एसियाडका लागि कुस्तीको प्रशिक्षण भारतमा

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । चीनको हाङझाउमा हुने १९औँ एसियाली खेलकुदको थप तयारी गर्न नेपाली कुस्ती टोली वैदेशिक प्रशिक्षणका लागि भारतको उत्तर प्रदेश जाने भएको छ । चार खेलाडीसहित पाँच सदस्यीय टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव टंकलाल घिसिङले राम्रो तयारी गर्न उत्पे्ररित गर्दै बिदाइ गर्नुभयो ।

वैदेशिक प्रशिक्षणका लागि जान लागेका चारै खेलाडी १३औँ दक्षिण एसियाली खेलकुदका पदक विजेता हुनुहुन्छ । पुरुष खेलाडीमा सुरेश चुनारा (७४ केजी) र राज यादव (१२५ केजी) तथा महिलामा शिवाङ्गी दुवे (५७ केजी) र सुशिला चन्द (६२ केजी) रहनुभएको छ । १३औँ सागमा सुरेश र राजले कांस्य तथा बाँकी दुई खेलाडीले रजत जित्नुभएको थियो । प्रशिक्षकमा कुस्तीका मुख्य प्रशिक्षक मुमताज अली इद्रिसी हुनुहुन्छ ।

त्यसअघि नेपाली टोलीले नेपालगञ्जमा एक साताको प्रशिक्षण गर्नेछ । नेपालगञ्जबाट नै नेपाली टोली उत्तर प्रदेश जानेछ । उत्तर प्रदेशको नन्दनी नगरस्थित टाटा मोटर्स एकेडेमीमा भदौसम्म खेलाडी प्रशिक्षणमा रहने मुख्य प्रशिक्षक इद्रिसीले जानकारी गराउनुभयो । खेलाडी सुरेशले पहिलोपटक अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारीका लागि वैदेशिक प्रशिक्षणमा जान पाउँदा सबै खेलाडी उत्साहित भएको प्रतिक्रिया दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?