रामग्राममा महिला स्वास्थ्य शिविर

हिमालय टाइम्स
Read Time = 3 mins

नवलपरासी । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले महिलालाई स्तन पाठेघरको मुख क्यान्सर तथा आङ खस्ने रोगसम्बन्धी स्वास्थ्य शिविर सञ्चालन गरेको छ । नगरपालिकाको स्वास्थ्य शाखाले निःशुल्क शिविर नगरका १८ वटै वडालाई लक्षित गरी छवटा स्वास्थ्य चौकीमार्फत् सञ्चालन गरेको हो । महिलामा स्तन पाठेघरको मुख क्यान्सर तथा आङ खस्ने समस्या बढ्दै गएकाले समयमै पहिचान गरी निराकरण गर्ने उद्देश्यले शिविर सञ्चालन गरिएको नगरपालिकाको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक सुरज हरिजनले जानकारी दिनुभयो ।

कतिपय महिलाले समस्या लुकाउनेभन्दा नजिकको स्वास्थ्य चौकीमा सहजता पुग्ने गरी शिविर सञ्चालन गरिएको उहाँको भनाइ थियो । शिविरमा एक सय २७ जनाले परीक्षण गरेका छन् । ३० वर्षदेखि ६० वर्षका महिलालार्ई लक्षित गरी शिविर सञ्चालन गरिएको सुक्रौली स्वास्थ्य चौकी प्रमुख बलराम सापकोटाले बताउनुभयो । उहाँका अनुसार ११ गतेदेखि १७ गतेसम्म शिविर सञ्चालन भएको हो ।

अमरवन स्वास्थ्य चौकीमा १८ जनाको स्तन पाठेघरको मुख क्यान्सर तथा आङ खस्ने परीक्षण गर्दा एकजनामा पाठेघरको मुखको क्यान्सर शंकास्पद देखिएको र एकजनामा आङ खस्ने पहिचान भएको, देवगाउँ स्वास्थ्य चौकीमा २४ जना महिलालाई परीक्षण गर्दा तीनजना पाठेघरको मुख क्यान्सर शंकास्पद देखिएको र दुईजनालाई आङ खस्ने समस्या देखिएको उहाँले बताउनुभयो ।

त्यस्तै हकुई स्वास्थ्य चौकीमा १८ जना महिलालाई परीक्षण गर्दा एकजनामा पाठेघरको मुख क्यान्सर र दुईजनालाई आङ खस्ने समस्या देखिएको, सुक्रौली स्वास्थ्य चौकीमा ३६ जनाको परीक्षण गर्दा दुईजनामा पाठेघरको मुखको क्यान्सर शंकास्पद देखिएको सापकोटाले जानकारी दिनुभयो । स्वास्थ्य चौकीमा सातजना परीक्षण गर्दा एकजनामा आङ खस्ने समस्या देखिएको र वडा ११ मा रहेको आधारभूत स्वास्थ्य केन्द्रमा २४ जनालाई परीक्षण गर्दा एकजनामा आङ खस्ने समस्या देखिएको बताइएको छ ।

शिविरमा सिअनमी रम्भा चौधरी र सिअनमी गंगा भट्टराईले परीक्षण गरेको स्वास्थ्य शाखाले जनाएको छ । नेपालमा सबैभन्दा बढी पाठेघरको मुखको समस्या देखिने गरेको छ । पाठेघरको मुख शंकास्पद देखिएकोलाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइने नगरपालिकाले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?