राजनीतिको गणिकालयमा सबै नांगा

Read Time = 19 mins

प्रधानमन्त्री पुष्पकमल दाहालले हालै दिएको अभिव्यक्ति, उनलाई प्रधानमन्त्री बनाउन प्रितम सिंहले दिल्लीको दौडधूप गरेका थिए, भनेर अहिले धेरै नै चर्चित भएको छ । यसअघि उनले दश वर्षे कथित सशस्त्र युद्धमा मारिएका सत्र हजारमध्ये पाँच हजार मारेको आफूले जिम्मा लिएका थिए । दाहाल कहिलेकाहीँ भावनामा बगेर सत्य कुरा बोल्ने गर्छन् र पछि त्यसको खण्डण गर्न जिउज्यान लगाउँछन् । बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा दाहालले भने जस्तै अभिव्यक्ति दिएका थिए ।

उनले सरकारको रिमोट कन्ट्रोल अन्यत्र बाहिर छ र नेपाललाई मर्ज गर्नुपर्छ भनेका थिए । माओवादी नेताहरूको चरित्र जे जस्तो भए तापनि उनीहरूले बेलामौकामा सत्य ओकल्ने गर्छन् । यो साहस अन्य दलका नेताहरूमा छैन । जबकि उनीहरू पनि बाहिर रिमोट कन्ट्रोलबाटै चल्ने गर्छन् र प्रधानमन्त्री बन्न दिल्लीको, कोही कोही दिल्लीले सिंगापुरमै बोलाएर प्रधानमन्त्री बनाउन सौदाबाजी गर्छ ।

हिजो नारायणहिटी दरबारले प्रधानमन्त्रीको सिन्दूर लगाइदिन्थ्यो भने राजतन्त्रको समाप्तिपछि विधवासरह भएका नेताहरूको सिउँदोमा दिल्ली दरबारले सिन्दूर लगाइदिने गरेको छ । यी नेताहरू एउटी पतिव्रता नारी झैँ आफ्नो पतिको आज्ञापालक भई पतिसेवामा तल्लीन हुने गर्छन् र उतैबाट जन्माएका सन्तानहरूलाई नागरिकता प्रदान गरेर पत्नीधर्मको पालना गर्ने गर्छन् ।

गिरिजाप्रसाद कोइरालालाई गणतन्त्र ल्याउन राष्ट्रपतिको ललिपप खुवाएर भित्तामा पुर्‍याउने र अन्तिममा उनलाई आत्महत्याको स्थितिमा पुर्‍याउने पुष्पकमल दाहालले उनले कसको आदेशमा गिरिजालाई राष्ट्रपति हुन दिएनन्, एकदिन खुलस्त पार्लान् वा दरबार हत्याकाण्डलाई ग्राण्ड डिजाइन हो, यसलाई एकदिन खोल्छु भन्ने गिरिजा झैँ अन्तिमसम्म चुप रहलान् ? नेपालमा गणतन्त्रका संवाहक रामराजाप्रसाद सिंहलाई राष्ट्रपति बन्न कसले दिएन ? किन उपेन्द्र यादवहरू कसको आदेशमा तम्बु परिवर्तन गरी रामवरणको तम्बुतिर ओत लाग्न गएका थिए ? कसको आदेशमा गणतन्त्र नआउँदै २०६३ सालमै नागरिकता विधेयक ल्याएर इण्डियनहरूलाई नागरिकता दिइयो ?

गिरिजाप्रसाद कोइरालालाई गणतन्त्र ल्याउन राष्ट्रपतिको ललिपप खुवाएर भित्तामा पुर्‍याउने पुष्पकमल दाहालले उनले कसको आदेशमा गिरिजालाई राष्ट्रपति हुन दिएनन्, एकदिन खुलस्त पार्लान् वा दरबार हत्याकाण्डलाई ग्राण्ड डिजाइन हो, यसलाई एकदिन खोल्छु भन्ने गिरिजा झैँ अन्तिमसम्म चुप रहलान् ?

यो प्रायोजित जनआन्दोलनको माग इण्डियनहरूलाई नागरिकता दिनु थियो ? किन अहिले पुष्पकमल दाहालको इण्डिया भ्रमणको पूर्वसन्ध्यामा मृत नागरिकता विधेयकलाई राष्ट्रपति रामचन्द्र पौडेलले स्वीकृत गरेर दाहाललाई इण्डिया जाने कोसेली बोकाइदिए ? कसको आदेशमा नागरिकता विधेयक पारित गरियो ? कसको आदेशमा सरकारको सहयात्री दल र प्रतिपक्षहरूले यो विधेयकलाई रोक्न सकेनन्, एमालेको नौटंगीबाहेक ?

कसको आदेशको अगाडि नेपालका राजनीतिक दलहरू नतमस्तक भए ? एमसिसीमा पनि यस्तै भएको थियो र एमालेको नौटंकी पनि यस्तै थियो । केही प्रावधानबाहेक यो नागरिकता विधेयकलाई ल्याउने त एमाले नै थियो । नेपालको सत्तामा माइक्रो म्यानेजमेन्ट गरिरहेका आइएनजिओहरू माथि प्रतिबन्ध लगाउन कहिले एमालेले संसद् अवरुद्ध गर्‍यो ? सक्दैन, किनकि सबैभन्दा बढी एनजिओ एमालेकै छन् । त्यसैले राजनीतिको गणिकालयमा सबै नांग छन् ।

एउटा प्रधानसेनापतिलाई हटाउने अधिकार नभएको र जसको कारण आफ्नो प्रधानमन्त्रीको पद गुमाउनु परेकाले राष्ट्रियता तथा राष्ट्रिय स्वतन्त्रताको कुरा गर्न सुहाउँछ ? सेनापति हटाउने मन्त्रिपरिषद्को निर्णयलाई एउटा कांग्रेसी राष्ट्रपतिले मानेनन् तर अर्का कांग्रेसी राष्ट्रपतिले पुरानो मन्त्रिपरिषद् जो चुनावपछि मृत भइसकेको थियो त्यसको निर्णय कसको आदेशमा माने ? खिलराज रेग्मीलाई सरकार प्रमुख बनाउने शक्ति को हो ? लोकमानलाई अख्तियार प्रमुख बनाएर पुष्पकमल दाहालमाथि कारबाहीको दण्डा चलाउन लगाउने र पछि उनले कारबाही अघि नबढाउँदै उनलाई फाल्ने शक्ति कुन हो ?

राणा शासनको उदयअगाडिसम्म प्रधानमन्त्री नियुक्ति गर्ने अधिकार दरबारलाई थियो । अंग्रेजको सहयोगले जंगबहादुरको उदयपछि राणा शासनमा अंग्रेजहरूको हस्तक्षेप भए तापनि राणा प्रधानमन्त्रीहरू स्वाभिमानी थिए । १९ तोपको सलामी दिने कबुल नगर्दासम्म जंगबहादुरले बेलायतको भ्रमण गरेनन् । अंग्रेजलाई फकाई फुल्याई बाँकेदेखि कञ्चनपुरसम्मको भूभाग फिर्ता लिए । राणाहरूले सिकारको कूटनीति खेलेर आफ्नो र मुलुकको फाइदा अंग्रेजबाट लिएका थिए । जंगबहादुरको कूटनीतिक प्रयासस्वरूप बेलायतका युवराज अल्बर्ट एडवर्ड पछि राजा एडवर्ड सातौं विसं १९३२ को माघमा पश्चिम वनबासामा सिकार खेल्न आएका थिए ।

विसं १९४६ मा वीरशमशेरको आतिथ्यमा जर्ज पाँचौंका छोरा अलबर्ट भिक्टर नेपालमा सिकार खेल्न आएका थिए । वीरशमशेरले भायसरय लर्ड कार्जनलाई सिकार खेल्न निम्ता दिएका थिए । पछि उनी बिमार परेपछि जान सकेनन् तर चन्द्रशमशेरको निम्तोमा लर्ड कार्जन विसं १९५७ चैत १७ गते नेपालमा सिकार खेल्न आएका थिए । चन्द्रशमशेरले बेलायतका राजा जर्ज पञ्चम इण्डिया आएका बेलामा सिकार खेल्ने निम्तो दिएर बोलाए । विसं १९६८ पुस ३ गते बिहान १० बजे जर्ज पञ्चम सिकार खेल्न ठोरीको जंगलमा आएका थिए तर राणा प्रधानमन्त्रीहरूले कहिल्यै उनीहरूलाई काठमाडौं आउन दिएनन् । यो उनीहरूको सफल कूटनीति थियो । विदेशी शक्तिलाई खुशी पार्न देशको स्वतन्त्रता तथा सार्वभौमिकताको र स्वाभिमानको बली चढाउनु पर्दैन भन्ने शिक्षा राणा प्रधानमन्त्रीहरूबाट लिन सक्छौँ ।

तर, जब इण्डियाबाट प्रायोजित रूपमा नेपालमा कथित आन्दोलनहरू निर्यात गर्न थालियो नेपालको दुर्दशा त्यहीँबाट सुरु हुन्छ । २००७ सालदेखि १७ सालसम्म नेपालको राजनीतिको साँचो इण्डियाको हातमा थियो । दरबारमा इण्डियन सचिव बस्थे, मन्त्रिपरिषद्का निर्णयहरू इण्डियाको प्रतिनिधिको रोहवरमा हुने गथ्र्यो । राजा महेन्द्रले सत्ता हातमा लिएपछि आफ्नो सफल कूटनीतिले इण्डियन हस्तक्षेपबाट नेपाललाई मुक्त पारी विश्वका दुई शक्तिशाली देश रुस र अमेरिकालगायत विभिन्न देशबाट सहयोग लिई नेपाललाई औद्योगिकीकरणदेखि विकासको मूल नै फुटायो । पञ्चायत कालभरि प्रधानमन्त्री दरबारले नियुक्त गर्न थाल्यो ।

हो, कहिलकाहीँ इण्डियासँग काम लिन इण्डियन लबीका सूर्यबहादुर थापा, चीनसँग काम लिन चीनतिर ढल्केका तर राष्ट्रियता र देशभक्तिमा अटल कीर्तिनिधि विष्टलाई र पश्चिमासँग काम लिन लोकेन्द्रबहादुर चन्दलाई प्रधानमन्त्री बनाउँथे । चीन र इण्डियामा शत्रुता भए तापनि राजाहरूको कूटनीतिले दुवै नेपालप्रति विश्वस्त थिए । अहिले जस्तो इन्डियाले कम्युनिष्ट प्रधानमन्त्री भए चीनको र कांग्रेस भए आफ्नो भन्ने सोच थिएन । त्यसैले कम्युनिष्ट भए पनि ओलीलाई चीनको नजरले हेर्ने र पुष्पकमल दाहाल सत्तालम्पट भएको कारण आफ्नो बनाउने इण्डियाको कूटनीति हो । जबकि ओली कसैका होइनन् केवल सत्ताका लागि जोसँग पनि लम्पसार हुने खालका हुन् । महाकाली सन्धिबाटै उनी कत्तिको राष्ट्रवादी हुन भन्ने प्रमाणित हुन्छ ।

अहिले दाहालको अभिव्यक्तिलाई लिएर एमालेको नेतृत्वमा संसद् घेराउ गरेका छन् । जबकि गणतन्त्रवादी सबै दलहरूका रिमोट कन्ट्रोल विदेशी शक्तिहरूको हातमा छ । नेपालको सत्तामा इण्डियाको ठूलो हात हुनाले सबै इण्डियालाई के दिएर रिझाउन सकिन्छ त्यसैमा लागेका छन् । नेपालमा दल छैनन्, दलालमात्र छन् र दलालहरूको कुनै देश हुँदैन । २०४६ सालको आन्दोलनमा नेपाली कांग्रेसको पहलमा इन्डियन नेताहरू चाक्सीबारीमा आएर बसेर यहाँ भाषण गरे । रअले नै संयुक्त वाममोर्चा बनाएको थियो । इण्डियन नेताहरूलाई बोलाएर दरबारतिर औंला तेस्र्याएर भाषण गर्न लगाउने यिनै कांग्रेस र कम्युनिष्ट नेताहरू नै हुन्, ओली पनि स्वयं हुन् ।

बहुदल आएपछि यहाँको सरकारमा इन्डियाको भूमिका सुरु हुन्छ । दश वर्षे सशस्त्र युद्ध इण्डोपश्चिमा शक्तिको रोडम्यापमा पुष्पकमल दाहाल र बाबुराम भट्टराईलाई बुख्याँचा बनाएर नेपालमाथि आक्रमण गराउने यिनीहरू नै हुन् । राजतन्त्र फालेर अहिलेको व्यवस्था पनि तिनै शक्तिकेन्द्रहरूले नै ल्याइदिएका हुन् जसमा इण्डियाको भूमिका महत्वपूर्ण छ । १२ बुँदेको जगमा आएको व्यवस्था र बनेका सरकार सबै इण्डियाबाट निर्देशित र निर्मित हुन् । इन्डियालाई जुनबेला जुन दल र त्यसको नेता सुविधायुक्त लाग्छ उसैलाई प्रधानमन्त्री बनाउँछ । अहिले पुष्पकमल दाहाल तिनीहरूका लागि सबैभन्दा अनुकूल हुन् ।

दाहाललाई फालेर देउवा, ओली वा अरू कोही प्रधानमन्त्री भए तापनि उही इण्डियाको आदेशले मात्र हुने हुन् । स्वतन्त्र कोही छैनन् । दाहाल इमानदार तथा देशभक्त भएको भए ललितानिवास काण्डका मुख्य आरोपी बाबुराम भट्टराई र माधव नेपाललाई किन कारबाही गर्नबाट रोकेका ?

ओली पनि त इण्डियाकै आशीर्वादमा प्रधानमन्त्री बनेका थिए । रअ प्रमुख सामन्त गोयल एकाएक राति प्लेनबाट झरेर बालुवाटार ओलीलाई भेट्न गए र घण्टौं उनीसँग गोप्य छलफल गरे । एउटा इण्डियन कर्मचारीलाई भेट्न ओली आतुर भए, उसको स्वागत गरे । अहिले दाहालले नेपालको वास्तविकतालाई उदांगो पारीमात्र दिएका हुन् । पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउने प्रस्ताव लग्ने ओली र रवि लामिछाने होइनन् र ? के त्यस बेला उनीहरूले इण्डियाको आदेशले दाहाललाई प्रधानमन्त्री बनाउन प्रस्ताव गरेका थिए ? घटनाक्रमले त्यही देखाउँछ । संसद्मा भएका दलहरू सबै इण्डियाका आज्ञापालक भएको पुष्टि हुन्छ । अनि यो नौटंकी किन ?

दाहाललाई फालेर देउवा, ओली वा अरू कोही प्रधानमन्त्री भए तापनि उही इण्डियाको आदेशले मात्र हुने हुन् । स्वतन्त्र त कोही छैनन् । यदि दाहाल इमानदार तथा देशभक्त भएको भए ललितानिवास काण्डका मुख्य आरोपी बाबुराम भट्टराई र माधव नेपाललाई किन कारबाही गर्नबाट रोकेका छन् ? वा कसको आदेशमा उनले यी आरोपीहरूलाई कारबाही हुनबाट रोकेका छन् ? शरणार्थी काण्डका मुख्य आरोपी ओली, आरजु र मञ्जुलाई कारबाही गर्नबाट दाहाल किन पछि हटेका छन् ? कसैको आदेशले हो कि ? भ्रष्टाचारीमाथि कारबाहीको स्टन्ट गरेर दाहाल नक्कली हिरो हुन खोजेका छन् ।

भोलि अरू कोही प्रधानमन्त्री भए तापनि हुने यही हो । मुख्य आरोपी सधैं बाहिर तथा सत्ता वा सत्ताको वरिपरि नै रहनेछन् । ओलीले पनि न त आरजूलाई न त दाहाललाई न त अरू कुनै ठूला नेताहरूलाई नै कारबाही गर्नेछन् । किनकि शीर्ष नेता सबै भ्रष्टाचारमा मुछिएका छन् र बाहिरी रिमोट कन्ट्रोलबाट सञ्चालित छन् । दोष कुनै व्यक्तिको होइन यो विदेशीहरूबाट सञ्चालित व्यवस्थाको हो । व्यक्ति फेर्ने होइन कि व्यवस्था नै फेर्नुपर्छ, हाँगा काटेर हुँदैन जरो नै उखेल्नुपर्छ ।

एकपटक चाणक्य राजकाजसम्बन्धी सल्लाह गर्न सम्राट चन्द्रगुप्तको महलतिर गइरहेका थिए । उनी खाली खुट्टा थिए । केही टाढा गएपछि उनको खुट्टामा काँढो बिझ्यो । पीडाले उनको मुखबाट चित्कार निस्कियो । उनले शीघ्र नै काँढालाई खुट्टाबाट झिकेर त्यसलाई हेरिरहे । अनि उनले आफ्ना शिष्यलाई पठाएर एउटा बञ्चरो मगाए र त्यस काँढेदार बिरुवालाई काटेर जराबाट अलग गरिदिए । त्यसपछि उनले बिरुवाको जरालाई माटोबाट झिकेर अलग गरिदिए । त्यसपछि बिरुवालाई जरासहित जलाइदिए । उनका शिष्य गुरुको कामलाई हेरिरहेका थिए । त्यसपछि उनले शिष्यलाई पठाएर मोही मगाए र त्यो मोहीलाई त्यसण् बिरुवाको जरा भएको स्थानमा खन्याइदिए किनकि त्यो काँढेदार बिरुवा फेरि उम्रिनै नपाओस् ।

शिष्यले यी सबै कुरा हेरपछि चाणक्यलाई सोधे, गुरुजी यति सानो कामको लागि यति धेरै समय र परिश्रम किन बर्बाद गर्नुभयो ? शिष्यको कुरा सुनेर चाणक्यले भने, मैले तिमीहरूलाई शिक्षा दिनका लागि यसो गरेको हुँ । यस माध्यमबाट म तिमीहरूलाई यो शिक्षा दिन चाहन्छु कि नराम्रो बाटोका बाधा अड्चनलाई जरैबाट खत्तम नगरेसम्म त्यो पूरै सिद्धिँदैन । भविष्यमा आउने दिनहरूमा उसले फेरि कसै न कसैलाई आफ्नो चपेटामा लिइहाल्छ । त्यसैले हामीले अप्ठ्यारो र बाधा अड्चनहरूलाई जरैदेखि समाप्त गर्नुपर्छ किनकि ऊ फेरि तिमीहरूको जीवनमा पलाउन नपाओस् । हामीले पनि यस्तो प्रवृत्ति चिनेर तिनलाई फेदैदेखि नपन्साए हामी विदेशीको अघोषित गुलामीबाट मुक्त हुन सक्नेछैनौं ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?