मौद्रिक नीतिमा वस्तुगत संघका छुट्टै सुझाव

Read Time = 3 mins

काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघ वस्तुगत समितिले आगामी आर्थिक वर्ष २०८०/०८१ को मौद्रिक नीतिमा सुझावका लागि सम्बद्ध व्यवसायीबीच बुधबार छलफल आयोजना गरेको छ । वर्तमान अवस्थामा देशमा देखापरेको आर्थिक मन्दी र संकट न्यूनीकरण गर्न भूमिका खेल्दै आएको नेपाल राष्ट्र बैंकको भूमिका अझ प्रभावकारी बनाउने उद्देश्यले आगामी मौद्रिक नीति तर्जुमा गर्न राष्ट्र बैंकले विभिन्न सरोकारवाला निकायसँग सुझाव लिइरहेकोमा महासंघका वस्तुगत समितिबाट पनि सुझाव लिएको हो ।

वस्तुगत समितिका सभापति एवं महासंघका उपाध्यक्ष मोहन कटुवालले विभिन्न वस्तुगत संघ महासंघहरूले दिएका सुझाव संकलन गरी साझा मुद्दा र संस्थाका फरक मुद्दासमेत समावेश गरेर राष्ट्र बंैकका गभर्नरलाई बुझाइने बताउनुभयो । संकटमा परेका सबै किसिमका उद्योग व्यापार व्यवसायलाई पहिलेकै सामान्य अवस्थामा ल्याउन लचिलो मौद्रिक नीति आउनुपर्ने सम्बद्ध व्यवसायीको सुझाव छ ।

इँटा उद्योग महासंघ, नेपाल कपडा तथा सिलाइ व्यवसायी महासंघ, ग्रिल तथा स्टिल व्यवसायी महासंघ, नेपाल हस्तकला महासंघ, अटो मेकानिक्स संघ, छाला जुत्ता व्यवसायी संघ, आल्मुनियम व्यवसायी संघ, हाते कागज संघ, नेपाल अल्लो व्यवसायी संघ, सुनचाँदी व्यवसायी महासंघ, नेपाल फ्लोरिकल्चर एसोसिएसन, नेपाल वन पैदावार महासंघलगायतका अध्यक्ष तथा प्रतिनिधिहरूले घरेलु तथा साना उद्योगीलाई राहत हुने किसिममा स्टिमुलेस प्याकेज ल्याउनुपर्नेमा जोड दिएको उपाध्यक्ष कटुवालले बताउनुभएको छ ।

कोरोना, डेंगु र रुस-युक्रेन युद्धका कारण देशमा चरम आर्थिक संकट परेको अवस्थामा साना उद्योगी व्यवसायीले समयमा उद्योग व्यापार व्यवसाय सुचारुरूपले सञ्चालन गर्न नसकेको भन्दै साँवा तथा ब्याज बुझाउने समयावधि थप गरी कम्तीमा एक वर्षको समय दिनुपर्ने, बढ्दो ब्याजदर घटाउनुपर्ने, लगानीलाई सहज बनाउनुपर्ने, पुनर्तालिकीकरण गराउनुपर्नेलगायत सुझाव प्राप्त भएको कटुवालले जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?