प्रदेश सांसद पञ्चराम गुरुङलाई गलेम होमस्टेको स्वागत

युवराज पौडेल स्याङ्जा, संवाददाता
Read Time = 4 mins

स्याङ्जा । स्याङ्जाको फेदीखोला गाउँपालिका–४ अन्तर्गत पर्ने गलेम गाउँमा रहेको राम्चेदेवी सिल्लो सामुदायिक होमस्टेमा आइतबार गण्डकी प्रदेशका सांसद तथा पूर्व सामाजिक विकास मन्त्री पञ्चराम गुरुङलाई एक कार्यक्रमका बिच स्वागत गरिएको छ ।

आइतबार एक टोलीका साथ गलेम गाउँको होमस्टेमा पुग्नुभएका गुरुङलाई स्थानीय दिदीबहिनीहरू तथा आमा समूहले स्वागत तथा सम्मान गरेका थिए । स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै गुरुङले सर्केटारी–गलेम–रापु–खामुहाले सडकको स्तरोन्नतिका लागि आफूले सांसद विकास कोषबाट २५ लाख रुपैयाँ विनियोजन गरेको बताउनुभयो । उहाँले यो सडक पञ्चासे धामसँग जोडिने भएकाले पनि विशेष महत्वको रहेको बताउनुभयो ।

कार्यक्रममा गुरुङले गलेमको राम्चेदेवी सिलो सामुदायिक होमस्टेका दिदीबहिनीहरुको मिहिनेत र गाउँको सुन्दरताले यो होमस्टेले छिट्टै आफूलाई स्थापित गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘यहाँ मौलिक संस्कृति समेत छ । सुनिमाया, झ्याउरे जस्ता गीतको संस्कृति रहेछ । प्रकृतिले दिएका सुन्दर हरिया चउर, झरना, टार छन् । प्राकृतिक भ्युटावरहरुबाट विभिन्न ठाउँको दृश्यावलोकन गर्न सकिँदोरहेछ ।’

उहाँले गलेम गाउँदेखि खामुहाले हुँदै पञ्चासे धाम जोड्ने पक्की सडक निर्माण भएपछि अझै यस क्षेत्रमा ठूलो परिवर्तन हुने बताउनुभयो । स्थानीयहरूसँग सडकको अनुगमन गर्दै गुरुङ विभिन्न ठाउँमा पुग्नुभएको थियो । आफूले गलेम फाँटमा सिंचाइको लागि यसै २०८०।८१ को बजेटमा रु. १० लाख बजेट छुट्याएको समेत बताउनुभयो ।

कार्यक्रममा बोल्दै उक्त सर्केटारी–गलेम–राँपु–खामुहाले सडक उपभोक्ता समितिका अध्यक्ष मे. दिलबहादुर गुरूङले सडकको लागि सांसद विकास कोषबाट सहययोग गरेकोमा धन्यावाद व्यक्त गर्नुभयो । मे.गुरुङलले गलेम वरिपरि सडकदेखि सिंचाइसम्म विकास गरेकोमा सांसद गुरूङप्रति गलेमबासी कृतज्ञ रहेको बताउनुभयो ।

होमस्टेकी संस्थापक अध्यक्ष युवा नेतृ तथा फेदीखोला गाउँ कार्यपालिका सदस्य पूजा गुरुङले आफ्नो होमस्टेलाई सम्झेर आउनुभएकोमा गुरूङलाई धन्यवाद व्यक्त गर्नुभयो । उहाँले गलेम फाँटमा सिंचाइ योजनाका लागि यसै आ.व.२०८०।८१ का लागि १० लाख बजेट पार्न पहल गर्नुभएको बताउनुभयो । राम्चेदेवी सिलो सामुदायिक होमस्टेकी अध्यक्ष नानिमाया गुरुङले होमस्टेको विकासमा पञ्चराम गुरुङले सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा फेदीखोला गाउँपालिका वडा नं ४ का वडाध्यक्ष ख्यामनारायण पौडेल, होमस्टेकी अध्यक्ष नानीमाया गुरूङ, गलेमबासी क्या.ईन्द्रबहादुर गुरूङ, युवा नेतृ पूजा गुरूङ लगायतले बोल्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?