२० औँ राष्ट्रिय धान दिवस : ‘कृषि बजेट कटौती गर्नेले कृषिका ठूला कुरा गर्ने ?’

Read Time = 6 mins

ललितपुर । कृषि तथा पशुपक्षी विकासमन्त्री डा. वेदुराम भुसालले यस वर्ष कृषि मन्त्रालयले बाँझो जमिन उपयोगका लागि पनि बजेट छुट्याएको बताउनुभएको छ । तथापि बाँझो जमिन उपयोग गर्न कृषि मन्त्रालयले पर्याप्त बजेट पाउन नसक्नुको प्रमुख बाधक राष्ट्रिय योजना आयोग भएको आरोपसमेत उहाँले लगाउनुभएको छ । योजना आयोगले पहिल्यै सिलिङ तोकेर पठाएकाले कृषि मन्त्रालयको सिलिङमा बजेट कटौती भएको उहाँको गुनासो थियो ।

शुक्रबार राष्ट्रिय धान दिवसका अवसरमा कृषि विभागद्वारा नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)द्वारा आयोजित कार्यक्रममा मन्त्री भुसालले कार्यक्रममा सहभागी योजना आयोगका सदस्यलाई कृषिमा बजेट नदिनेले कृषि कार्यक्रममा आएर ठूला कुरा नगर्न चेतावनीसमेत दिनुभएको थियो । उहाँले केही वर्षअघि खेती भएको १० लाख ३० हजार हेक्टर जमिन अहिले बाँझो रहेको भन्दै नेपालको १० लाख ३० हजार हेक्टर बाँझो जमिनमा खेती गर्न सकेमा उत्पादन बढ्न सक्ने दाबीसमेत गर्नुभयो । जमिन बाँझो हुनुमा मानिसहरूको जीवन शैलीमा आएको परिवर्तन, पहाडबाट तराई वा शहरतिर बसाइँ सर्ने प्रवृत्ति, युवा विदेश जानु र सरकारले पर्याप्त सेवासुविधा पु¥याउन नसक्नु मुख्य कारण रहेको उहाँको भनाइ थियो ।

कृषिमन्त्री भुसालले योजना आयोगले नै कृषि बजेट घटाएको आरोप लगाउनुभएको छ ।

साथै मन्त्री भुसालले मलको अभाव भयो भनेर राजनीतिक प्रतिशोधका आधारमा विगतका फोटो खिचेर प्रचार गरिएको भन्दै अहिले सरकारसँग ७८ हजार मेट्रिकटन मल मौज्दात रहेकाले यस वर्ष मल अभाव नहुने जिकिर गर्नुभयो । उहाँले मल वितरणमा बदमासी भएको भन्दै कारबाहीको चेतावनीसमेत दिनुभयो । मन्त्री भुसालले भन्नुभयो, ‘मल वितरणमा बदमासी भएको ठाउँमा कारबाही गर्छु । दाङका मेयरले मलाई भोट हाल्नेभन्दा बाहेकलाई मल नदिने भन्दै हिँडेका छन् । किसानविरोधी अभियान चलाइएको छ ।’

सोही दिन चितवनमा आयोजित रोपाइँ कार्यक्रममा नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कृषिलाई सहकार्य, सहकारी र सामूहिक प्रणालीबाट व्यापकरूपमा अघि बढाउनुपर्ने बताउनुभयो । भरतपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले खाद्यान्न उत्पादनमा आत्मनिर्भर बन्न सकेमा कसैको परनिर्भर हुन नपर्ने बताउनुभयो । नेपाल कृषिप्रधान देश भएकाले नै नाकाबन्दीले गलाउन नसकेको उहाँको भनाइ थियो । पूर्वप्रधानमन्त्री ओलीले भन्नुभयो, ‘पाँच महिनाको नाकाबन्दीमा पनि नेपाल टिकिरहनुको कारण कृषि उत्पादन नै हो । हामी प्रायः बाहिरबाट सबै चिज ल्याउँछौँ तर हामीलाई खान पुग्ने अन्न, सब्जी, माछा, मासु र दूध यहीँ उत्पादन हुन्छ । त्यसो हुनाले नाकाबन्दीले पनि हामीलाई गलाउन सकेन ।’

धान दिवसकै अवसरमा खाद्यका लागि कृषि अभियान नेपालले पनि रोपाइँ कार्यक्रम आयोजना गरेको छ । अभियानले जलवायु परिवर्तन, प्रकृतिको अति दोहन, पर्यावरणीय ह्रास, जथाभावी रसायन र विषादीको प्रयोगबाट माटोको निर्जीवीकरणलगातयका कारणले धान उत्पादन बढ्न नसकेको जनाएको छ । तीव्रगतिमा भित्रिएका वैदेशिक वर्णशंखर बिउ, हराउँदै गइरहेका रैथाने बिउबिजन, सुक्दै गएका पानीका स्रोतले धान खेती प्रणालीलाई झनै प्रतिकूलतातिर धकेलिरहेको अभियानका संयोजक उद्धव अधिकारीले बताउनुभएको छ । तीन दशकअघिको तुलनामा हाल धानको खेती गर्ने जमिन, कुल गार्हस्थ्य उत्पादन र कृषिमा धानको हिस्सा निरन्तर घटिरहेको भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभएको छ । अभियानका अनुसार छ दशकअघि १.३ मेट्रिकटन प्रतिहेक्टर उत्पादकत्व रहेको धान खेती यस अवधिमा गरिएको प्रयासमा ३.८१ मेट्रिकटन प्रतिहेक्टरभन्दा बढ्न सकेको छैन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?