कोशीका मुख्यमन्त्रीको नियुक्तिविरुद्ध एमाले सर्वोच्चमा, रिटको सुनुवाइ आइतबार हुने

हिमालय टाइम्स
Read Time = 8 mins

काठमाडौं । कोशी प्रदेशको नयाँ सरकार गठनको प्रक्रिया असंवैधानिक भएको भन्दै नेकपा एमालेले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेको छ । एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले तीन जनालाई विपक्षी बनाएर शुक्रबार सर्वोच्चमा रिट निवेदन दर्ता गराउनुभएको हो । संविधानको धारा १६८(२) बाट निर्मित सरकार असंवैधानिक भएकाले उत्प्रेषणको आदेशद्वारा बदर गरी धारा १६८ (३) अनुसार नयाँ सरकारको बाटो खोल्न परमादेश जारी गरिनुपर्ने माग रिटमा गरिएको कोशी प्रदेश एमाले संसदीय दलका प्रमुख सचेतक रेवती रमण भण्डारीले जानकारी दिनुभयो । रिटमा असार २४ गते सुनुवाइ हुने भएको छ । सर्वोच्च अदालतमा पेशी २४ गते बिहान १० बजेको लागि तोकिएको अदालत प्रशासनले जनाएको छ ।

शुक्रबार नेकपा एमाले कोशीका संसदीय दलका नेता एवं निवर्तमान मुख्यमन्त्री हिक्मत कार्की कोशी प्रदेशको नवनिर्मित सरकार गठनको प्रक्रिया असंवैधानिक भएको भन्दै सर्वोच्च अदालत पुग्नुभएको थियो । प्रदेशसभा सभामुखको समेत हस्ताक्षर जोडेर बहुमत देखाई नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्री नियुक्त गर्ने प्रदेश प्रमुखको निर्णय खारेज गर्न एमाले संसदीय दलका नेता कार्कीले सर्वोच्चमा रिट दायर गर्नुभएको हो । कार्कीले संविधानको धारा १६८ (२) बाट निर्मित सरकार असंवैधानिक भएकाले उत्प्रेषणको आदेशद्वारा बदर गरी धारा १६८ (३) अनुसार नयाँ सरकारको बाटो खोल्न परमादेश जारी गर्न माग गर्नुभएको छ । सो उपधाराअनुसार प्रदेशसभामा रहेको सबैभन्दा ठूलो दलको नेताको हैसियतमा आफूलाई मुख्यमन्त्री नियुक्त गर्ने परमादेश माग्दै कार्की सर्वोच्च पुग्नुभएको हो ।

निकास दिनका लागि हस्ताक्षर गरेको हुँ : सभामुख गौतम
कोशी प्रदेशका सभामुख बाबुराम गौतम विवादमा तानिनुभएको छ । कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्री बनाउन छुट्टै हस्ताक्षर गरेपछि उहाँ विवादमा तानिनुभएको हो । बिहीबार थापालाई मुख्यमन्त्री नियुक्त गर्न दाबी पेस गर्दा बहुमत पु¥याउन सभामुख गौतमले छुट्टै हस्ताक्षर गर्नुभएको थियो । उहाँविरुद्ध नेकपा एमालेसहित विपक्षी गठबन्धन अदालत गइसकेको छ । सभामुख गौतमले भने आफूले गलत नगरेको दाबी गर्नुभएको छ । प्रधानमन्त्री तथा मुख्यमन्त्री बनाउन अन्यत्र पनि सभामुखले हस्ताक्षर गर्ने गरेको भन्दै उहाँले आफ्नो बचाउ गर्नुभयो । हस्ताक्षर गरेका फाइलहरू अहिले पनि राष्ट्रपति कार्यालय र प्रदेश प्रमुखको कार्यालयमा खोज्दा भेटिने उहाँको दाबी छ ।

शुक्रबार मुख्यमन्त्री तथा मन्त्रीहरूको शपथग्रहण कार्यक्रमपछि पत्रकारहरूसँग प्रतिक्रिया दिँदै उहाँले अन्तिम समयमा मात्रै आफूले हस्ताक्षर गरेको बताउनुभयो । ‘मेरो नाम जान्छ भन्नेमा म ढुक्क थिएँ । दलका नेताले हस्ताक्षर गर्ने कुरामा तयार थिइनँ । तर, अन्तिम अवस्थामा निकास नदिई नहुने भएकाले हस्ताक्षर गरेको हुँ,’ उहाँले भन्नुभयो ‘कसैले दबाब दिएर नभई आफैँले निकास दिनका लागि हस्ताक्षर गरेको हुँ ।’ गौतमले आवश्यक परे राजीनामासम्म दिनसक्ने संकेतसमेत गर्नुभएको छ । राजीनामा दिने परिस्थिति आए आफू तयार रहेको उहाँले बताउनुभयो । ‘अहिलेको अवस्था ४६/४६ को हो । यस्तो अवस्थामा सरकार पनि टिक्दैन र सभामुख पनि त्यही रहने अवस्था आउँदैन । यसको निकास त निक्लिनुपर्छ,’ उहाँले भन्नुभयोे, ‘सरकारले सभामा ल्याएका ऐन, नियमावली विधेयकहरूमा बहुमत सिद्ध गर्न आवश्यक हुन्छ ।

सरकारले बहुमत पु¥याउन बल गर्छ । सभामुखले प्रत्येकपटक त्यसमा सहयोग गर्ने÷नगर्ने भन्ने कुरा आउँछन् । यदि त्यो अवस्था आइरह्यो भने त्यतिबेला दबाबमा होइन कि मेरो इच्छाले नै राजीनामा आउन सक्छ ।’ संसदीय इतिहास भनेको पक्ष विपक्षको भएकाले आफू पदमा रहेसम्म निष्पक्ष हुने उहाँको भनाइ छ ।

सरकार निर्माणमा सभामुखको भूमिका तटस्थ हुनुपर्छ : डा. कोइराला
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले कोशी प्रदेश सरकार निर्माणमा सभामुखको भूमिका तटस्थ हुनुपर्ने बताउनुभएको छ । विराटनगर विमानस्थलमा शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले सभामुखले सरकार निर्माणका क्रममा सदस्यको हैसियतले समर्थन गर्नु भोलिका दिनमा अप्ठ्यारो अवस्था सिर्जना हुनसक्ने आशंका व्यक्त गर्नुभयो । नेता डा. कोइरालाले सरकार निर्माणका क्रममा संसदीय व्यवस्थामा गणितको खेल हुने बताउँदै यस्ता उतार चढावलाई झेल्दै संसदीय परम्परा र संविधानमा भएका करारलाई टेकेर अगाडि बढ्दै जानुपर्नेमा जोड दिनुभयो । उहाँले कांग्रेस लोकतान्त्रिक परिपार्टी, ससंदीय अभ्यास र संविधानलाई टेकेर अगाडि बढ्नुपर्छ भन्ने मान्यता राख्ने पार्टी भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘कोशी प्रदेश सरकार निर्माणका विषयमा प्रतिपक्ष दल नेकपा (एमाले) सर्वोच्च अदालत जानसक्ने कुरा छ, अदालतको निर्णय हामी सबैले स्वीकार गर्नुपर्छ ।’ उहाँले दण्डहीनताको अन्त्य र भ्रष्टाचारमुक्त समाजले मुलुकलाई समृद्धितर्फ डोर्‍याउने र लोकतन्त्रलाई बलियो बनाउने धारणा राख्नुभयो । एक प्रश्नको जवाफमा नेता डा. कोइरालाले वर्तमान गठबन्धन सरकारलाई अगाडि बढाउनका साथै बलियो बनाउनुपर्ने र अन्य गठजोडतर्फ सोच्न नहुने बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?