मुग्लिन-नारायणगढ सडक खण्डको पहिरोले यात्रुहरु बर्षैनी मारमा

फाइल तस्बिर

बाबुराम श्रेष्ठ धादिङ, संवाददाता
Read Time = 10 mins

धादिङ । अर्बौं रुपैयाँ खर्च गरेर स्तरोन्नति गरिएको नारायणघाट-मुग्लिन सडक खण्डमा यो वर्षको मनसुनी वर्षाका कारण पहिरो जाँदा पटक पटक अवरुद्ध बनेको छ । वर्षायाम सुरु भएसँगै मुग्लिन-नारायणगढ सडक खण्डमा यात्रुहरुले सास्ती खेप्दै आएका छन् । अन्य समयमा उक्त सडक खण्डमा सामान्य सास्ती खेपेको भएपनि वर्षायामको समयमा भने ठुलै समस्या भोग्न समेत बाध्य छन् । असार महिना सुरु भएलगत्तै मुग्लिन-नारायणगढ सडक खण्डमा पहिरो जान थालेपछि यात्रुहरुले निकै कष्ठकर साथ यात्रा गर्न गरिरहेका छन् ।

लामो समय सम्म लगाई तीन अर्ब रुपैयाँ खचेर पुनर्निर्माण गरिएको मुग्लिन-नारायणगढ सडक खण्डमा वर्षायाम सुरु भएयता बारम्बार पहिरो गएर कहिले सडक एकतर्फी त कहिले बन्द नै गर्नुपरेको छ । मनसुनको शुरु भएसँगै चितवनको मुग्लिन नारायणगढ सडकमा पुनः सास्ती सुरु भएको छ । पहिरोले सडक अहिले अस्तव्यस्त बन्न पुगेको छ । गत असार १४ गते बिहीबार सुख्खा पहिरो खसेपछि अस्तव्यस्त भएको सडक प्रत्येक दिन बन्द हुने गरेको छ । बिहीवार दिउँसो सडक खण्ड अन्तर्गत इच्छाकामना गाउँपालिका-५ को तीन नम्बर पुलमा सुक्खा पहिरो खसेर सडक बन्द भएको थियो । वर्षायाम लागेदेखि नै देशका विभिन्न भागमा राजमार्ग, सहायक राजमार्ग र ग्रामीण सडकहरु अवरुद्ध छन् ।

राजधानी काठमाडौं, पर्यटकीय शहर पोखरालगायत क्षेत्रका लागि लाइफलाइन सडक खण्डका रुपमा परिचित ‘मुग्लिन-नारायणगढ सडकखण्ड’ पटक-पटक घण्टौंसम्म अवरुद्ध भइरहँदा सार्वजनिक तथा निजी सवारीका यात्री प्रभावित छन् । मालवाहक सवारीहरु पनि राजमार्गमा नै रोकिंदा काठमाडौंको आपूर्ति प्रणालीमा समेत असर गरिरहेको छ । ४ वर्षअघि डेडिकेटेड २ लेनमा विस्तार गरेसँगै हरेक वर्ष यो सडक खण्डका नयाँ-नयाँ ठाउँमा पहिरोहरु खसिरहेका छन् । यो खण्डमा जानसक्ने पहिरोहरुबारे विश्व बैंकले अध्ययन गरिरहँदा पहिरोले चरम सास्ती दिएको छ ।

करिब ४० करोड खर्च गरेर भएका काम पहिरो रोक्न पर्याप्त भएको छैन । सडकमा खस्न सक्ने पहिरोहरू रोक्न सिन्को नभाँच्ने सरकार वर्षायाममा बाटो रोकिरहेका पहिरो पन्छाउन पनि सुस्त गतिमा काम गरिरहेको छ । यसले यात्रीका लागि सडकहरु ‘सकस मार्ग’ बन्न पुगेका छन् । घण्टौं जाममा पर्दा धेरै यात्री चिउरा र चाउचाउ खाएर भोक मेटिरहेका छन् । स्थानीय होटलहरुमा छोइनसक्नुको महँगी छ । जाममा गाडी रोकिंदा कसैको परीक्षा छुटिरहेको छ भने कसैको विदेश जाने फ्लाइट । कोही बिरामी सडकमै रोकिएका बसमा औषधि अभावले छटपटाइरहेका छन् । महिला, बालबालिका र वृद्धवृद्धा यात्रीलाई थप सास्ती छ । यसका कारण देशको सार्वजनिक सडकहरू व्यवस्थापनमा प्रश्न उठेको छ ।

संघीय राजधानी काठमाडौको लाइफ लाइन मानिएको नारायणगढ-मुग्लिन सडकको यात्रा पहिरोका कारण कष्टकर र अनिश्चित बनेको छ । यसअघि पहिरो रोकथामको कामपछि झण्डै ३० ठाउँको पहिरो नियन्त्रण भएको भए पनि पछिल्ला वर्ष नयाँ ठाउँमा पहिरो देखिएको र तीमध्ये केही निकै जटिल रहेका सडक डिभिजन कार्यालय, भरतपुरले जनाएको छ । बर्खा लागेसँगै नारायणगढ-मुग्लिन सडक खण्डमा पटक-पटक पहिरो जाने र बाटो बन्द हुने गरेको छ ।

यो सडक खण्ड भएर दैनिक हजारौँ गाडी आउजाउ गर्छन् । उक्त सडक खण्ड कहिले पहिरो त कहिले सवारी दुर्घटना, कहिले ठुला सवारी साधन बीचबाटो मै विग्रिदा मुग्लिन सडकखण्डको यात्र सकसपूर्ण बन्ने गरेको छ । गत बिहीबार नारायाणघाट मुग्लिन सडक खण्डको तीन किलो भन्ने स्थानमा पहिरो खसेपछि साना तथा ठूला सवारी बीच बाटोमै रोकिए । सुख्खा पहिरो खसेर अवरुद्ध भएको उक्त सडक खण्ड २८ घण्टापछि सञ्चालनमा आयो । तर सडक सञ्चालनमा आएको केही घण्टा मै पुनः सोही स्थानमा पहिरो जाँदा सडक अवरुद्ध हुन पुग्यो । त्यसको मार यात्रुलाई नै हो ।

पहिरोका कारण अबरुद्ध भएको सडक खुलाउन जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख रामेश्वर कार्कीको टोली नै खटिए । मेसिन लगाएर पहिरो हटाउन सडक विभागका मजदुरलगायत ईन्जिनियर पनि तैनाथ अबस्थामा खडा थिए । पहिरो हटाउँदै गए फेरी पहिरो खस्छ जसले गर्दा सवारी सञ्चालन गर्न निकै कठिन भयो । त्यसो त नारायणगढ मुग्लिन सडक वर्षाको समयमा आफैँमा जोखिम क्षेत्र पनि हो । वर्षा लागेपछि यहाँ सवारीलाई ठूलै सास्ती हुन्छ ।

गत बिहीबार यता यो सडकमा पहिरो खसेर सडक अवरुद्ध हुने र खुलाउने क्रम अझै रोकिएको छैन । गत महिना पहिरो तथा अन्य कारण उक्त सडक खण्ड तीन पटक अवरुद्ध भएको सडक विभागको तथ्याङ्क छ । विश्व बैंकको ऋण सहयोगमा झन्डै तीन वर्ष अघि उक्त सडक खण्डको पुनर्स्थापना तथा पुनर्निर्माण कार्य सम्पन्न गरिएको थियो । लगत्तै सडकसँगको भिरालो भू-बनोट संरक्षण गर्न पुनः विश्व बैंककै सहयोगमा मूल्याङ्कन गरी २६ स्थानमा त्यसको काम सुरु गरिएको थियो ।

नारायणघाट-मुग्लिन सडकको चार किलोमिटर, १४ किलोमिटर र २० किलोमिटरमा पहिरोको उच्च जोखिम छ । विशेष गरी मनसुनको समयमा तीन ठाउँमा बाढी पहिरोले अवरोध सृजना गर्ने गरेको छ । नारायणघाट-मुग्लिन खण्डको २६ स्थानमा भिरालो जमिन संरक्षणमा लगभग ३६ करोड लगानी भएको पाइएको छ । सडक विभागले जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकासहितका अन्य दातृ निकायहरूलाई समेत अध्ययन गरेर निकास के हुन सक्छ भनेर निष्कर्ष निकालिदिन अनुरोध गरिने तयारी छ । तीन वर्ष लगाएर सम्पन्न भएको सडक पुनर्स्थापनाको कार्य पश्चात् गत आर्थिक वर्षमा २४ स्थानमा भिरालो जमिन संरक्षणको काम सम्पन्न भैसकेको छ, भने अन्य स्थानमा बाँकी छ ।

मुग्लिन-नारायणगढ सडक खण्डमा बाटो चौडा गर्ने, कलभर्ट बनाउनेभन्दा भिरालो भागलाई स्थिर बनाउनु आवश्यक छ । राजमार्ग र पृथ्वीराजमार्ग क्षेत्रमा पहिरो हटाउन पाँच वटा डोजर तयारी अवस्थामा राखिएको छ । काठमाण्डौ भित्रिने र बाहिरिने मुख्य लाइफलाइन मानिएको यो सडक हुँदै दैनिक १० हजारभन्दा धेरै गाडी आवतजावत गर्छन् । सडकको स्तरोन्नतिका क्रममा धेरैजसो ठाउँमा भित्तो काटिएकाले यो सडक खण्डमा पहिरोको जोखिम उच्च छ ।

२०३१ सालमा खुलेको पृथ्वी राजमार्ग २०४८ सालमा आवधिक मर्मत गर्दा भित्तातर्फ सुधारको काम भएनन् । सवारीको अत्यधिक चाप झेलिरहेको पूर्व-पश्चिम राजमार्ग २०४२ सालमा बनेपछि भत्किंदा टाल्नेबाहेक पुनर्निर्माण (रिह्याब) भएको छैन । कतिपय खण्ड भत्किंदा मर्मत गरिए पनि सरकारले राजमार्गको पुनर्निर्माणमा चासो दिएको छैन । अब चार लेनमा सडक विस्तार गर्दा पनि राजमार्गका दायाँ-बायाँ प्रकोपबाट हुने जोखिम घटाउने गरी बलिया पूर्वाधार बनाउनेतर्फ खासै योजना बनेका छैनन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?