आगन्तुकलाई ढोरपाटन पुग्नै समस्या

डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 11 mins

बागलुङ । चारै तिर हरियाली पहाड । बीचमा समथर भू–भाग । राता, सेता, पहेला र निला रंगका वनफूलले ढाकिएको ढोरपाटन उपत्यका । ढोरपाटन उपत्यका यति बेला निकै मनमोहक देखिन्छ । कतिबेला पानी पर्ने कति बेला घाम लाग्ने यहाँको विशेषता हो । नेपालको एक मात्रै सिकार आरक्ष ढोरपाटनले यति बेला आगन्तुकलाई पर्खि रहेको छ । सदाबहार सुन्दर देखिने ढोरपाटन यो याम अझ बढी आगन्तुकलाई लोभ्याउने गर्छ । समथर मैदानमा कुद्ने घोडा खच्चड र गाईभैँसीको बगालले झनै मोहित बनाउँछ ।

टाढैबाट पनि निकै आकर्षक देखि ढोरपाटन उपत्यकामा यति बेला घुम्न आउनेको संख्यामा कमी छैन । तर सडकका कारण जतिले ढोरपाटन यात्रा गर्छन्, ति सबै पुग्न सक्दैनन् । कारण हो, सडक । ढोरपाटन पुग्ने अहिले एउटा मात्रै सडक छ । त्यस सडकको दुरावस्थाका कारण आगन्तुक सहज रुपमा ढोरपाटन पुग्न सक्दैनन् । राष्ट्रिय प्राथमिकताको आयोजनाका रुपमा रहेको सालझण्डी–ढोरपाटन सडक ट्रयाक खुलेको एक दशक बित्यो । अहिलेसम्म स्तरोन्नती हुन नसक्दा पर्यटकले सास्ती खेप्नु परेको छ । सडक स्तरोन्नतीका लागि बजेट विनियोजन नभएर होइन, निर्माण कम्पनीले समयमा काम नगर्दा यात्रा गर्न कठिन हुने गरेको हो ।

ढोरपाटनको प्रवेशद्वार बुर्तिबाङदेखि बोबाङसम्म सडक राम्रै भए पनि त्यसभन्दा माथि निकै अप्ठ्यारो छ । साँघुरो सडक खाल्डाखुल्डी र हिलाम्य हुँदा पर्यटकका सवारी साधान ढोरपाटन पुग्न सक्दैनन् । यस बेला अधिकांश पर्यटक मोटरसाइकल र जीपमा यात्रा गर्ने गर्दछन् । पर्यटकले प्रयोग गर्ने सवारी साधान बीचबाटोमै बिग्रिने हुँदा उनीहरूसमेत अलपत्र पर्ने गरेका छन् । केही दिनदेखिको वर्षाले सडकमा लेदोसहितको हिलो र ढुङ्गा थुपारेको हुँदा यात्रा गर्न निकै कठिन भएको गुल्मीको शान्तिपुरबाट घुम्न आउनु भएका किशोर क्षेत्रीले बताउनुभयो । निसेलढोरसम्म पुग्ने योजना बनाएर साथीहरुसँग आउनु भएका क्षेत्रीले फल्लेघरको माथिल्लो घुम्तीबाटै बुर्तिबाङ फर्किनु परेको सुनाउनुभयो ।

‘बसाइँ बुटवल तिर छ, बर्खे बिदामा गाउँ आएको बेला ढोरपाटन घुम्न आएको थियौँ, बुर्तिबाङभन्दा माथिसम्म त बाटो सजिलो रैछ, त्यसभन्दा माथि त निकै गाह्रो रैछ, सडक अप्ठ्यारो हुँदा ढोरपाटन पुग्न सकेनौँ, निकै दुःख लाग्यो’ क्षेत्रीले भन्नुभयो, ‘ढोरपाटन घुम्ने चाहना पूरा भएन, अब यो सडक राम्रो नभएसम्म ढोरपाटन नआउने, यसपाली निके दुःख पाइयो, पानी परेको दिन बाइक बाटोमै फस्यो, धन्न बाटोमा एउटा सानो होटल रैछ र बास बस्यौँ, ढोरपाटन उत्कृष्ट गन्तव्य हो, घुम्ने रमाउनेका लागि तर यो सडक चाही पिटिक्कै भएन ।’

तराई र पहाडलाई जोड्ने गरि रुपन्देहीको सालझण्डीदेखि अर्घाखाँची हुँदै ढोरपाटन जोडेको छ । सडकको दुरावस्था हुँदा पर्यटकसँगै ढोरपाटनका स्थानीयसमेत सहज रुपमा यात्रा गर्न पाएका छैनन् । सडक निकै साँघुरो र हिलाम्मे हुँदा वस्तुभाउ र मान्छेलाई लेक बेसी गर्न सकस पर्ने स्थानीय विरबहादुर सुनारले बताउनुभयो । हिउँदमा साना गाडीहरु जसोतसो चल्ने गरे पनि बर्खाको समयमा ठप्प हुने गरेको उहाँको भनाई छ । साँघुरो सडक हुँदा बेला बेलामा दुर्घटनासमेत हुने गरेको भन्दै यस तर्फ सरोकारवालाको ध्यान नपुगेको सुनारले बताउनुभयो ।

‘सडक आउँदा निकै खुसी लागेको थियो, सुरु–सुरुमा रमाइलो पनि लाग्यो, गाडी पनि राम्रोसँग चले, तर अहिले गाडीहरु सररर चल्न पाएका छैनन्, कतै साँघुरो छ, कतै अप्ठ्यारो छ, ढोरपाटनमा हरेक दिन मान्छेहरु घुम्न आउँछन्, तर दुःख पाइयो भन्ने गुनासो गर्छन्’ सुनारले भन्नुभयो, ‘बेला बेलामा पर्यटकहरु चढेर आएको गाडीसमेत बाटोमै बिग्रिन्छ, गाडी बिग्रिएपछि कति त बाटैबाट फर्किएर जान्छन्, कहाँ कहाँबाट घुम्न आएको हुन्छन् विचरा बाटो राम्रो नहुँदा पुग्न नपाउँदै फकिन्छन्, त्यो बेला कस्तो नरमाइलो हुँदो हो ?, बर्खामा त झनै गाह्रो हुन्छ, गाडी गुल्टिन्छ कि भन्ने डर, कतै गाडी बिग्रिन्छ भन्ने डर हुन्छ ।’

वि.सं. २०७१ सालमा बागलुङ खण्डमा यस सडकको ट्रयाक खुलेको थियो । गङ्गरेदेखि ढोरपाटनसम्म ६१ किलो मिटर सडक पर्छ । सालझण्डीदेखि ढोरपाटनसम्म १९७ किलोमिटर रहेको छ । वि.सं. २०७७ भदौ १७ गते राति आएको भिषण बाढीले विभिन्न स्थानमा सडक बगाएको थियो । बडिगाड गाउँपालिका–१० गङ्गरे, निसीखोला गाउँपालिका–७ राजकुट, वडा नम्बर १ देविस्थान हुँदै ढोरपाटन जोडिएको सडक स्तरोन्नतीका लागि दुई वर्ष अगाडि कार्तिकमा ठेक्का सम्झौता भएको थियो । ठेक्का यतिका महिना बित्दा २८ प्रतिशत मात्रै काम भएको सालझण्डी–ढोरपाटन सडक आयोजना कार्यालयका सूचना अधिकारी इन्जिनियर सरोज आचार्यले जानकारी दिनुभयो ।

बुर्तिबादेखि फल्लेघरसम्मको सडक स्तरोन्नतीका लागि गत वर्ष कार्तिकमा स्वच्छन्द÷ओम बुद्ध जेभीसँग ३० महिनामा सक्ने गरि २५ करोडको सम्झौता भएको आचार्यले बताउनुभयो । स्तरोन्नतीको कामलाई तीव्रता दिन कार्यालयले निर्देशन दिइ राखे पनि निर्माण कम्पनीले ढिला सुस्ती गरि रहेको उहाँ बताउनुहुन्छ । उहाँले गङ्गरेदेखि बुर्तिबाङसम्म पनि साना–साना ठेक्का पट्टा गरि काम भइ रहेको बताउनुहुन्छ । यस खण्डमा कच्ची नाली निर्माण गर्ने, साना खोलाहरुमा हिमपाइप हाल्ने काम भइरहेको आचार्यको भनाइ छ ।

‘कामले गति लिन सकेको छैन, अहिले अलिअलि पर्खाल लगाउने काम गरेको छ, कामै छोडेको पनि छैन, राम्रोसँग गरेको पनि छैन, हालसम्म पचास प्रतिशत समाय अवधि सकियो, यसको २०८१ सालको असार मसान्तसम्म म्याद छ,’ उहाँले भन्नुभयो, ‘सडक नबन्दा यात्रुलाई समस्या, स्थानीयलाई समस्या छ, यता हामीहरुलाई पनि समस्या बनाएको छ, कामलाई तीव्रता दिन भनि रहेका छौँ तर खास्सै काम हुन सकेको छैन, म्याद बाँकी रहेको हुँदा हामीहरुले केही गर्न सकेका छैनौँ ।’

उहाँका अनुसार गंगरेदेखि ढोरपाटनसम्म ६१ किलोमिटर पर्छ । गुल्मी खण्डमा कालोपत्रे गर्ने ठेक्का लगाइएको छ भने अर्घाखाँची खण्डमा १३ किलोटिर पिच भएको छ । यस सडकलाई यस वर्ष ४० करोड रुपैयाँ विनियोजन भएको थियो । ढोरपाटन नगरपालिकाका नगर उपप्रमुख धनबहादुर कायत (कल्याण) ले घरै अगाडि सडक भए पनि स्थानीयले सहज रुपमा प्रयोग गर्न नपाएको बताउनुभयो । ढोरपाटन प्राकृतिक रुपले सम्पन्न भए पनि सडकका कारण पर्यटकले सास्ती खेप्नु परेको कायतले बताउनुभयो ।

उहाँले निर्माण कम्पनी र आयोजना कार्यालयलाई काम तीव्र गतिमा अगाडि बढाउन आग्रह गरे पनि सुनुवाई नभएको बताउनुभयो । केन्द्रीय आयोजना हुँदा नगरपालिकाले काम गर्न नसकेको भन्दै सडकलाई सहज नबनाएसम्म नागरिकले दुःख पाइराख्ने उहाँको भनाइ छ । हिउँदमा धुलो र बर्खामा हिलोले आजित हुनुको साथै साँघुरो सडक हुँदा यात्रा जोखिमपूर्ण हुने गरेको कायत बताउनुहुन्छ ।

कायतले भन्नुभयो, ‘यति सुन्दर ढोरपाटन सडकका कारण बत्ति मुनिको अँध्यारो जस्तो बन्न पुगेको छ, यत्ति सडक कालोपत्रे हुन्थ्यो भने पर्यटक सहज रुपमा ढोरपाटन पुग्न सक्थे, स्थानीयले उत्पादन गरेको आलु, स्याउ र अन्य उत्पादित वस्तु बजारसम्म सहज रुपमा ल्याउन सक्थे, हामीहरुले बारम्बार सरोकारवाला निकायलाई अनुरोध ग¥यौँ तर काम हुँदैन, अहिले असार मसान्त लाग्न लागेर होला सडक छेउमा ग्याविन उठाउने काम सुरु गरेको छ, साँघुरो सडक फराकिला गराइकै छैन, बर्खाले केही ठाउँमा निकै अप्ठ्यारो बनाएको छ ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?