पहिराले महाकाली लोकमार्ग अवरुद्ध

रासस
Read Time = 2 mins

खलङ्गा । वर्षासँगै आएको बाढी र पहिराका कारण महाकाली लोकमार्ग अवरुद्ध भएको छ । शैल्यशिखर नगरपालिका-६ पनेबाज क्षेत्रमा पहिरो खस्दा महाकाली लोकमार्गअन्तर्गतको गोकुलेश्वर-खलङ्गा सडक क्षेत्र बन्द भएको हो ।

सोमबार रातिदेखि सुरु भएको वर्षासँगै ठाउँ-ठाउँमा खसेको पहिराले सडक अवरुद्ध भएको छ । खलङ्गाबाट महेन्द्रनगर-काठमाडौँका लागि छुटेका बस सडक अवरुद्ध हुँदा बाटोमै रोकिएका छन् ।

पानी पर्दा बेला-बेलामा महाकाली लोकमार्गअन्तर्गत गोकुलेबाट पनेबाज-ऐरीछानासम्म सडक अवरुद्ध हुने गरेको छ । सडक अवरुद्ध भएपछि छोटो तथा लामो दूरीका सवारीसाधन गन्तव्यमा पुग्न सकेका छैनन् ।

महेन्द्रनगर, धनगढीबाट खलङ्गाका लागि छुटेका रात्रिबससमेत बाटोमै रोकिएका कारण यात्रु समस्यामा परेका छन् । पहिरो सफा गर्न बिहानैदेखि डिभिजन सडक बैतडी पाटनको लोडरले प्रयास गरिरहेको भए पनि लगातार परिरहेको वर्षाका कारण अवरुद्ध लोकमार्ग खुलाउन समस्या भएको सडक विभागका सुपरभाइजर राजेन्द्रसिंह धामीले जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?