प्रहरीलाई काम गर्न सहज : कुँवर

संगठनको सुधार र रूपान्तरणका लागि अहिले उपयुक्त अवसर

कृष्ण भुसाल
Read Time = 10 mins

काठमाडौं । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रहरी संगठनको सुधार र रूपान्तरणका लागि अहिले उपयुक्त अवसर रहेको बताउनुभएको छ । शुक्रबार प्रहरी प्रधान कार्यालयमा पत्रकार भेटघाट आयोजना गर्दै उहाँले प्रहरी संगठनलाई राजनीतिक नेतृत्वबाट राम्रो सहयोग प्राप्त भएको पनि स्पष्ट पार्नुभयो । उहाँले संगठनको रूपान्तरण र विकासका लागि वातावरण राम्रो रहेको तर स्रोतसाधनको कमी र राष्ट्रको ढुकुटी रित्तिएका बेला चुनौती भने धेरै रहेको बताउनुभयो । सामान्य नीतिगत निर्णय गरेर के गर्न सकिन्छ भन्ने कुरामा आफू गम्भीर रहेको उहाँको भनाइ थियो ।

महानिरीक्षक कुँवरले वर्तमान राजनीतिक नेतृत्वबाट प्रहरीलाई काम गर्न सहज रहेको पनि बताउनुभयो । उहाँले अहिलेको सरकार संगठन रूपान्तरण र विकास गर्ने हकमा राम्रो रहेको बताउनुभयो । उहाँले साधन स्रोतको कमी, देशको आर्थिक अवस्था कमजोर भएका कारणले प्रहरी प्रशासनलाई केही कठिनाइ भएको पनि बताउनुभयो । उहाँले जिल्लाबाटै साइबर अपराधको मुद्दा निक्र्योल गर्ने सरकारको निर्णयले थप सहयोग पुगेको बताउनुभयो । प्रहरी प्रशासनलाई बलियो बनाउनका लागि गृह मन्त्रालयबाट राम्रो सहयोग मिले पनि अन्य निकायबाट भने अनुसारको सहयोग नपाएको गुनासो गर्नुभयो । उहाँले प्रहरी समायोजनको विषय सरकारले तोकेको समयमा नै हुने विश्वास रहेको र सरकारको निर्णयमा आफूहरू कार्यान्वयनका लागि तयार रहेको बताउनुभयो ।

महानिरीक्षक कुँवरले संगठनमा आफ्नो कुनै स्वार्थ नरहेको तर केही जिज्ञासा भएमा सिधा फोनबाट जानकारी लिन सकिने पनि बताउनुभयो । समाज सुधार तथा सुशासन कायम गर्नका लागि होस्टेमा हैँसे गर्न आफू तयार रहेको उहाँको भनाइ थियो ।

सो अवसरमा नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक कुवेर कडायतले चालु आर्थिक वर्षको त्रैमासिक तुलनात्मक अपराध तथ्यांक प्रस्तुत गर्दै राष्ट्रियस्तरमा चर्चित उल्लेख्य अपराध अनुसन्धान, अवैध हातहतियार बरामद, नष्ट तथा मानिस पक्राउ, सवारी दुर्घटना, विपद् व्यवस्थापन, नेपाल प्रहरीबाट भएका नयाँ कार्यहरू, अन्तर्राष्ट्रिय प्रहरी समन्वय लगायतका विषयमा जानकारी दिनुभएको थियो । उक्त विषयहरूमा सञ्चारकर्मीहरूद्वारा राखिएका जिज्ञासाहरूको उहाँले निरूपणसमेत गर्नुभएको थियो ।

कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालयका प्रहरी नायव महानिरीक्षक विष्णुकुमार केसीले नेपाल प्रहरी कार्ययोजना-२०८० को संक्षिप्त प्रस्तुतीकरण गर्दै कार्ययोजनाको परिचय, उद्देश्य, मुख्य लक्ष्यहरू, कार्ययोजना क्रियाकलापहरूको समष्टिगत विश्लेषणात्मक प्रगति विवरण र कार्ययोजनाको बेन्चमार्क गतिविधिहरूका बारेमा जानकारी दिनुभयो । साथै उहाँले नेपाल प्रहरी कार्ययोजना-२०७९ को प्रगति समीक्षासमेत गर्नुभयो ।

प्रचलित कानुनको अधीनमा रही मुलुकभर सुदृढ शान्ति-सुव्यवस्था कायम राख्ने, अपराध रोकथाम तथा नियन्त्रण गर्ने विशिष्टीकृत तथा वैज्ञानिक अपराध अनुसन्धान क्षमता अभिवृद्धि एवं प्रहरी सेवा प्रवाहको गुणस्तरमा व्यावसायिक सुदृढीकरण गरी समग्र प्रहरी संगठनको दीर्घकालीन विकास तथा रूपान्तरण गर्ने कार्ययोजनाको उद्देश्य रहेको छ । कार्ययोजनामा १३ वटा मुख्य लक्ष्य, ४० वटा लक्ष्य अनुरूपको कार्यगत उद्देश्य र १८३ वटा क्रियाकलाप संख्या रहेका छन् । नेपाल प्रहरीको आन्तरिक सुदृढीकरण योजनातर्फ पाँचवटा र नागरिक केन्द्रित प्रहरी सेवातर्फ चारवटा गरी प्राथमिकताको आधारमा जम्मा नौवटा बेञ्चमार्क गतिविधि निर्धारण गरिएको छ ।

प्रहरी कर्मचारीको संघीय संरचनाअनुरूप समायोजन गर्ने लगायतका १३ वटा मुख्य लक्ष्यहरू रहेको उक्त कार्ययोजनामा नेपाल सरकारको न्यूनतम साझा कार्यक्रमहरू, आ.व. २०८०/८१ को स्वीकृत नीति कार्यक्रम, गृह प्रशासन सुधार योजना २०७८, गृह मन्त्रालयको वर्तमान प्राथमिकताका क्षेत्रहरू, नेपाल प्रहरीको रणनीतिक योजना, नेपाल प्रहरीद्वारा कार्यान्वयन गरिएका विगतका कार्ययोजनाहरूको अध्ययनको साथै नेपाल प्रहरीको प्राथमिकतागत क्षेत्रहरूको पहिचान, वर्तमान समस्या तथा चुनौतीहरू दृष्टिगत गर्दै कार्ययोजनाका गतिविधिहरू निर्धारण गरिएका छन् ।

नेपाल प्रहरीले गर्दै आइरहेको कार्यलाई योजनाबद्ध एवं व्यवस्थित ढंगले सम्पादन गर्न आगामी दुई आर्थिक वर्षका लागि तयार गरिएको नेपाल प्रहरी कार्ययोजना-२०८० आगामी साउन १ गतेबाट विधिवत रूपमा कार्यान्वयनको चरणमा जानेछ ।

नेपाल प्रहरीले चालु आर्थिक वर्ष २०७९/०८०को गत तीन महिनामा (चैत्र १५ देखि असार १५ सम्म) तुलना गर्दा गत आ.व. २०७८/०७९ को भन्दा चालु आर्थिक वर्षका तीन महिनामा ११.१५ प्रतिशत बढी पक्राउ परेको र ११.२२ प्रतिशत दर्ता बढेको बताएको छ । चालु गत तीन महिनामा तीन हजार ५६२ जना फरार अपराधी पक्राउ परेका छन् । प्रहरीका अनुसार चैत्र १५ देखि असार १५ सम्म गाँजा ६ हजार ९६१.६१ केजी गाँजा, १७९केजी चरेश, ४.२५ केजी हेरोइन र ४.९८ केजी अफिम बरामद भएको छ । लागुऔषध ब्युरोद्वारा सञ्चालित विशेष अपरेसनमा रात्रि क्लब, मनोरञ्जन गृह तथा ट्रान्स पार्टीहरूमा प्रयोग हुने एलएसडी १० हजार १३१ पिससहित पाँचजना विदेशी, सातजना नेपालीसमेत १२ जना चालु आर्थिक वर्षको चैत्र १५ देखि असार १५ गतेसम्म पक्राउ गरेको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरण, ललितानिवास प्रकरण, विद्युतीय सट्टेबाजी, सहकारी ठगी लगायतका प्रकरणको कारबाही अघि बढेको प्रहरीले जनाएको छ । तीन महिनाभित्र ६ हजार ४२० सवारी दुर्घटना, ५८१ मृत्यु, गम्भीर घाइते एक हजार ६२७, साधारण घाइते ६ हजार ७२१, कारबाही सात लाख ३६ हजार ४७० र राजस्व संकलन ५६ करोड ४६ लाख ५४ हजार २०० भएको छ । अवैध सामान बरामद, चोरी पैठारी नियन्त्रण, भन्सार चोरी निकासी, अवैध मुद्रा र हुण्डी बरामद जस्ता विभिन्न माध्यमबाट एक अर्ब ५९ करोड ६२ लाख ८२ हजार १७७ रुपैयाँ राजस्व संकलन भएको छ ।

विपद् व्यवस्थापनका लागि तत्काल परिचालन हुनसक्ने गरी उपलब्ध उद्धार सामग्रीहरूसहित १० हजार ८५ जना प्रहरी २४सै घण्टा उपलब्ध गराइएको बताएको छ । उपत्यका तथा प्रदेश प्रहरी कार्यालयबाट सुरु गरिएका नयाँ कार्यक्रममा सुरक्षित उपत्यका अभियान, कोशी प्रदेशमा पीडित पुनः भेटघाट कार्यक्रम, मधेशमा अल्पसंख्यकसँग प्रहरी, बागमतीमा स्मार्ट प्रहरी कन्ट्रोल रुम, गण्डकीमा हिरासत व्यवस्थापन अधिकृत, लुम्बिनीमा आत्महत्या न्यूनीकरण अभियान, कर्णालीमा घरघरमा स्टिकर टाँस, निःशुल्क निवेदन लेखन र सहजीकरण, नागरिक सहजकर्ता प्रहरी परिचालन र सुदूरपश्चिम प्रदेशमा लागुऔषधविरुद्ध महाअभियान सुरु गरिएको जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?