नेपाल एसिसी यू-१६ इस्ट जोनको फाइनलमा

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । नेपाल एसिसी यू-१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । सोमबार भएको सेमिफाइनल खेलमा सिंगापुरलाई ९७ रनले हराउँदै नेपाल उपाधि नजिक पुगेको हो ।

नेपालले दिएको १८५ रनको लक्ष्य पछ्याएको सिंगापुर ३१.३ ओभरमा सबै विकेट गुमाएर ८७ रनमा समेटियो । सिंगापुरका लागि ओपनर रोशन रविचन्द्रनले ३७ बलमा तीन चौका र एक छक्काको सहयोगमा सर्वाधिक २४ रन बनाउनुभयो । यस्तै, कबिरले १५ बलमा दुई चौकाको सहयोगमा ११ रन बनाउनुभयो ।

सिंगापुरका अन्य नौ ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । अभिषेक तिवारीको पहिलो ओभरको अन्तिम बलमा प्रमुख ब्याटर श्रेयान चयौं दुई रनमा आउट हुनुभयो । दोस्रो विकेटका लागि रोशन रविचन्द्रन र राहिल थकरले ३३ रनको साझेदारी गर्नुभयो । राहिल पनि ३१ बल खेल्दै सात रनमा आउट हुनुभयो । एसलान जाफ्री तीन रनमा अशोक धामीको बलमा बोल्ड आउट हुनुभयो । कबिर ११, रैनक नैक र हरिहरन पाँच-पाँच रनमा आउट हुनुभयो ।

नेपालका कार्तिक कामतले २.३ ओभरमा नौ रन खर्चेर तीन विकेट लिनुभयो । स्पिनर सन्तोष यादवले सात ओभरमा तीन मेडनसहित पाँच रन खर्चेर एक विकेट लिनुभयो । नरेन भट्टले सात ओभरमा तीन मेडनसहित चार रन खर्चेर एक विकेट हात पार्नुभयो ।

त्यसअघि मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित ३५ ओभरमा नौ विकेट गुमाउँदै १८५ रन बनाएको थियो । नेपालको जितमा ओपनर निरजकुमार यादव ४२ र सुर्यांशु कोइरालाले ४३ रन जोड्नुभयो ।

नेपाललाई ओपनर सुर्यांशु कोइराला र निरज यादवले पहिलो विकेटका लागि ११.३ ओभरमा ६३ रनको साझेदारी गर्नुभएको थियो । सुर्यांशुले ४९ बलमा ६ चौकासहित ४३ रन बनाउनुभयो । विकेटकिपर आशिष लुहार ६ रनमा क्याच आउट हुनुभयो ।

मध्यक्रमका ब्याटर सन्तोष यादव २४ बलमा दुई चौकासहित १८, प्रतीक भट्टराई १२ तथा कप्तान अभिषेक तिवारीले २१ बलमा एक चौका र एक छक्कासहित २५ रन बनाउनुभयो । सिंगापुरका हरिहरनले सात ओभरमा ३१ रन खर्चेर तीन विकेट लिनुभयो । कप्तान हर्ष वेंकटरामले सात ओभरमा ३२ रन खर्चेर दुई विकेट हात पार्नुभयो ।

नेपालले अब मंगलबार फाइनलमा मलेसियासँग खेल्नेछ । मलेसियाले अर्को सेमिफाइनल खेलमा हङकङलाई हराउँदै फाइनलमा स्थान बनाएको छ । समूह चरणमा नेपालले मलेसियालाई ८४ रनले हराएको थियो । त्यसअघि नेपालले थाइल्याण्डलाई २२५ रनले पराजित गरेको थियो । मलेसियाले थाइल्याण्डलाई ११८ रनले हराउँदै सेमिफाइनल खेलेको थियो ।

सिनियर टोलीले आज आयरल्याण्डसँग खेल्दै
नेपाली सिनियर क्रिकेट टोलीले मंगलबार आइसिसी विश्वकप छनोटअन्तर्गत आफ्नो अन्तिम खेल टेस्ट टोली आयरल्याण्डसँग खेल्दैछ । नेपाल र आयरल्याण्डबीचको खेल मंगलबार नेपाली समयअनुसार मध्याहृन पौने १ बाट सुरु हुनेछ ।

नेपालले आयरल्याण्डसँग ओडिआई खेल खेल्न लागेको यो पहिलोपटक हो । आयरल्याण्ड नेपालले ओडिआई खेल्न लागेको तेस्रो टेस्ट मान्यता प्राप्त मुलुक हो । नेपालले सातौँ स्थानका लागि भएको दोस्रो सेमिफाइनल खेलमा आइतबार युएईलाई हराउँदै आयरल्याण्डसँग भेट पक्का गरेको हो । सातौँ स्थानका लागि नेपालले आयरल्याण्डसँग खेल्नेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?