अभिव्यक्ति शैलीका लागि नृत्य सुन्दर उपहार : शेखर घर्तीमगर

गीता अधिकारी
Read Time = 12 mins

सुर्खेतको मेलकुनामा जन्मिनुभएका शेखर घर्तीमगर यतिबेला नृत्यमार्फत आफ्नो पहिचान कायम गर्न सफल हुनुभएको छ । सानो उमेरमा नै धेरै सफलताको सिँढी चढ्नुभएका उहाँको नृत्यले चर्चा पाइरहँदा थुपै सफलता चुम्न सफल हुनुभएको छ । नेपाल टेलिभिजनको डान्स रियालिटी शो ‘छमछमी ३’को सकेण्ड रनरअप, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, जापान शाखाले आयोजना गरेको अनलाइन मौलिक लोकनृत्य प्रतियोगिताको विजेता, अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास)ले गरेको अनलाइन डान्स कम्पिटिसनमा फष्ट रनरअप, टेलिभिजन रियालिटी शो डान्सिङ स्टार्स नेपालमा प्रीति आलेमगर सँगको जोडीमा फष्ट रनरअप । यस्तै, नाचघरले आयोजना गरेको खुल्ला देशव्यापी नृत्य प्रतियोगिताको विजेता जस्ता नृत्यका विभिन्न पिलेटर्फमा आफूलाई अब्बल प्रस्तुत गनुएभएको छ उहाँले । देशका विभिन्न ठाउँमा स्टेज प्रर्फमन्सका रूपमा आफ्ना प्रस्तुतिमार्फत वाहीवाही बटुल्न सफल शेखर विदेशका विभिन्न ठाउँमा गएर चर्चा बटुल्न सफल हुनुहुन्छ । उहाँले हङ्कङ, भारतका विभिन्न ठाउँ, बंगलादेश र बेलायतमा गएर आफ्नो कला प्रस्तुत गर्नुभएको छ । अभिव्यक्ति शैलीका लागि नृत्य सुन्दर उपहार रहेको बताउनुहुने कोरियोग्राफर एवं नृत्यकार शेखर घर्तीमगरसँग हिमालय टाइम्सका लागि गीता अधिकारीले गर्नुभएको कुराकानीको संक्षिप्त अशंः-

यहाँले सानै उमेरमादेखि उपलब्धि हासिल गरेजस्तो लाग्दैन ?
हो, तपाईंले भनेजस्तै मलाई धेरैले भन्नुहुन्छ । सानै उमेरमा धरै प्रगति गर्‍यो भनेर ।

नृत्यतर्फ कसरी आकर्षित हुनुभयो ?
म सानोमा जतिबेला पनि नाचिरहेको हुन्थे । मेरा हाउभाउले नृत्य गरिरहेको हुन्थे । यही सानैदेखिको लगावले नै होला विस्तारै बढ्दै जाँदा म यसतर्फ धेकेलिए ।

विभिन्न नृत्य प्रतियोगिताका विजेता पनि हुनुभयो ?
हो, नेपाल टेलिभिजनको डान्स रियालिटी शो ‘छमछमी ३’ को सकेण्ड रनरअप भए । यस्तै, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, जापान शाखाले आयोजना गरेको अनलाइन मौलिक लोकनृत्य प्रतियोगिताको विजेता भए । यस्तै, अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास)ले गरेको अनलाइन डान्स कम्पिटिसनमा फष्ट रनरअप भए, टेलिभिजन रियालिटी शो डान्सिङ स्टार्स नेपालमा प्रीति आलेमगर दिदीसँगको हाम्रो जोडी फष्ट रनरअप भयो । यस्तै, नाचघरले आयोजना गरेको खुल्ला देशव्यापी नृत्य प्रतियोगिताको विजेता भएर नाचघरको विजेता भएपछि त्यहाँ एक वर्षमा करारमा जागिरसमेत खाए ।

हामीले दैनिक गर्ने कार्य पनि एक नृत्य नै हो भने हिँडाइ पनि नृत्य हो । यस्तो सुन्दर विधालाई आफ्नो जीवनयात्राको सारथि बनाउँदै हिँड्न पाएकोमा आफूलाई भाग्यमानी ठान्दछु । नृत्य एक कला हो, जसले लयबद्ध वा संगीतको तालमा शरीरको चाललाई दर्शाउँछ । नृत्य विधा सृष्टिकै अभिव्यक्ति शैलीका लागि सुन्दर उपहार हो ।

नृत्यका लागि देशका विभिन्न ठाउँ र विदेशमा गएर यहाँले आफ्नो प्रस्तुति दिएको पाइन्छ नि ?
तपाईंले भनेजस्तै देशका विभिन्न ठाउँमा गएर आफ्नो प्रस्तुति दिएको छु भने विदेशमा हङ्कङ, भारतका धेरै ठाउँमा, निर्वतमान राष्ट्रपति विद्यादेवी भण्डारीको बंगलादेशमा भएको राजकीय भ्रमणमा त्यहाँ प्रस्तुति दिएको छु । युकेमा पनि रहेर आफ्नो प्रस्तुति दिएको छु ।

युकेमा त यहाँ प्रशिक्षकका रूपमा पनि रहनुभयो ?
हो, म ६ महिनाजति युेकमा बसेर नृत्य प्रशिक्षण गर्नुका साथै त्यहाँका वभिन्न ठाउँमा आफ्नो प्रस्तुति दिए ।

यहाँले कतिजति भिडियोमा आफ्नो प्रस्तुति दिनुभएको छ ?
यस्तै ५० जति गीतका भिडियोमा नृत्य र कोरियोग्राफरका रूपमा आफूलाई प्रस्तुत गरेको छु । चलचित्र प्रदेशी–२ को गीतमा पनि नृत्य र कोरियोग्रिफ गरेको छु ।

यो नृत्यलाई कसरी परिभाषित गर्नुहुन्छ ?
नृत्य एक कला हो, जसले लयबद्ध वा संगीतको तालमा शरीरको चाललाई दर्शाउँछ । भनिन्छ, नृत्यबिना संसार अधुरो हुन्छ । नृत्य विधा सृष्टिकै अभिव्यक्ति शैलीका लागि सुन्दर उपहार हो । नृत्य विधामा प्राणीमात्र होइन सारा प्राकृति नै आ–आफ्नो भाव व्यक्त गरी नाचिरहेका हुन्छन् । नाचबिना यो संसार अस्थिर छ  । हामीले दैनिक गर्ने कार्य एक नृत्य नै हो भने हिँडाइ पनि नृत्य हो । यस्तो सुन्दर विधालाई आफ्नो जीवनयात्राको सारथि बनाउँदै हिँड्न पाएकोमा आफूलाई भाग्यमानी ठान्दछु । नृत्यको परिभाषा अपार छ यसलाई परिभाषित गर्न सकिँदैन ।

नृत्य के हो ?
नृत्य भावना र मानवीय संवेदनाको अभिव्यक्ति हो । नृत्य उत्साहको प्रतीक हो । नृत्य दर्शन पनि हो । बिहे, व्रतबन्धलगायत कुनै जीवन उन्मुख क्रियाकलाप नृत्यबिना परिपूर्ण मानिँदैन ।

पछिल्लो समय नृत्यको लोकप्रियता बढेको हो ?
नृत्यको लोकप्रियता जहिल्यै थियो । मनोरञ्जनका लागि यसलाई लिइन्थ्यो । पछिल्लो समय सञ्चारका विभिन्न माध्यम र सामाजिक सञ्जालका कारण यसको लोकप्रियता बढेको पाइन्छ । नृत्यको लोकप्रियता बढेसँगै स्वास्थ्यलाई राम्रो गर्ने भएकाले जुम्बा, हिपहप, ब्रेक डान्स, बालेट, साल्सालगायत नाच प्रचलनमा देख्न पाइन्छ ।

विस्तारै यो व्यावसायिक उन्मुख हुँदै गएको हो ?
समयको विकासक्रमसँगै नृत्य पेशा व्यावसायिकतातर्फ उन्मुख हुन थालेको हो  । नाच्न सिकाउने प्रशिक्षक भएर वा कार्यक्रममा नृत्य प्रस्तुत गरेर धेरै मानिसले आफ्नो जीवनलाई उत्साहपूर्णरूपमा व्यतीत गरिरहेका छन् । फेरि नृत्य गरेर नै अहिले जीविका चलाउनमात्र होइन राम्रो लाइफ स्टाइल नै व्यतीत गरिरहेका छन् । यसकारण लोकप्रियता बढेको छ ।

नेपालमा यसको विकास हुँदै गएको हो ?
हो, हामीकहाँ नृत्यकलाको संस्कृति, परम्परा एवं संस्कार विकसित भएको छ । हुन त यो परम्परागत रूपमै थियो, अझ विकास गर्न जरुरी छ । विभिन्न लोकनृत्य लोप हुने अवस्थामा भएकाले यसको अनुसन्धान हुन आवश्यक छ  । लोकनृत्यलाई जात्रा, पर्वको नृत्य नभई यसलाई पाठ्यक्रममा समावेश गर्नुपर्छ । नवदुर्गा, चर्या, लाखे, धिमे, तामाङ सेलोजस्ता लोकनृत्यलाई विकास गर्नुपर्छ । नृत्य भनेको कलामात्र नभएर स्वास्थ्यका हिसाबले पनि राम्रो हुन्छ  । नृत्य भनेको सबै व्यक्तिले नै गर्नुपर्छ ।

स्वास्थ्यका दृष्टिले पनि यसलाई हेर्न थालिएको छ नि ?
हो हामीले केही चर्चा गर्‍यौं । नृत्यबाट अनेक फाइदा हुने भएकाले यसलाई उपयोगी कसरतका रूपमा लिने गरिन्छ । बिहानको केही समय नृत्यको अभ्यास गर्ने गरेको पाइन्छ, नाच्नाले हृदय तथा फोक्सोको अवस्थामा सुधार आउने बताइन्छ  । नृत्यले मांसपेशी बलियो बनाउन सहयोग गर्छ, हड्डी बलियो बनाउन महत्वपूर्ण भूमिका खेल्दछ । यसर्थ नृत्यका अनेक फाइदा छन् ।

मौलिक लोकनृत्य विस्तारै लोप हुने अवस्थामा रहेको पाइन्छ भनिन्छ नि ?
तपाईंले भनेजस्तै नेपाली मौलिक लोकनृत्य विस्तारै लोप हुने अवस्थामा छन् । कठघोरी, कर्मधर्मा, करहवा, करियाझुमरी, कुर्मी ख्याली, कौराहा, घसकट्टी, चण्डीजस्ता नृत्य पछिल्ला पुस्ताले सुनेका छैनन् । नेपालमा १६७ बढी लोकनृत्य रहेका छन् । सरकारले यसको संरक्षण र सम्बद्र्धन गर्न जरुरी छ ।

यो क्षेत्रलाई अझ समृद्ध गर्न कस्तो सुझाब दिनुहुन्छ ?
यसको महत्वलाई बुझेर संरक्षण र सम्बद्र्धनमा जोड दिनुपर्छ । यस क्षेत्रमा लागेकालाई विशेष हौसला प्रदान गर्न आवश्यक छ । परम्परालाई पछ्याउँदै नवीनतालाई प्राथमिकता दिनुपर्छ भन्ने लाग्छ ।

Subscribe
Notify of
guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
hemant chand thakuri
hemant chand thakuri
2023-07-09 8:39 pm

East or west mero dai is best
proud of uh mero shekar dai

रिलेटेड न्युज

छुटाउनुभयो कि ?