वारियर्सको उपाधिमा हृयाट्रिक

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । बजाज खडक वारियर्सले पाँचौँ संस्करणको राजविराज मेयर कप सप्तरी प्रिमियर लिगको उपाधि जितेको छ । वारियर्सले तेस्रोपटक लिगको उपाधि जितेको हो । पब्लिक विन्देश्वरी क्रिकेट मैदानमा सम्पन्न फाइनलमा कञ्चनरूप राइनोजले दिएको १४५ रनको लक्ष्य तीन बल बाँकी रहँदा बजाज खडक वारियर्सले उपाधि आफ्नो पक्षमा पार्‍यो ।

लक्ष्य पछ्याउने क्रममा ५८ रनमा चार विकेट गुमाएको अवस्थामा पाँचौँ नम्बरमा ब्याटिङ गर्नुभएका विशाल सुश्लिङले विकेट नगुमाई ब्याटिङ गर्दै टिमलाई जितसम्म पुर्‍याउनुभयो । सुश्लिङले अविजित ४६ रन बनाउनुभयो जुन क्रममा ३३ बलमा चार चौका र दुई छक्का प्रहार गर्नुभयो । उहाँले पाँचौं विकेटका लागि विवेक यादवसँग ३० रनको, छैटौँ विकेटका लागि दिनेश अधिकारीसँग ३६ रनको तथा सातौँ विकेटका लागि अनिल यादवसँग अविजित २२ रनको साझेदारी गर्नुभयो ।

रोमाञ्चक बनेको खेलको अन्तिम दुई ओभरमा आठ बलमा जित्न २० रन आवश्यक थियो । सो अवस्थामा राशिद खानले गरेको १९औँ ओभरको अन्तिम दुई बलमा अनिल यादवले लगातार दुई चौका प्रहार गर्नुभयो । अन्तिम ओभरमा १२ रन आवश्यक रहँदा पप्पु यादवको पहिलो बलमा दुई रन लिनुभएका विशाल सुश्लिङले दोस्रो बलमा चौका र तेस्रो बलमा छक्का प्रहार गर्दै टिमलाई जित दिलाउनुभयो ।

वारियर्सका ओपनर साहिल पटेलले २१, राज बर्माले १७ तथा कर्ण विक, सन्दिप रजालीले समान १४ रन तथा अनिल यादवले अविजित नौ रन बनाउनुभयो । कञ्चनरूपको बलिङमा चित्र विष्टले सर्वाधिक तीन विकेट लिनुभयो भने राशिद खान, नारायण जोशी र पप्पु यादवले एक/एक विकेट लिनुभयो ।

यसअघि टस हारेर ब्याटिङ गरेको कञ्चनरूप राइनोजले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १४५ रन बनायो । कञ्चनरूपका लागि ओपनर दिलिप नाथले सर्वाधिक ४२ रन योगदान दिनुभयो जुन क्रममा उहाँले २२ बलमा चार चौका र तीन छक्का प्रहार गर्नुभयो । यस्तै, नारायण जोशीले २७, सुमित श्रेष्ठले १७ तथा अमित यादवले १६ रन बनाउनुभयो ।

बजाज खडक वारियर्सको बलिङमा कप्तान विवेक यादवले सर्वाधिक चार विकेट लिनुभयो । जुन क्रममा चार ओभर बलिङ गर्दै २५ रन खर्चिनुभयो । गोमानन्द अमात्यले दुई तथा अनिल यादव र दिनेश अधिकारीले एक÷एक विकेट लिनुभयो ।

प्रतियोगिताको उपाधिसहित बजाज खडक वारियर्सले तीन लाख रुपैयाँ हात पारेको छ । उपविजेता कञ्चनरूप राइनोजले एक लाख पचास हजार रुपैयाँ पायो । प्लेयर अफ द सिरिज कञ्चनरूप राइनोजका राशिद खान घोषित हुनुभयो । उहाँले २५ हजार रुपैयाँ प्राप्त गर्नुभयो । यस्तै, उत्कृष्ट ब्याट्सम्यान छिन्नमस्ता लायन्सका शुभ कंसाकार तथा उत्कृष्ट बलर बजाज खडक वारियर्सका दिनेश अधिकारी घोषित हुनुभयो । उत्कृष्ट ब्याट्सम्यान र बलरले समान १५ हजार रुपैयाँ प्राप्त गर्नुभयो । यस्तै, प्रतियोगिताको उदयमान खेलाडी बलान बिहुल सुपर किंग्सका विशाल यादव घोषित हुनुभयो जसले क्रिकेट किट प्राप्त गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?