अन्तरङ्ग : कर्मशील साहित्यकार-निर्मलरमण पराजुली

विनोद दाहाल वत्स
Read Time = 28 mins

निर्मलरमण पराजुली नेपाली साहित्यले राम्ररी चिनेको व्यक्ति हुनुहुन्छ । मेरो उहाँसँगको अन्तरङ्गसम्बन्ध भने त्यति लामो भएको छैन । नाम पहिलेदेखि नै सुनेको हुँ र उहाँका रचनाहरू पढेको पनि हुँ तर उहाँसँग प्रत्यक्ष भेटघाट भएको भने निकैपछि मात्र हो, हाम्रो परिचय भएको चार वर्षजति भयो । उहाँ अध्यक्ष रहनुको भएको ‘घुम्ती मुक्तक नेपाल’ दर्ता भएपछि उहाँले आयोजना गर्नुभएको कार्यक्रममा म पनि लगातार उपस्थित हुँदै आएको छु । यसैका माध्यमबाट हामी अझै नजिक भएका हौं र उक्त संस्थाको स्थापनाको घोषणा भएको कार्यक्रमका साथै पहिलो र दोस्रो संस्थापना दिवसका कार्यक्रममा पनि मेरो संलग्नता रहृयो । त्यसपछि हाम्रो सम्बन्ध अझै प्रगाढ बन्न पुग्यो ।
नेपाली साहित्यका क्षेत्रमा उहाँले यस्ता धेरै काम गर्नुभएको साक्षी म आफैं भएका कारण विगत पाँच वर्षदेखि हिमालय टाइम्स राष्ट्रिय दैनिकमा लेख्दै आएको ‘अन्तरङ्ग’ स्तम्भमा उहाँलाई पनि समावेश गर्ने चाहना राखेँ । यही क्रममा हामीले चुच्चेपाटीको एउटा रेस्टुरेन्टमा बसेर कफी पिउँदै केही कुराकानी गर्‍यौं । यसबाट उहाँबारे मैले समग्र जानकारी प्राप्त गर्न सकेँ ।

निर्मलरमण पराजुली पोखरा-२ बिन्दवासिनीको आफ्नै पुख्यौली घरमा जन्मिनुभएको हो । पोखरा पराजुलीहरूकै बिर्ता भएको जानकारी उहाँबाटै प्राप्त भयो । उहाँ कालिकारमण पराजुली र शान्तादेवी पराजुलीको कान्छो छोरा हुनुहुन्छ । बुबा कालिकारमण हाल स्वर्गीय भइसक्नुभएको छ । उहाँकी आमा शान्तादेवी नेपाल सरकारको पूर्वकर्मचारी हुनुहुन्छ । निर्मलरमणको हाल पेशा व्यवासाय जे भने पनि साहित्य नै हो ।

निर्मलरमणका हजुरबा तुलसीरमण पराजुली तथा तुलसीरमणका माहिला दाइ गङ्गाधर शास्त्री पराजुली बनारसमा बस्दा घरमा कवितामै चिठी लेखेर पठाउनुहुन्थ्यो । उहाँहरू संस्कृतका प्रकाण्ड विद्वान् हुनुहुन्थ्यो । बुबा, हजुरबुबाहरूले वाचन गरेका श्तोत्रहरूबाट प्रेरित भएका कारणले बिस्तारै निर्मलरमण साहित्य सिर्जनातर्फ प्रेरित बन्नुभयो ।

लेखन, प्रकाशन तथा साहित्यिक भेटघाटहरूमै उहाँको अधिकांश समय बित्ने गरेको छ । उहाँ पहिले नेपाल अरब बैंक (नेबिल बैंक) मा जागिरे हुनुहुन्थ्यो । पछि आफ्नै व्यवसाय गर्ने चाहनाले स्वेच्छिक अवकाश लिनुभयो । यसका साथै उहाँले चौधरी ग्रुपलगायत काठमाडौंका केही प्रतिष्ठित उद्योगमा उच्च पदमा रहेर काम गर्नुभयो । उहाँले आफैंले मिनरल वाटरको उत्पादन र बिक्रीको व्यवसाय गर्नुभयो । पराजुलीले नेपालका ४० वटाभन्दा बढी जिल्ला साथै बेलायत, अमेरिकालगायत युरोपका विभिन्न देशको भ्रमण गर्नुभएको छ । नेपालीका साथै अङ्ग्रेजीलगायत भाषामा उहाँको दक्षता छ ।

उहाँले पोखराको ल्याबोरेटोरी तथा बिन्दवासिनी प्रा.वि.मा प्राथमिक तहको अध्ययन गर्नुभयो भने माध्यमिक तहको अध्ययन दाङ, भैरहवा, काठमाडौं, पोखरालगायत विभिन्न ठाउँमा रहेर गर्नुभयो । जागिरका क्रममा उहाँका पिता कालिकारमण माता शान्ताको जताजता सरुवा भयो उहाँ त्यहीँँ रहेर अध्ययन गर्न पुग्नुभयो । विद्यालय तहको अन्तिममा पोखराको मल्टिपरपज हाईस्कुलबाट उहाँले एसएलसी गर्नुभयो । त्यसपछि उच्च शिक्षाका लागि उहाँ काठमाडौं आउनुभयो । काठमाडौंको सरस्वती क्याम्पसबाट आईए (प्रमाणपत्र तह), रत्नराज्य लक्ष्मी क्याम्पसबाट बिए (स्नातक तह) र त्रिवि कीर्तिपुरबाट एमए (स्नातकोत्तर तह) पूरा गर्नुभयो । उहाँले नेपाली र अर्थशास्त्रमा स्नातकोत्तर गर्नुभएको छ ।

निर्मलरमण सम्पन्न तथा प्रतिष्ठित परिवारको सदस्य हुनुहुन्छ । उहाँका बुबाआमा दुवै जागिरे भएका कारण उहाँले अभावको सामना गर्नु परेन । यतिमात्र होइन उहाँ बिर्तावाल परिवारकै सदस्य भएकाले कुनै कमी हुन पाएन । उहाँका हजुरबुबा तुलसीरमणले बनारस हिन्दु विश्वविद्यालयबाट साहित्य र वेदान्तमा आचार्य गर्नुभएको थियो । उहाँले दरबार हाईस्कुल, आधार पाठशाला घण्टाघर र वाल्मीकि क्याम्पसमा समेत प्राध्यापन गरी शिक्षा क्षेत्रमा उल्लेख्य योगदान गर्नुभएको थियो ।

साथै उहाँका माहिला हजुरबा गङ्गाधर शास्त्री पराजुलीले ६ वटा विषयमा स्नातकोत्तर गरी नेपाली र संस्कृत भाषा साहित्यमा नेपालमा मात्र नभएर भारतमा समेत ख्याति आर्जन गर्नुभएको थियो । नेपाल संस्कृत विश्वविद्यालयको स्थापनामा उहाँको महत्वपूर्ण योगदान रहेको छ । उहाँ योगी नरहरिनाथको समकालीन मित्र हुनुहुन्थ्यो । निर्मलरमणका पुर्खा रत्नाखर पराजुलीको पनि उहाँको समयमा ठूलै ख्याति थियो । पोखराको पृथ्वीनारायण क्याम्पस परिसरमा उहाँको सालिक राखिएको छ, जुन हालसम्म छँदैछ । पोखराको शैक्षिक विकासमा पराजुली परिवारको उल्लेख्य योगदान पाइन्छ ।

निर्मलरमण साहित्यतिर आकर्षित बन्नुको कारण यही हो । उहाँका हजुरबा तुलसीरमण तथा तुलसीरमणका माहिला दाइ गङ्गाधर शास्त्री पराजुली बनारसमा बस्दा घरमा कवितामै चिठी लेखेर पठाउनुहुन्थ्यो । उहाँहरू संस्कृतका प्रकाण्ड विद्वान् हुनुहुन्थ्यो । बुबा, हजुरबुबाहरूले वाचन गरेका श्तोत्रहरूबाट प्रेरित भएकाले बिस्तारै निर्मलरमण साहित्य सिर्जनातर्फ प्रेरित बन्नुभयो । यसबाट उहाँको संस्कारमै साहित्य छ भन्ने देखिन्छ । ‘अतृप्त चाहनाको मझेरीका’ शीर्षकको पुस्तकको भूमिकामा राष्ट्रकवि माधवप्रसाद घिमिरेले शुभकामना लेख्ने क्रममा ‘मेरा गुरुको पनाति’ भनेर निर्मलरमणलाई सम्बोधन गर्नुभएबाट पनि उहाँका जिजुबुबा कालिदास संस्कृतका प्रकाण्ड विद्वान् हुनुहुन्थ्यो भन्ने जानकारी पाउन सकिन्छ । हाल निर्मलरमणको कर्म-धर्म नै साहित्य सिर्जना हो ।

उहाँका अनगिन्ति फुटकर रचनाहरू प्रकाशित भएका छन् । पुस्तकाकार कृतिहरूमा उहाँका ‘आमाको सपना’ (पूर्णाङ्की नाटक-२०४२), ‘भाइटीका’ (नाटक-२०४२ ) प्रकाशित भएका थिए र तिनको मञ्चन पनि भएको थियो । उहाँले जुनबेला यी नाटकहरू रचना गर्नुभयो त्यसबेला उहाँ १४ वर्षको मात्र हुनुहुन्थ्यो । त्यसपछिको तीन दशक उहाँका स्थूल कृतिहरू आएनन् । यसको कारण उहाँले खुलाउनुभयो, केही वर्ष विदेशमा बस्नुभएछ । त्यस समयमा कृतिहरू प्रकाशित हुन नसकेका रहेछन्, उहाँभित्रको साहित्यक तृष्णा भने गढेर बसिरहेकै थियो ।
उहाँले स्वदेशमा आएपछि एकातिर आफ्नै अध्यक्षतामा ‘घुम्ती मुक्तक नेपाल’ नामको साहित्यिक संस्था दर्ता गर्नुभयो र त्यसलाई एउटा गति दिएर सञ्चालन गरिरहनुभएको छ । साथै प्रत्येक वर्षजस्तो पुस्तकहरू प्रकाशित गर्दै आइरहनु भएको छ । उहाँका ‘अतृप्त चाहनाको मझेरीमा’ (कवितासङ्ग्रह-२०७३), ‘अक्षरको खेती’ ( मुक्तकसङ्ग्रह २०७४), ‘सम्मोहन’ ( मुक्तकसङ्ग्रह २०७५) र ‘देश लेख्न हतार छ’ (कवितासङ्ग्रह-२०७६) प्रकाशित भएका छन् र नीतिचेतनाको निरन्तर प्रवाह गरिरहेको बताउनुहुने उहाँका चारवटा कृतिहरू प्रकाशनका क्रममा छन् ।

उहाँ साहित्य र राजनीति अन्तरसम्बन्धित छन् भन्ने ठान्नुहुन्छ । किनभने राजनीतिले देशलाई मार्ग दर्शन गर्नुपर्छ तर कतिपय अवस्थामा राजनीतिज्ञहरूले बाटो बिराए भने तिनलाई साहित्यले मार्गदर्शन गर्न सक्नुपर्छ । साहित्य मनोरञ्जनको माध्यम मात्र बन्नु हुँदैन यो शिक्षाप्रद बन्न सक्नुपर्छ ।

तिनको छिट्टै प्रकाशन गर्ने योजनामा हुनुहुन्छ, यतिमात्र होइन उहाँ आगामी समयमा आफ्ना मातापिताको नाममा अक्षय कोष स्थापना गरेर स्रष्टालाई सम्मान र पुर्खाको नाम समाजका सामु अक्षुण्य रूपमा राखिराख्ने योजनामा हुनुहुन्छ । यही प्रयोजनका लागि उहाँले केही नगद पुरस्कार स्थापना गरिसक्नु भएको छ । किन लेख्नुहुन्छ त उहाँ भन्ने प्रश्नमा ? सिर्जनशील कर्मले जीवन अगाडि बढाउन अभिप्रेरित भएर लेख्ने गरेको बताउनुहुन्छ । आधुनिक साहित्यमा प्रेम, यौन, मनोविज्ञान, प्रगतिशीलता, प्रकृति, परिष्कार, स्वच्छन्दता जस्ता कुरा आवश्यक छन् भनिन्छ । यीमध्ये कुनै एउटा भावमा टेकिएर साहित्यकारले लेख्ने गरेका छन् । उहाँ पनि यी कुरा लेखनमा आवश्यक ठान्नुहुन्छ । साहित्यलाई माध्यम बनाएर विविध कुराको जानकारी दिनुपर्ने भएकाले यिनको आवश्यक पर्ने उहाँको धारणा छ ।

आपसी प्रेम, देशप्रेम स्थापित गर्न र सामाजिक विकृति हटाउन तथा सामाजिक संस्कारको विकास गर्न यस्तायस्ता कुराहरूको आवश्यकता रहेको विचार व्यक्त गर्नुहुन्छ । तर, नेपालमा लेखेर बाँच्न सकिने अवस्था बनिसकेको छैन भन्ने उहाँलाई लाग्छ । साहित्य र राजनीति अन्तरसम्बन्धित छन् भन्ने ठान्नुहुन्छ । किनभने राजनीतिले देशलाई मार्ग दर्शन गर्नुपर्छ तर कतिपय अवस्थामा राजनीतिज्ञहरूले बाटो बिराए भने साहित्यले मार्गदर्शन गर्न सक्नुपर्छ । साहित्य मनोरञ्जनको माध्यम मात्र बन्नु हुँदैन यो शिक्षाप्रद पनि बन्न सक्नुपर्छ । त्यस कारण साहित्य र राजनीति सहयात्री हुन् तर एकले अर्कालाई दिशाबोध गर्न सक्नुपर्छ भन्ने उहाँलाई लाग्छ ।

उहाँले लेखेर अर्थिक प्राप्ति केही गर्नुभएको छैन बरू यसका लागि उहाँ आफैं केही खर्च गर्दै आइरहनु भएको छ । कसैकसैले त लेखनबाट आर्जन भएको बताउने गरेका छन् तर उहाँलाई यस्तो लाग्दैन तैपनि उहाँ लेखिरहनु भएको छ । लेखिरहनु भएको छ मात्रै होइन नलेखी उहाँ बस्नै सक्नुहुन्न । किन लेख्नुहुन्छ त ? उहाँ आत्मसन्तुष्टिका लागि लेख्ने गरेको बताउनुहुन्छ । लेखेर आपूmले साथीभाइ र इज्जत पाएको छु भन्नुहुन्छ । लेखेर यही प्राप्ति भएको छ केही गुमाउनुपरेको छैन ।

उहाँ स्वतन्त्र हुनुहुन्छ, घरायसी वातावरणले लेखनमा कुनै प्रकारको बाधा पारेको छैन । साहित्य सिर्जनाको कामलाई देख्नेले सजिलो देखेका होलान् तर त्यो कठिन कार्य हो । जति नै कठिन कार्य भए पनि सधैं यही काम गरिरहनाले साहित्य कठिन काम हो भन्ने लाग्न छोड्यो । ‘यो कठिन काम हो तर अब बानी परिसक्यो, कठिन लाग्दैन’ उहाँ भन्नुहुन्छ, उहाँ लेखनलाई पेशा वा व्यवसायभन्दा पनि आत्मसन्तुष्टिको माध्यम मान्नुहुन्छ । लेखेर बाँच्न र कमाउन सकिन्छ भन्नेहरू छन् तर तिनले घोष्ट राइटिङ, पाठ्यपुस्तक केन्द्रित लेखन तथा साहित्येत्तर लेखनबाट आर्जन गर्न सकिन्छ भनेको हुनसक्छ, मौलिक साहित्यिक लेखनबाट सम्भव होलाजस्तो उहाँलाई लाग्दैन । किनभने कमाउने चाहना राखेर लेख्नुभएको छैन ।

राजनीतिक सिद्धान्तका बारेमा अलिक फरक विचार राख्नुहुन्छ उहाँ, ‘म कुनै राजनीतिक पार्टीको झण्डा बोकेर हिँड्दिन, झोला बोक्दिन । सबै दलमा साथीभाइ छन् । ती सबैसँग मेरो सम्बन्ध राम्रो छ । सिद्धान्तमा सबै दल राम्रा छन् । अवस्था र परिस्थितिलाई विश्लेषण गरेर र पार्टी होइन नेता हेरेर जुन राम्रो लाग्छ त्यसैलाई विश्वास र सहयोग गर्ने गरेको छु, मत पनि नेता हेरेरमात्र दिन्छु’, उहाँ भन्नुहुन्छ । साहित्यमा लागेको छोटै अवधिमा मान सम्मान र इज्जत पाएकोमा गौरवको अनुभूति हुनेगरेको उहाँ बताउनुहुन्छ ।

फुर्सदका बेला लेख्ने गर्नुहुन्थ्यो र भ्याएका बेला परिमार्जन गर्नुहुन्थ्यो । यसो गर्दागर्दै उहाँका धेरै कृति प्रकाशित हुनसकेका हुन् । माथि भनियो निर्मलरमण कविता संस्कारबाट अउनुभएको हो । उहाँले सुरुमै आफ्नो विद्यालयमा कविता प्रतियोगितामा भाग लिनुभयो र पहिलो पटकमै प्रथम भएर पुरस्कृत हुनुभयो । त्यसबाट प्रोत्साहन प्राप्त भएपछि उहाँको लेखनले हालसम्म निरन्तरता पाइरहेको छ ।

हाल ‘घुम्ती मुक्तक नेपाल’को संस्थापक अध्यक्ष, अनेसास, नेपाल भारत साहित्य महोत्सवलगायत स्थानीय धेरै संघसंस्थामा उहाँ संलग्न हुनुहुन्छ । साहित्यमा मुक्तक विधाको विकासमा लागिपर्नुभएको छ र यसका लागि व्यक्तिगत खर्च गरिरहनुभएको छ । नेपालको वर्तमान साहित्यिक प्रवृत्ति स्वार्थमा लिप्त भएको उहाँले पाउनुभएको छ । आफ्नो स्वार्थ पूरा हुने भए जे गर्न पनि तयार र स्वार्थ पूरा नहुने भए केही नगर्ने, अर्काको आलोचना गर्ने र खुट्टा तान्ने प्रवृत्ति पाउनुभएको छ । उहाँको विचारमा मानिस सिर्जनशील र सम्मानको अपेक्षा गर्ने प्राणी हो । गुणात्मक पक्षमा लाग्नाले साहित्यको हित हुन्छ । स्वार्थले यसमा भद्रगोलको स्थिति पैदा हुन्छ गुणत्मकता पाउन सकिँदैन ।

यस्ता प्रवृत्तिमा सुधार गर्न सकिन्छ तर सबैले लागिपरेर काम गर्नुपर्छ भन्ने उहाँलाई लाग्छ । सुधारको चाहना सबैमा हुनुपर्छ, नेपाल प्रज्ञा प्रतिष्ठानमा एउटा यस्तो एकाइ गठन गर्नुपर्छ र यसले दर्ता, पुरस्कार, सम्मानका लागि नियन्त्रण र अनुगमन गर्न सकोस् भन्नु हुने उहाँ जीवनको निकै लामो यात्रा गरेर हालको ठाउँसम्म आइपुग्नुभएको छ । पछाडि फर्किएर हेर्दा उहाँ निकैमाथि पुगिसक्नुभएको छ तर बीच बाटामै अथवा मध्यमार्गमै छु भन्नुहुन्छ । अझै केही गर्न बाँकी छ र साहित्यमा समर्पित भएर अझै केही गर्न सकूँ ताकि भोलिका सन्ततिले नाम लिन सकून् भन्ने लागेको छ ।

वर्तमान दिनहरूमा गुणात्मक साहित्य सिर्जना कम र संख्यात्मक बढी भइरहेको देखिएको छ । उहाँ यसलाई स्वीकार्नुहुन्छ, ‘यो सत्य हो ।’ गुणस्तरीय साहित्य सिर्जना कम हुनुमा नियन्त्रण गर्ने निकायको कमी हो । साहित्यको स्तर तोक्ने हो भने यस्तो हुने थिएन । पराजुलीले ६ वटा अन्तर्राष्ट्रिय सम्मान, एक सयभन्दा बढी राष्ट्रिय मान, सम्मान र पुरस्कार पाउनुभएको छ । यसबाट उहाँको साहित्यिक योगदानको आकलन गर्न सकिन्छ । हाल मान, सम्मान र पुरस्कारहरूको महत्व घटेको हो कि जस्तो देखिएको सन्दर्भमा उहाँ भन्नुहुन्छ, ‘हो, यस्तो भएको जस्तो देखिएको छ । आफ्नालाई दिने गरिन्छ । गुणत्मकतातिर ध्यान पुगेको छैन । यसरी नेपाली साहित्यलाई अन्तर्राष्ट्रियस्तरमा पुर्‍याउन सकिँदैन ।’

पराजुली नयाँ पुस्तालाई कुनै पनि सिर्जना गर्नुभन्दा पहिले आफूले सिर्जना गर्न लागेको विधाको सैद्धान्तिक ज्ञान हुनुपर्छ र उसका रचनाले समाजलाई केही प्रेरणा दिन सक्नुपर्छ भन्नुहुन्छ । अहिले जे लेखे पनि त्यो साहित्य हुन्छ भन्ने धारणा राख्नेहरूको संख्या वृद्धि भइरहेको उहाँले देखिरहनु भएको छ ।

केही नराम्रा प्रवृत्तिले समग्र साहित्यको मूल्यांकन गर्नु चाहिँ हुँदैन । थोरै नराम्रा कामले गर्दा समग्र यो क्षेत्रको आलोचना हुने गर्छ तर त्यसो गर्नु उचित होइन । नेपाली साहित्यमा धेरै राम्रा काम भएका छन् । राम्रा काम गर्नेहरू धेरै छन् र त्यसतर्फ दृष्टि दिनु उचित हो भन्नुहुन्छ साहित्यकार निर्मलरमण । लेखनबाट आफू केहीमाथि पुगेको महसुस अरूजस्तै हुनेगरेको छ, यसमा गौरव लाग्ने बताउनु हुन्छ उहाँ । जागिरको क्रममा उच्च तहसम्म पुगेर सेवा गर्नुभयो । साहित्यमा पनि उच्च स्थान छँदैछ ।

वर्तमानमा पहिले जसरी स्थूल कृतिहरू आइरहेका छैनन् । संख्यात्मक रूपमा धेरै होलान् तर नेपाली साहित्यको आधुनिक कालको प्रारम्भ र त्यसपछिका केही दशकमा लेख्न थालेका साहित्यकारहरू नेपाली साहित्यका स्थापित प्रतिभा बन्न सके । हाल नयाँ विधा सिर्जना गरेर प्रचारप्रसार गर्नेहरूको संख्या दिन प्रतिदिन बढ्दै गइरहेको छ तर जीवन्त साहित्य सिर्जना हुन सकिरहेको छैन । यस्तो परिस्थितिलाई नियालिरहनु भएका पराजुली नयाँ पुस्तालाई कुनै पनि सिर्जना गर्नुभन्दा पहिले आफूले सिर्जना गर्न लागेको विधाको सैद्धान्तिक ज्ञान हुनुपर्छ र उसका रचनाले समाजलाई केही प्रेरणा दिन सक्नुपर्छ भन्नुहुन्छ । अहिले जे लेखे पनि साहित्य हुन्छ भन्ने धारणा राख्नेहरूको संख्या वृद्धि भइरहेको उहाँले देखिरहनु भएको छ । उहाँ ‘जे लेखे पनि साहित्य हुन्छ भन्ने धारणा राख्नु हुँदैन’ भन्ने सुझाब दिन चाहनुहुन्छ ।

उहाँ ‘घुम्ती मुक्तक नेपाल’का वर्तमान अध्यक्ष र संस्थापक अध्यक्ष पनि उहाँ नै हुनुहुन्छ । यसको धारणा चाहिँ कसरी आयो त ? उहाँ भन्नुहुन्छ, ‘म कविताबाट प्रेरित छु । कुनै एउटा कार्यक्रममा मैले कविता वाचन गरेँ । त्यहाँ प्रसिद्ध साहित्यकार ज्ञानुवाकर पौडेल पनि हुनुहुन्थ्यो । मेरो कविता सुनिसकेपछि उहाँले मलाई मुक्तक लेखनका लागि सुझाव दिनुभयो । उहाँकै सुझावनुसार म मुक्तक लेखनमा लागेको बताउनुहुन्छ । वास्तवमा मुक्तक र कविता एकअर्कामा हातेमालो गर्ने शक्ति हुन् । यिनले आपसमा जुटेर जाँदा उचित हुने उहाँको धारणा छ ।

जागिर, विदेश बसाइलगायत केही कारण उहाँको लेखनमा बाधाव्यवधान बनेर आए । बीचमा उहाँले लेखनलाई निरन्तरता दिन सक्नुभएन । दुई दशक जति साहित्यबाट टाढा रहनुभयो तर, लेखनको अनुराग उहाँमा छँदैथियो । त्यसैले नेपाल फर्किएपछि फेरि आफ्नो छुटेको लेखनलाई जोड्ने प्रयास गर्नुभयो । पछि लेखनले अझै तीव्रता पायो र पाइरहेको छ । उहाँले ‘घुम्ती मुक्तक नेपाल’ लाई दर्ता गरेर विधिवत सञ्चालन गर्दै आइरहनु भएको छ । यस संस्थाले केही महिना पहिले आफ्नो दोस्रो स्थापना दिवस पनि मनाइसकेको छ ।

उक्त दिवसमा संस्थाले वरिष्ठ साहित्यकार यादव खरेल, प्राडा. लक्ष्मणप्रसाद गौतम तथा उदास कार्की जस्ता नेपाली भाषा साहित्यका गहनालाई सम्मान गरेर नेपाली साहित्मा आफ्नो उपस्थितिको सार्थकता सिद्ध गरिसकेको छ । बीचको रिक्तताको समेत उहाँको हालको सक्रियताले परिपूर्ति भइसकेको छ । उहाँ भन्नुहुन्छ, ‘नेपाली साहित्य विशेषगरी मुक्तक विधामा मेरो उल्लेख्य योगदान छ, समयले यसको मूल्यांकन गर्ने नै छ ।’

अरूले उहाँको मूल्यांकन जसरी गरून् आफू भने आफ्नो मूल्यांकन यसरी गर्नुहुन्छ, ‘म साहित्यको विद्यार्थी हुँ । साहित्यको अध्ययन गर्नु सजिलो काम होइन । म त्यो प्रयास गर्दैछु । मेरो प्रयासले भोलि कतै केही हितकारी काम भयो भने सघाउ पुग्यो र देश लाभान्वित बन्यो भने त्यसबेला आपूmलाई सफल भएको ठान्नेछु । मान्छे हरेकपल केही न केही सिकिरहेको हुन्छ । आजसम्म म पनि साहित्यमा केही न केही सिकिरहेकै छु । कुनै दिन समाजका लागि केही देन दिन सकेँ भने यस क्षेत्रमा गरेको कामले सफलता पाएको ठान्नेछु ।’

उहाँ आफ्नो भनाइलाई निष्कर्षका साथ बिट मार्दै पुनः विधागत अध्ययनलाई नै जोड दिनुहुन्छ र भन्नुहुन्छ, ‘विधागत अध्ययन आवश्यक छ । गाउँ, समाज र देशलाई केही दिनसक्ने खालको लेखन हुनुपर्छ नत्र लेखेरमात्रै केही अर्थ छैन ।’ नेपाली साहित्यको उन्नति होस् प्रगति होस् र साहित्यको उन्नति चाहने साहित्यकार निर्मलरमण पराजुलीले चाहेजस्तै साहित्यिक संस्कारको विकास हुन सकोस् । नेपाली साहित्य क्षेत्रको जय होस् । साहित्यकार पराजुलीको साहित्यिक उन्नति-प्रगतिको कामना ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?