अज्ञात रोगका कारण कालीकोटमा एकै गाउँका तीन सयभन्दा धेरै बिरामी

मान बहादुर बिश्वकर्मा कालिकोट
Read Time = 4 mins

कालीकोट । कालीकोटमा अज्ञात रोगका कारण एकै गाउँका तीन सयभन्दा धेरै बिरामी भएका छन् । जिल्लाको तिलागुफा नगरपालिका-१० रुडुगाउँमा अज्ञात रोग फैलिएपछि शुक्रबार जिल्ला अस्पताल मान्म र तिलागुफा नगर अस्पतालबाट खटिएका तीन चिकित्सकसहित नौ स्वास्थ्यकर्मीले ३११ बिरामीको स्वास्थ्य परीक्षण गरी औषधि वितरण गरेका छन् । ज्वरो आउने, घाँटी र टाउको दुख्ने, घाँटीमा टन्सिल हुने, अनुहारमा दाग देखिने र हातखुट्टा सुनिने लक्षण भएको अज्ञात रोग गाउँमा फैलिएपछि तिलागुफा नगर र जिल्ला अस्पताल मान्मबाट चिकित्सकसहितको टोलीले शुक्रबार रुडु गाउँ पुगेर बिरामीको परीक्षण गरी औषधि वितरण गरेको हो ।

गाउँमा फैलिएको बिमारले बुधबार १३ वर्षीया बालिका कर्मा थापाको मृत्यु भएको थियो भने अन्य बिरामी परेका थिए । प्रयोगशालामा चेकजाँच नगरी रोग यकिन गर्न नसकिने चिकित्सकको भनाइ छ । रोगले महादेव मावि रुडुका १३० सहित गाउँका अन्य गरी १७८ जना बिरामी परेको बिहीबार विद्यालयले नगरपालिका र जिल्ला सदरमुकाममा खबर पठाएको थियो ।

गाउँमा महामारी फैलिएको जानकारी आएपछि तिलागुफा नगरपालिकाबाट नगर अस्पतालका डा. टंकप्रसाद आचार्य, जिल्ला अस्पताल मान्मका डा. रामानन्द चौधरी, डा. डण्डप्रसाद नेपालसहितको स्वास्थ्यकर्मीको टोली शुक्रबार गाउँ पुगेको हो । ‘गाउँभर बिरामी छन् । औषधि दिने काम भइरहेको छ,’ तिलागुफा नगर अस्पतालका डा. आचार्यले भन्नुभयो । उहाँले बेलुका ६ बजेसम्म ३११ जना बिरामीको परीक्षण गरेर औषधि दिएको जानकारी दिनुभयो । डा. आचार्यका अनुसार उक्त शिविर शनिबार पनि सञ्चालन हुने बताउनुभएको छ ।

गाउँमा फैलिएको रोगको यकिन गर्न परीक्षणमा आएकामध्ये नौजना बिरामीको रगतको नमुना संकलन गरेर सुर्खेत पठाइने स्वास्थ्य सेवा कार्यालयका सूचना अधिकारी कटक महतले बताउनुभएको छ । उहाँले अधिकांश बिरामीहरू महिला र बालबालिका रहेको जानकारी दिनुभयो । शुक्रबार १९४ महिला र ११७ पुरुषको स्वास्थ्य जाँच गरी औषधि दिइएको छ । जसमध्ये उपचार गर्न आउने १५ वर्षमुनिका बालबालिका २०६ जना छन्, उहाँले भन्नुभयो । बिरामी धेरै भए पनि नियन्त्रणबाहिर नरहेको सुनाउँदै सबै बिरामीमा एकै खालको लक्षण भएको उहाँले बताउनुभएको छ ।

यस्तै, स्वास्थ्य शिविर सञ्चालन भएको महादेव माविमा शुक्रबारदेखि पढाइ बन्द गरिएको प्रधानाध्यापक भरतबहादुर सिंहले बताउनुभएको छ । सदरमुकाम मान्मबाट १८ कोष पूर्वदक्षिणतर्फ पर्ने रुडु गाउँ विकट मानिन्छ । सदरमुकाम मान्मबाट ३५ किमी कर्णाली राजमार्गको सडक हुँदै भैँसेगौडाबाट ६ घण्टा पैदल उकालो हिँडेपछि त्यहाँ पुगिन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?