हुण्डी कारोबारमा रेमिट कम्पनीकै संलग्नता, ३३ प्रतिशत भित्रिए पनि सरकार चुप

हिमालय टाइम्स
Read Time = 11 mins

रमेश भारती/हिटा
काठमाडौं । वैदेशिक रोजगारी र अध्ययनका लागि नेपालीहरू विदेश गएसँगै रेमिट्यान्स भित्रिने क्रम पनि बढेको छ । दक्षिण कोरिया, अमेरिका, अष्ट्रेलिया, जापान, बेलायत र युरोप लगायतका देशमा मात्र नभई खाडी देशबाट धेरै रोमिट्यान्स नेपाल आइरहेको छ । पछिल्लो समय तीनै देशबाट रेमिट्यान्सभन्दा पनि हुण्डी कारोबारबाट नेपालमा धेरै रकम भित्रिने गरेको विभिन्न अध्ययनमा औँल्याइएको छ । हुण्डी कारोबारमा रेमिट कम्पनी मात्र होइन, बैंक तथा ट्राभल एजेन्सीहरू समेत संलग्न रहेको अर्थ मन्त्रालयकै आर्थिक अध्ययनहरूमा उल्लेख छ ।
चालु आर्थिक वर्षको साउनदेखि वैशाख मसान्तसम्मको १० महिना अवधिमा १० खर्ब पाँच अर्ब रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ । यो रेमिट्यान्स रकम गत आर्थिक वर्षको सो अवधिको तुलनामा २३.४ प्रतिशतले बढी रहेको राष्ट्र बैंकले जनाएको छ । बैंकले सार्वजनिक गरेको १० महिनाको वित्तीय विवरणअनुसार वैशाख महिनामा मात्रै एक खर्ब दुई अर्ब रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ । यो अवधिमा साढे चार लाख नेपालीहरू विभिन्न देश वैदेशिक रोजगारीमा गएको बैकको तथ्यांकमा छ ।

गत वर्ष राजस्व अनुसन्धान विभागले काठमाडौंको गोंगबुस्थित रेमिट्यान्स कम्पनी ‘रिलायन्स सब रेमिट’ ले विदेशबाट गैरकानुनी हुण्डी कारोबार गरिरहेको आरोपमा पक्राउ गरी मुद्दा चलाएको थियो । उक्त कम्पनीका सञ्चालन गोविन्द सुब्बालाई विभागले हुण्डीमार्फत भित्रिएको तीन करोड ६६ लाख रुपैयाँ भित्राएको आरोपमा पक्राउ गरेको थियो । यस्तै, रिलायन्स सब रेमिटले जस्तै नबिल रेमिट, प्रभु मनी ट्रान्सफर, हिमाल रेमिट र वेस्टर्न युनियन मनी ट्रान्सफरहरूले पनि हुण्डी कारोबार गर्दै आएको आरोप अनुुसन्धान प्रहरीले लगाउँदै आएका छन् । यी रेमिटहरूमा प्रहरी र राजस्व अनुसन्धान विभागले धेरै पटक छापासमेत हानेका छन् । हुण्डी कारोबारीहरूले देशैभर रेमिटेन्स कम्पनी विस्तार भएसँगै हुण्डीबाट ल्याएको रकम आन्तरिक रेमिट्यान्स च्यानलबाट विभिन्न देशसमेत पठाइरहेको राजस्व अनुसन्धान विभागका एक कर्मचारीले जानकारी दिनुभयो । नेपाली रेमिट कम्पनीहरूको एजेन्टका रूपमा काम गरिरहेका कम्पनीहरूले विभिन्न देशमा प्रतिनिधि राखेरै हुण्डी कारोबार गदै आएको र ती कम्पनीले ठूलो आर्थिक चलखेल गरिरहेको उहाँको आरोप छ ।

हुण्डी कारोबारमार्फत नेपालबाट ठूलो मात्रामा लागुऔषध विभिन्न देशमा जाने गरेको छ । हुण्डी नियन्त्रण हुन नसक्दा अन्य किसिमका अपराध पनि बढेको प्रहरीको अध्ययनहरूमा उल्लेख छन् । हुण्डीको अवैध कारोबारसँगै सुन तस्करी पनि मौलाएको छ । लागुऔषध, हतियार तथा सुनलगायत सामान तस्करीमा पनि हुण्डीमार्फत नै आर्थिक लेनदेन हुने गरेको प्रहरीको अध्ययनमा भनिएको छ ।

नेपाल राष्ट्र बैंकले २०७४ सालमा गरेको अनौपचारिक अध्ययनअनुसार नेपालमा भित्रिने रेमिट्यान्सको ३३ प्रतिशत (दुई खर्ब ५० अर्ब) रकम हुण्डी लगायतका गैरकानुनी माध्यमबाट आउने गरेको छ । चालु आर्थिक वर्षको अन्तिम महिनामा रेमिट्यान्सको वृद्धिदर ३१.९ प्रतिशत पुग्दा पनि विदेशी मुद्रा (डलर) सञ्चितिमा सुधार नहुनुको प्रमुख कारण हुण्डी नै भएको अर्थविद्हरू बताउँछन् । अर्थविद्हरूका अनुसार हुण्डी रेमिट्यान्स नै भए पनि यो अनौपचारिक माध्यमबाट आउने भएकाले रेमिट्यान्समा गनिँदैन । जसका कारण कर छली भइरहेको छ । हुण्डीको अनुसन्धान नै नहुने भएकाले निर्वाध रूपमा अर्बौं रकम यसकै माध्यमबाट लेनदेन हुने गरेको बैंकको अध्ययनहरूमा बताइएको छ ।

हुण्डी विश्वासिलो र भरपर्दो छैन : प्रवक्ता डा. भट्ट
नेपालबाट कुनै पनि देशमा पैसा पठाउन हुण्डीका एजेन्टले अफ्नो एजेन्टमार्फत आर्थिक कारोबार गर्दै आएको नेपाल राष्ट्र बैंकको प्रवक्ता डा. गुणाकर भट्टले जानकारी दिनुभयो । विदेशबाट पैसा पठाउँदा बैंकिङ च्यानल प्रयोग नगरी व्यक्ति वा दलालहरूमार्फत पैसा पठाउने कार्य दण्डनीय कार्य भएको उहाँले बताउनुभयो । ‘हुण्डीले रकम आउने क्रमलाई घटाउँदैन । सरकारी तथ्यांकमा मात्रै नदेखिने हो । सरकारी कोषमा विदेशी मुद्रा आउँदैन । अनौपचारिक क्षेत्रबाट आएको रेमिट्यान्सले विदेशी मुद्राको सञ्चिति घटाउँछ । यसले अनधिकृत व्यापार व्यवसायसँगै राजश्वसमेत घटाउँछ ।’ उहाँले भन्नुभयो, ‘औपचारिक च्यानलबाट आएको रकम भने कम देखिन्छ । घर परिवारले पाएको रकम बढिरहेको देखिन्छ । हुण्डी रेमिट्यान्स नै भएपनि यो अनौपचारिक माध्यमबाट आउने भएकाले रेमिट्यान्समा गनिँदैन ।’ हुण्डी विश्वासिलो र भरपर्दो मानिँदैन । केही प्रतिशत कमिशन लिने र कुनै प्रमाण नहुने भएका कारण हुण्डी कारोबारबाट सबै सचेत हुनुपर्ने उहाँको भनाइ छ ।

वैदेशिक रोजगारीमा गएका नेपालीहरूको ठूलो रकम हुण्डीका कारण डुबेको छ : रोजगारविज्ञ पण्डित
नेपालमा हुण्डी ठूलठूला सरकारी अधिकारी, व्यापारिक, राजनीतिक नेताहरू लगायतका सहयोगबाट सञ्चालन भइरहेको आरोप लाग्ने गरेको छ । जसकारण यो कारोबार नियन्त्रण गर्ने समस्या हुने प्रहरीहरूले बताउँदै आएका छन् । हुण्डी कारोबारले रेमिट्यान्समा मात्र होइन । यही कारोबारका कारण कतिपय विदेशमा रहेका नेपालीहरू लुटिएको रोजगारविज्ञ मधुविशाल पण्डित बताउनुहुन्छ । हुण्डी कारोबारले रेमिट्यान्समा असर त गरेको छ । तर, वैदेशिक रोजगारीमा गएका नेपालीहरूको ठूलो रकम हुण्डीका कारण डुबेको उहाँ बताउनुहन्छ । हुण्डी कारोबार नियन्त्रण नगरे यसको असर नेपालको अर्थतन्त्रमा पर्ने उहाँको बुझाइ छ । नेपालमा पछिल्लो समय दैनिक सय किलोभन्दा धेरै सुन तस्करी हुने गरेको छ । यसमा पनि आर्थिक कारोबार हुण्डीमार्फत नै हुने गरेको छ । हुण्डीमार्फत नै एक देशबाट अर्काे देशमा पैसा मात्र होइन सरकारले प्रतिबन्ध लगाएको सामग्री ओसारपसार हुने गरेको प्रहरीले सार्वजनिक कार्यक्रममा बताउँदै आएका छन् । तर, यस विषयमा सरकारले ठोस नीति र कानुनी कारबाही गर्ने सकेको छैन ।

सरकारले विभिन्न माध्यमबाट नेपालबाट विदेशमा पुँजी पलायन भएको ठहर गर्दै आगामी आर्थिक वर्षदेखि पुँजी पलायनलाई नियन्त्रण गर्ने नीति ल्याएको हो । आर्थिक वर्ष ०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक कार्यक्रममा पुँजी पलायनलाई कडाइका साथ नियन्त्रण गर्ने उल्लेख छ । नेपाल राष्ट्र बैंकले भर्चुअल मुद्रा वा क्रिप्टोकरेन्सीको कारोबार र त्यस्ता भर्चुअल मुद्रासँग सम्बन्धित हाइपरफण्ड कोष र पिरामिडमा आधारित नेटवर्क लगायतका कुनै डिजिटल करेन्सीमा लगानी नगर्न सार्वजनिक सूचना जारी गर्दै आएको छ ।

विदेशी विनियम (नियमित गर्ने) ऐनको दफा १२ ले वित्तीय प्रणाली व्यवस्थापनका लागि विभिन्न सूचना जारी गर्ने अधिकारी नेपाल राष्ट्र बैंकलाई दिएको छ । राष्ट्र बैंकले त्यसरी जारी गरेको सूचनाविपरीत काम गर्दा फैजदारी कसुरमा बिगो, जरिवाना सहित ३ वर्षसम्मको कैद सजाय हुन्छ । भने, नेपालमा हुण्डीको कारोबार मौलाउँदै गए पनि राष्ट्र बैंकलाई भने ठोस कार्यक्रमहरू ल्याउन नसकेको आरोप लाग्ने गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?