स्थानीय तहको प्राथमिकता कृषि, पर्यटन र पूर्वाधार

Read Time = 6 mins

पाल्पा । देशभरका अधिकांश स्थानीय तहले आर्थिक वर्ष २०८०/०८१ को बजेट सार्वजनिक गरेका छन् । असार १० भित्र आगामी आर्थिक वर्षको बजेट ल्याउनुपर्ने कानुनी व्यवस्थाअनुसार स्थानीय तहहरूले आइतबार नयाँ बजेट प्रस्तुत गरेका हुन् । पाल्पामा रहेका १० वटै स्थानीय तहले पनि नीति तथा कार्यक्रमसहितको बजेट सार्वजनिक गरेका छन् । यहाँ दुुई नगरपालिकासहित आठ गाउँपालिका रहेका छन् ।

कतिपयले नीति तथा कार्यक्रम र त्यसपछि बजेट सार्वजनिक गरे भने केही स्थानीय तहले यसअघि नै नीति तथा कार्यक्रम ल्याएका थिए । बजेट सार्वजनिक गरेका पालिकामध्ये अधिकांशले कृषि, पर्यटन र पूर्वाधारलाई प्रमुख प्राथमिकतामा राखेर बजेट निर्माण गरेका छन् ।

भौगोलिकरूपले जिल्लामा सबैभन्दा ठूलो रहेको तानसेन नगरपालिकाले एक अर्ब दुई करोड आठ लाख ६४ हजार तीन सय ३७ बराबरको बजेट ल्याएको छ, जुन चालु आर्थिक वर्षभन्दा ३६ करोड ३८ लाख २९ हजार कम हो । ‘सुव्यवस्थित पूर्वाधार, पहिचानमूलक उत्पादन र हरित वातावरणयुक्त पर्यटकीय, समावेशी, सांस्कृतिक नगर’ को नारासहित विकास र समृद्धिको परिकल्पना साकार पार्ने गरी बजेट, नीति तथा कार्यक्रम ल्याएको छ । नगरसभा तथा १३औँ अधिवेशनमा उपमेयर प्रतीक्षा गाहा सिंजालीले प्रस्तुत गर्नुभएको बजेटमा पर्यटनको विकास, संस्कृति संरक्षणलाई प्राथमिकतामा राखिएको छ । चालुतर्फ ५४.६१ प्रतिशत अर्थात् ५६ करोड १४ लाख २५ हजार र पुँजीगततर्फ ४५.३९ प्रतिशत अर्थात् ४६ करोड ६६ लाख ३९ हजार तीन सय ६७ रुपैयाँ रहेको छ । नगरभित्रका १४ वडामा सात करोड बजेट छुट्याइएको छ ।

त्यसैगरी रामपुर नगरपालिकाले ६९ करोड ७२ लाख ५० हजार बराबरको बजेट ल्याएको छ । चालु आर्थिक वर्ष ७२ करोड ४७ लाख ९५ हजारको बजेट ल्याएको थियो । प्रत्येक वडालाई ४२ लाख विनियोजन गरिएको छ । गत वर्षको तुलनामा बजेटकोे आकार घटाएर ल्याइएको नगरप्रमुख रमणबहादुर थापाले बताउनुुभयो ।

रिब्दीकोट गाउँपालिकाले ५३ करोड ६८ लाखको बजेट ल्याएको छ । बजेटमा पुँजीगततर्फ २३ करोड ५६ लाख ६४ हजार र चालु खर्चतर्फ २९ करोड ४४ लाख चार हजार रहेको छ । जसअन्तर्गत संघीय सरकार वित्तीय समानीकरण अनुदान आठ करोड ४९ लाख, संघीय सरकारबाट राजस्व बाँडफाँटमार्फत् सात करोड ९३ लाख ३६ हजार चार सय, संघीय सरकारको समपूरक अनुदान ७५ लाख, संघीय सरकार विशेष अनुदान एक करोड, संघीय सरकार सशर्त अनुदान २६ करोड २८ लाख रहेको अध्यक्ष नारायणबहादुर कार्कीले बताउनुभयो ।

रैनादेवी छहरा गाउँपालिकाले ६५ करोड १८ लाख ५६ हजारको बजेट ल्याएको छ । कुल बजेटको चालुतर्फ ४८ करोड ५८ लाख नौ हजार र पुँजीगततर्फ १६ करोड ६० लाख ४६ हजार रहेको छ । चालु आर्थिक वर्षका लागि पालिकाले ६४ करोड ६९ लाख २५ हजारको बजेट ल्याएको थियो । माथागढी गाउँपालिकाले ५५ करोड २२ लाख तीन हजार तीन सय ५४ रुपैयाँबराबरको बजेट ल्याएको छ । पुँजीगततर्फ २३ करोड १९ लाख र चालुतर्फ ३२ करोड दुई लाख रहेको छ । जुन बजेट चालु आर्थिक वर्षभन्दा केही बढी रहेको छ । चालु वर्ष ५७ करोड ७४ लाख ९४ हजारको बजेट ल्याएको थियो ।

निस्दी गाउँपालिकाले ६४ करोड ७ लाख ९७ हजारको बजेट ल्याएको छ भने बगनासकाली गाउँपालिकाले ४९ करोड ३४ लाख ६४ हजार पाँच सय २४ रुपैयाँको बजेट ल्याएको छ । रम्भा गाउँपालिकाले ४८ करोड आठ लाख १५ हजार ६९ रुपैयाँको बजेट ल्याएको छ । चालुतर्फ ३२ करोड ७४ लाख ६९ रुपैयाँ र पुँजीगततर्फ १५ करोड ३४ लाख १५ हजार रहेको छ ।

त्यस्तै, पूर्वखोला गाउँपालिकाले ४६ करोड ६७ लाख तीन हजार तीन सय ८५ रुपैयाँको बजेट ल्याएको छ भने तिनाउ गाउँपालिकाले ४९ करोड ७२ लाख २४ हजारको बजेट ल्याएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?