पुस्तक : सुनीता कार्कीको ‘साथ रहोस् नरहोस्’

सुशीला घिमिरे
Read Time = 7 mins

‘साथ रहोस् नरहोस्’ सुनीता कार्कीको कवितासङ्ग्रह हो । यो गद्य कवितासङ्ग्रह हो । नइ प्रकाशन प्रकाशक रहेको यस सङ्ग्रहको यो प्रथम संस्करण हो जुन हालैमात्र अर्थात् २०८० सालमा आएको छ । यो पुस्तक डिएमआई साइजमा प्रकाशित भएको छ । पुस्तक हेर्दा आफैंमा पनि आकर्षक छ र यसको छपाइ पनि आकर्षक छ । ठाउँठाउँमा केही अशुद्धि भने भेटिन्छन् । आवरण सज्जा र यस सङ्ग्रहमा समावेश गरिएका चित्रहरू कवयित्री कार्कीकै रहेको उल्लेख भएका कारण उहाँ बहुमुखी प्रतिभा भएको जानकारी पाइन्छ । ऋचा अपसेट प्रेसमा यसको मुद्रण भएको छ ।

यो नइ प्रकाशनको १७३औं पुस्तक भएको जनाउ पनि यहीँ दिइएको छ । भूमिका खण्डको ७० र चित्रांकित पृष्ठसमेत गरी पुस्तकमा जम्मा २१६ पृष्ठ छन् । यसको मूल्य पाँच सय (५००) रुपैयाँ राखिएको छ । यस पुस्तकमा तौलरहित पहेंलो कागजको प्रयोग गरिएको छ । आवरण पृष्ठ आकर्षक छ । रूख, आकाश र नदीजस्तो देखिने यस पृष्ठमा केटा र केटी छाता ओढेर उभिएका छन् माथि ठूला अक्षरमा पुस्तकको शीर्षक ‘साथ रहोस् नरहोस्’ भनिएको छ र सँगै सना अक्षरमा कवयित्रीको नाम उख्खेख गरिएको छ ‘सुनीता कार्की’ भनेर ।

पृष्ठ आवरणमा कवयित्रीको फोटोसहित यस पुस्तकको भूमिका लेखक प्राडा.वासुदेव त्रिपाठीको यही पुस्तकको भूमिकाको एउटा अंश साभार गरिएको छ । यही पृष्ठमा प्रकाशक संस्था ‘नइ’ को नाम र लोगो तथा पुस्तकको बारकोडका साथै नइ शृंखलाको संख्या १७३ उल्लेख गरिएको छ । कवयित्री कार्कीको यो सम्भवतः पहिलो कवितासङ्ग्रह हो । पहिलै सङ्ग्रह भए पनि कविता स्तरीय छन् । त्यही भएर नै महासमालोचक प्राडा.वासुदेव त्रिपाठीले यस सङ्ग्रहमा समालोचकीय भूमिका लेख्नुभएको छ । भूमिका खण्डमा नइ प्रकाशनका तर्फबाट ‘प्रकाशकीय’, प्राडा. वासुदेव त्रिपाठीको ‘साथ रहोस् नरहोस् कवितासङ्ग्रहका सम्बन्धमा महासमालोचना र कवयित्रीको ‘लेखकीय’ रहेका छन् । प्राडा. त्रिपाठीको विश्लेषणत्मक भूमिका वा समालोचना आठ पृष्ठदेखि ६४ पृष्ठसम्म रहेको छ ।

यस पुस्तकमा समेटिएका कविता विभिन्न भावका छन् । पूर्वजहरूप्रति आदर, मानव मनको कल्पना, प्रकृति चित्रण, राष्ट्रियता, सामाजिक भावना, मानव महत्वाकांक्षा, नारीप्रतिको सम्मान, जीवन र जगतको रहस्य आदि भाव यहाँका कविताहरूमा पाउन सकिन्छ ।

यस भूमिकाको समालोचनात्मक विश्लेषणमा उहाँले कविता सिद्धान्तदेखि यस सङ्ग्रहमा समावेश कवितासमेत विश्लेषण गर्नुभएको छ । उहाँले कवयित्री सुनीता कार्कीको चिनारी, लेखकीय विशेषतालगायत विषयको उहाँले विवेचना गर्नुभएको छ । यसले गर्दा यस सङ्ग्रहका बारे शोध गर्न चाहने विद्यार्थीहरूलाई भने यसले सघाउ पुर्‍याउनेछ ।

यस सङ्ग्रहमा ३३ वटा कविता समेटिएका छन् । कवयित्रीले कविताका शीर्षकहरू छोटाछोटा राखेको पाइन्छ । एक शब्दका १०, दुई शब्दका १२, तीन शब्दका ६, चार शब्दका चार र पाँच शब्दको एउटा कविता यस सङ्ग्रहमा रहेका कारणले यसो भन्न सकिएको हो । यसैगरी सङ्ग्रहमा समावेश भएका कवितालाई हेर्दा दुई पृष्ठदेखि ११ पृष्ठसम्मको फैलावटमा रहेका कविता छन् । जसले गर्दा कवयित्री सुनीता कार्कीका कविताहरू केही साना आकारका छन् र केही लामा पनि छन् तर सरदरमा उहाँका कवितालाई मझौला आयामका भन्दा उचित हुन्छ ।

उक्त पुस्तकमा समेटिएका कविता विभिन्न भावका छन् । पूर्वजहरूप्रति आदर, मानव मनको कल्पना, प्रकृति चित्रण, राष्ट्रियता, सामाजिक भावना, मानव महत्वाकांक्षा, नारीप्रतिको सम्मान, जीवन र जगतको रहस्य आदि भाव यहाँका कवितामा पाउन सकिन्छ । प्रत्येक कवितासँगै उक्त कविताको लेखन सन्दर्भ तथा त्यसको भावको समेत व्यख्या गरिनाले कविता बुझ्न सजिलो भएको छ ।
उहाँको ‘अदम्य साहस’ शीर्षकको कविताको एउटा छोटो अंशलाई दृष्टान्तका रूपमा यसरी उद्धृत गर्न सकिन्छ :
पुर्खाले रचेको अखण्डताको इतिहास
जातीय हिंसाले नबनोस् है भविष्य अभिशाप
विकराल भ्रष्टाचार रूपी दलदलको
राजनीतिक अराजनीतिक हस्तक्षेप
दुर्भाग्य नबनोस् राष्ट्रको
पुस्तकको अन्तिममा कवयित्री कार्कीले सिर्जना गरेका चित्रहरू पनि राखिएका छन् । यहाँ १० पृष्ठ ओगटेका १३ वटा चित्र छन् । धरहरा, देविदेवता, मानव तथा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहका चित्रहरू यहाँ राखिएका छन् । कवयित्री सुनीता कार्कीलाई यस सङ्ग्रहका लागि बधाई तथा पुस्तकको सफलताको कामना । साथै उहाँबाट यस्ता अन्य पुस्तकहरू आइरहून् अग्रीम शुभकामना ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?