैले चाहेर पनि सबै कुरा नहुने रहेछ । तर, मेरो प्रयास भने एक महिनाअगावै सिफारिस गर्ने गरी नै रहनेछ ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?