दौडमा धर्म र कल्पना पहिलो

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । पूर्वधावक एवं गीतकार बुद्धवीर लामाको एकल सांगीतिक प्रस्तुतिको पूर्वसन्ध्यामा आयोजित भेट्रान ५ किलोमिटर शुभकामना दौडमा धर्म महर्जन र कल्पना महर्जन बिहीबार पहिलो हुनुभएको छ । धर्म पुरुष तथा कल्पना महिलामा पहिलो हुनुभएको हो ।

अन्तर्राष्ट्रिय भेट्रान प्रतियोगिताका पदक विजेता एवं विश्वका प्रसिद्ध म्याराथन लण्डन, बोस्टन, बर्लिन, टोकियोलगायतका म्याराथन दौडिसक्नुभएका धर्मले निर्धारित दूरी १८ मिनेट ४८ सेकेण्डमा पूरा गर्नुभयो । भीमबहादुर गुरुङ दोस्रो तथा राजेश महर्जन तेस्रो हुनुभयो । बैकुण्ठ मानन्धर खेलकुद नेपाल र प्रयास मञ्च नेपालद्वारा संयुक्तरूपमा आयोजित दौडमा कल्पनाले निर्धारित दूरी २८ मिनेट ४० सेकेण्डमा पूरा गर्नुभयो । याङदी लामा शेर्पा दोस्रो तथा सीता रिमाल तेस्रो स्थानमा रहनुभयो ।

बुद्धवीर लामाको एकल सांगीतिक प्रस्तुतिको पूर्वसन्ध्यामा प्रत्येक वर्ष आयोजना गरिने शुभकामना दौडमा ६७ प्रतिस्पर्धी सहभागी हुनुहुन्थ्यो । १२औँ संस्करणको सांगीतिक प्रस्तुति यो वर्षको अगष्टमा इंल्याण्डको लण्डनमा हुँदै छ । १०औँ अमेरिकामा भएको थियो ।

‘स्वास्थ्यका लागि दौड, राष्ट्रका लागि दौड’ नारा दिइएको दौडमा बुद्धवीर लामा आफैं पनि दौडिनुभएको थियो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को हाताबाट सुरु भएको दौड विभिन्न भागको परिक्रमा गरी राखेपमै आएर टुंगिएको थियो ।

विजेतालाई एथलेटिक्सका पूर्वप्रशिक्षक मधुशमशेर राणा, नेपाल भलिबल संघकी पूर्वसदस्य एवं समाजसेवी ज्योति केसीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गर्नुभयो । त्यसअघि दौडको दक्षिण एसियाली खेलकुदका कीर्तिमानी पूर्वधावक बैकुण्ठ मानन्धरले उद्घाटन गर्नुभएको थियो । सो अवसरमा तीनपटककी एभरेष्ट म्याराथन विजेता याङदी लामा शेर्पा, धावकद्वय पुष्पलाल महर्जन र लाक्पा शेर्पा लामालाई प्रशंसापत्रसहित सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?