हाम्रा नेताहरूले चाणक्यबाट सिक्नु आवश्यक

Read Time = 17 mins

संंस्कृतका महाकवि भारविको महाकाव्य ‘किरातार्जुनीयम’ मा एउटा कथा छ । युधिष्ठिरले एकजना वनचरलाई दुर्योधनको राज्य व्यवस्थाको जानकारीका लागि गुप्तचरको रूपमा पठाउँछन् । उनी फर्केर आएपछि दुर्योधनको सम्पूर्ण राज्य व्यवस्थाका बारेमा जानकारी दिँदै भन्छन्, दूर्योधनले आफ्नो सम्पूर्ण राज्यव्यवस्थालाई मानवीय पद्धतिले सुव्यवस्थित गरेका छन् । युधिष्ठिर सोध्छन्, दुर्योधनका सेना कस्ता छन् ? वनचर सेनाको गुणहरूको वर्णन गर्दै भन्छन्, न यो संगठित छ र न भिन्न वृत्तिको ।

वनचरको यो वाक्य अत्यन्त अर्थगाम्भीर्ययुक्त छ । वास्तवमा वृत्ति समान र श्रेष्ठ नभए संगठन आफूमा गुणविहीन हुन्छ । उसको गुण र अवगुण संगठित मानिसहरूको वृत्तिमा निर्भर गर्छ । डाका, अपराधी र आतंकवादीहरूको पनि संगठन हुन्छ र त्यो निकै अनुशासित हुन्छ तर उसको संगठन आफ्नो वृत्तिका कारण अत्यन्त निकृष्ट हुन्छ । निकृष्ट वृत्तिहरूको सुगठित समूहले आफ्नो गलत कुराहरूलाई पनि बलपूर्वक मान्न बाध्य पार्छ । यस्तै मानिसहरूले जसलाई असंगठित समाज भन्छन्, यदि उसका वृत्तिहरूमा समानता र श्रेष्ठता छ भने कुनै पनि श्रेष्ठ कार्यका लागि उनीहरू एकदिन कहीँ पनि एक हुन्छन् । उदाहरणका लागि बालेनप्रति बढ्दो जनभावना हेरे पुग्छ ।

बालेनले अदालतको आदेश नमान्ने भनेर बडो मार्मिक स्ट्याटस सामाजिक सञ्जालमा लेखेका छन् । इण्डियाका केही र अन्य विदेशी सञ्चारमाध्यमसमेत बालेनको पक्षमा हुँदा नेपालका राजनीतिक दलहरू मुखमा पट्टी बाँधेर बसेका छन्, केही बोल्दैनन् ।

समाजमा कुनै पनि कार्यभन्दा आवश्यक उसको मानसिक वृत्तिहरूको आरोहण हो । यदि वृत्तिहरू श्रेष्ठ छैनन् भने भौतिक रूपले खडा गरिएका संगठनहरू स्वार्थी र पदलोलुप हुन्छन् । धुर्त नेताहरू सदैव भन्छन् तिमीहरू मेरो पछाडि उभिन आऊ । तिमीहरूको मबाट नै कल्याण हुन्छ । जबकि वास्तविकता यो हो कि संसारमा जति पनि मानिस श्रेष्ठ वृत्तिहरूबाट युक्त हुन्छन् त्यो समाज त्यति नै कल्याणकारी हुन्छ र चुनौतीलाई सामना गर्न सक्षम हुन्छ । किनकि वृत्तिहरूको मिलन नै सबैभन्दा ठूलो संगठन हो । वृत्तिहरूको आरोहणको मार्ग नै धर्म हो, यसैले धर्ममा क्रिया होइन कि वृत्तिलाई प्रधान मानिन्छ ।

एकजना अमेरिका रिटर्न सांसद जो एमसिसीका प्रवक्ता र अमेरिकी सेनालाई निर्वाधरूपमा नेपाल प्रवेश गर्न दिने पक्षपाती छन्, उनले भने नेपाली सेनाको संख्या कटौती गर्नुपर्छ । उनको दल अहिले जनतामा भ्रम सिर्जना गरेर लोकप्रिय हुन सफल भएको छ । हिजो माओवादीलाई आफ्नो मसिहा देख्नेहरू आज त्यो नवदलका नेताको अनुहारमा आफ्नो मसिहा देख्ने भ्रमजालले अन्ध भएका छन् । जसरी हिजो माओवादीलाई शिरमा राखेर छविलाल र बाबुरामहरूमार्फत आफ्नो मुक्तिका सपना देखेका थिए ठीक त्यस्तै आज त्यो दल र त्यसका नेतालाई आफ्नो मसिहा ठान्दै तिनै जनता आज तिनै चटकेहरूबाट आफ्नो स्वर्णिम भविष्यको सपना देखिरहेका छन् । जुन दिन उनीहरूको स्वप्न भंग हुनेछ त्यो दिन फेरि पछुताउने छन् ।

हो, नेपाली सेनामा नेपालीपन र नेपाली स्वाभिमान छैन । उसकै कारण नेपालमा आज सनातन धर्म विरोधी संघीय गणतन्त्र आएको छ । यो उसको चिहृन डमरु र त्रिशूलको अपमान हो । यो अपमान राष्ट्र एकीकरणको महामन्त्र पृथ्वीनारायण शाहलाई दिने राष्ट्रगुरु गोरखनाथ, पश्चिम नेपालको एकीकरणमा महत्वपूर्ण भूमिका खेल्ने गुरु भगवन्तनाथको अपमान हो । आशा गरौँ कुनै दिन यसको नेतृत्व भक्ति थापा, अमरसिंह थापा र वीर बलभद्र जस्ता सेनानायकको उत्तराधिकारीहरूको हातमा जानेछ । देशलाई जोगाउने जिम्मा सेनाकै हो, पैसामा बिक्ने अदालत त राजनीतिक दलहरू र बाहृयशक्तिको कठपुतली बनिसकेका छन् ।

सरकार भ्रष्ट भए त्यसलाई रोक्न सक्ने क्षमता केवल अदालतको हो तर सनातन धर्मविरोधी गणतान्त्रिक अदालतले सदैव भ्रष्ट तथा देशद्रोही नेता, विशेषगरी शीर्ष नेताहरूको पक्षमा राष्ट्रविरुद्ध फैसला गर्ने गरेको छ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले अनुमोदन नगरी थन्क्याएको नागरिकता विधेयक वर्तमान राष्ट्रपतिले पुष्पकमल दाहालको इण्डिया भ्रमणको पूर्वसन्ध्यामा अनियमित तरिकाले अनुमोदन गरेका थिए तर सर्वोच्च अदालतले पुनः त्यसलाई कार्यान्वयन नगर्न आदेश दिएको छ । जसरी इण्डियाले सन् १९५० लाई आधार बनाएर नागरिकता दिने गरेको छ, त्यसरी नै के नेपालले सन् १९५० लाई नागरिकता प्राप्तिको आधार वर्ष बनाउन सक्दैनथ्यो ?

त्यसपछि लिएका विदेशीहरूको नागरिकता खारेजी गर्न सकिँदैनथ्यो । तर, यस व्यवस्थाका शासक वर्गको चाहनालाई सर्वोच्च अदालतले साकार गर्दै गइरहेको छ । पुष्पकमल दाहाल आफूले गणतन्त्र ल्याएको भनेर गफ दिने गर्छन् तर गणतन्त्र, संघीयता र धर्म निरपेक्षता कसले ल्याइदिएको हो उनीहरूकै मालिकहरूले आफ्ना पुस्तकमार्फत बारम्बार दाबी गरी रहँदा दाहाल किन बोल्दैनन् ? इण्डियन विदेश सचिव श्यामशरणका अगाडि नेपाली सेना नझुकेको भए के नेपालमा गणतन्त्र आउन सक्थ्यो ?

अदालतमा नेपाली न्यायाधीशहरू छँदै छैनन् । हुन्थे भने काठमाडौंका मेयर बालेन शाहले साउथ इण्डियन फिल्म आदिपुरुषमा नेपालविरोधी संवाद र त्यस फिल्मका पटकथा तथा संवाद लेखक मनोज मुंतसिर शुक्लाको नेपालको स्वतन्त्रता तथा सार्वभौमसत्तामा आँच आउने अन्तरवार्ता दिएकोमा बालेनले न केवल आदिपुरुषमाथि प्रतिबन्ध लगाए अपितु आदिपुरुषको मूलकपीमा संवाद सच्याएर माफी नमागेसम्म काठमाडौंमा इण्डियन मुभी चल्न दिन्न भन्ने राष्ट्रवादी अडानविरुद्ध परेको मुद्दामा अदालतले बालेनको अडानविरुद्ध फैसला गरेर इण्डियाका आधिपत्य स्वीकार्ने निर्णय गर्छ ।

बालेनले अदालतको आदेश नमान्ने भनेर बडो मार्मिक स्ट्याटस सामाजिक सञ्जालमा लेखेका छन् । इण्डियाको केही र अन्य विदेशी सञ्चारमाध्यमसमेत बालेनको पक्षमा हुँदा नेपालका राजनीतिक दलहरू मुखमा पट्टी बाँधेर बसेका छन् । आज देशलाई माया गर्ने सम्पूर्ण नेपाली अदालतको विरुद्ध र बालेनको पक्षमा छन्, त्यसरी नै नागरिकताको विरुद्धमा पनि । प्रमुख जिल्ला अधिकारीलाई सरकारले ल्याएको नगरिकता विधेयकलाई कार्यान्वयन नगर्न अनुरोध गरिरहेका छन् तर शासकवर्गको आदेश मान्न उनीहरू बाध्य छन् । अदालत स्वयं पनि देशविरुद्ध निर्णय दिइरहेको छ भने प्रजिअको के औकात ?

पहिला पहिला हामी हिन्दी फिल्महरूमा हेथ्र्यौं, गेरुवा वस्त्र लगाएर डाकाहरू गाउँगाउँमा गएर लुट्ने गर्थे र उनीहरूको विरोध गर्नेलाई मार्नेगर्थे । अहिले समय फेरिएको छ । अहिले नेताहरू यसो गर्छन् । पुष्पकमल दाहालको गेरुवा वस्त्र र जनै, महाकालेश्वरदेखि पशुपतिको यात्रा गर्न मोदीले बाध्य गरे तापनि उनको गेरुवा वस्त्र, जनै र त्रिपुण्ड धारण एउटा ढोंग हो, पुराना हिन्दी फिल्मका डाकाहरूको जस्तै । नेपाल र नेपालीमाथि हिंसात्मक आक्रमण गर्ने बेला इण्डियाका तत्कालीन प्रधानमन्त्री अटलबिहारी बाजपेयीको श्रीचरणकमलमा परेर बिन्तिपत्र हाल्दै भनेका थिए, प्रभु, हामी इण्डियाको विरोध गर्दैनौँ, हजुरले आज्ञा दिएको सबै कर्म गर्नेछौँ ।

त्यसपछि मात्र इण्डियाले माओवादीलाई सहयोग गर्दै इण्डियामा माओवादीलाई आफ्नो सेनाबाट तालिम दिलाएको थियो । उता बाजपेयीको चरणमा परेर इण्डियाको हितमा काम गर्छु भन्ने प्रण गर्ने यता इण्डियाविरुद्ध सुरुङयुद्धको नाटक गरेर आफ्ना कार्यकर्तालाई दिग्भ्रमित गरी मृत्युको शिकार हुन दिने । पुष्पकमल दाहालको चरित्र सुरुदेखि नै व्यक्तिवादी, स्वार्थी, दुई जिब्रे र देशद्रोही नै थियो । आज पनि उनले आफ्नो चरित्र बदल्न नसकेर मोर्चामात्र बदल्दै आफ्ना कार्यकर्तालाई दिग्भ्रमित पारिरहेका छन् ।

आचार्य चाणक्य जस्तो महान् कूटनीतिज्ञ र महान् नीतिकार राजनीतिज्ञसँग हाम्रा नेताहरूले प्रेरणा लिएका भए नेताहरूसँगै हामी पनि विदेशी शक्तिको अघोषित गुलाम हुने थिएनौं । नागरिकता दिँदा चाणक्यको नीतिको पालन गरेको भए आज देश यति कमजोर हुनेथिएन ।

इण्डिया अहिले पनि नेहरू डक्ट्रिनमा चलिरहेको छ । ठूला शक्तिराष्ट्रहरूको अगाडि घुस्रिँदै मित्रवत सम्बन्ध राख्ने र आफ्ना कमजोर छिमेकीहरू प्रति गुलामको व्यवहार गर्दै सधैंभरि उसलाई दबाइराख्ने गर्छ । इण्डिया केवल हाम्रो छिमेकी हो । राजा कहिल्यै कसैको गुलाम हुँदैनन् त्यसैले राजतन्त्रलाई इण्डिया र पश्चिमा शक्तिले आ-आफ्ना स्वार्थमा फालेको हो । यो कुरा त बाबुराम र पुष्पकमलहरूका गुरुहरूले लिखित रूपमा भनिसकेका छन् । उनीहरूलाई चाहिएको गुलाम हो, त्यसैले राजसंस्था फालेर आफ्ना गुलामहरूको सरकार बनाउने गरेका छन् ।

न न्यायाधीशहरू न त नेताहरू इतिहासबाट शिक्षा लिन्छन् । अलेक्जेण्डरका सेनापति सेल्युकस अलेकजेण्डर इण्डियाबाट फिर्ता जान लाग्दा उनी यहीँ बसे । उनले मगधमाथि आक्रमण गर्ने तानाबुना बुन्न थाले । आफूहरू संगठित भएपछि मगधमाथि आक्रमण गरे । चाणक्यको दूरदर्शिता तथा राष्ट्रप्रेमले ग्रीक सेनाहरू पराजित हुन्छन् । आफू पराजित भएपछि सेल्युकसले आफ्नी सुन्दरी कान्छी पुत्री हेलेनको विवाह चन्द्रगुप्त मौर्यसँग गरिदिएर दौत्यसम्बन्ध स्थापना गर्न खोजे । चन्द्रगुप्तले पनि हेलेनको सुन्दरतामा मुग्ध भएर उनीसँग विवाह गर्न चाहे । उनी सेल्युकसको प्रस्ताव स्वीकार गर्दै हेलेनसँग विवाह गर्न तयार भए । चाणक्यले केही शर्तसहित हेलेनको विवाह चन्द्रगुप्तसँग गराए ।
उनको पहिलो शर्त थियो, दुवैको संसर्गबाट जन्मेको बच्चा मगधको उत्तराधिकारी हुनेछैन । उनले कारण बताए, हेलेन एउटी विदेशी कन्या हो । उसलाई यो देशप्रति त्यति माया हुँदैन जति आफ्नो देशप्रति छ । मगधका पूर्वजहरूसँग उसको कुनै साइनो छैन र उसलाई यहाँको संस्कार र संस्कृतिको ज्ञान छैन । उनको दोस्रो शर्त थियो, हेलेन शत्रुपक्षको कन्या हो । उसको निष्ठा कदापि मगधसँग हुनेछैन र हुँदैन पनि । तेस्रो शर्त चाणक्यले राखे, हेलेनको पुत्र विदेशी माताको सन्तान हुने भएकोले उसको प्रभावबाट कहिल्यै मुक्त हुने छैनन् र मगधको माटो तथा मगधप्रति कहिल्यै निष्ठावान हुने छैन ।

एउटा अरू शर्त चाणक्यले हेलेनसमक्ष राखेका थिए कि उसले कहिल्यै पनि चन्द्रगुप्तलाई राजकार्यमा हस्तक्षेप गने छैन र राजनीति र प्रशासनिक कार्यबाट सदैव टाढा बस्नेछ, परन्तु गृहस्थ जीवनमा हेलेन पूर्णतः अधिकारसम्पन्न हुनेछिन् । हेलेनले चाणक्यको सबै शर्तहरू मानेपछि मात्र चन्द्रगुप्तसँग उसको विवाह भयो र आजीवन उसले चाणक्यका शर्तको पालन गरी ।

आचार्य चाणक्य जस्तो महान् कूटनीतिज्ञ र महान् नीतिकार राजनीतिज्ञसँग हाम्रा नेताहरूले प्रेरणा लिएका भए नेताहरूसँगै हामी पनि विदेशी शक्तिको अघोषित गुलाम हुने थिएनौं । नागरिकता दिँदा चाणक्यको नीतिको पालन गरेको भए आज देश यति कमजोर हुनेथिएन न त देशभक्त जनताहरूको विरोध नै सहनुपथ्र्यो । तर, जसरी मालिकले आफ्नो प्यारो कुकुरलाई साङ्लामा बाँधेर माया गर्छ र उसले जसका विरुद्ध भुक्न भन्छ उसविरुद्ध भुक्ने र जसलाई टोक्न भन्छ उसलाई नै टोक्ने काम गर्छ, त्यस्तै काम हाम्रा नेताहरू र सरकारका चारै अंगहरू गरिरहेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?