मिटरब्याज सम्बन्धि विधेयकबारे सरकारलाई ओलीको प्रश्न: बैशाख २४ देखि असार ५ सम्म के हेरेर बसेको ?

हिमालय टाइम्स
Read Time = 10 mins

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीको अहिले सरकारमा जाने कुनै मनसाय नरहेको बताउनु भएको छ ।

काँग्रेस र एमाले मिलेर सरकार बनाउने चर्चा भईरहँदा ओलीले आफ्नो पार्टीको अहिले सरकारमा जाने सोच नरहेको प्रष्टयाउनु भएको हो ।

मंगलबार पार्टी केन्दिय कार्यालय च्यासलमा जारी पार्टीको बागमती प्रदेश संगठन कमिटीको सातौं बैठकमा बोल्दै उहाँले आफ्नो पार्टी सरकार बनाउने, जोखाउने कुनै पनि गन्तव्य नभएको खेलमा सहभागी नहुने बताउनु भयो । ओलीले आफ्नो पार्टी २०८४ सालको निर्वाचनमा एक्लै बहुमत ल्याउने मिशनमा लागेको दोहो¥याउनु भयो ।

उहाँले सरकार र सत्तारुढ दलहरुले झूट बोल्ने बाहेक केही पनि काम गर्न नसकेको आरोप समेत लगाउनु भयो । अध्यक्ष ओलीले संविधान र कानुन बमोजिम रद्द भईसकेको मिटरब्याजसम्बन्धि प्रतिस्थापन विधेयकलाई ल्याउने भनेर सरकारले झूट कुरा गरेको भन्दै आक्रोश समेत व्यक्त गर्नु भयो । उहाँले सो विधेयक समयमा संसदमा नल्याउने अनि आफूले नै सो समस्याको समाधान गर्ने भनेर गृहमन्त्री नारायणकाजी श्रेष्ठले जनतामाथि छल हुने गरी माइतीघर मण्डलामा अभिव्यक्ति दिएको समेत बताउनु भयो ।

ओलीले भन्नु भयो, ‘अहिले सात महिना त सिद्धियो । यो सरकारले के ग¥यो त ? वरतिरको सिन्को यसले परतिर के सा¥र्यो ? केही पनि गरेको छैन राम्रो काम । यसले के ग¥यो ? ढाँट्छ, छक्याउँछ । मिटरब्याँजीहरुको सम्बन्धमा ज्येष्ठ २४ गते विधेयक पास गर्न दिएनन भनेर गृहमन्त्री कडकिए । यिनीहरुनै हुन्, जसले बैशाख २४ गते पेश गर्नुपर्ने कुरा असार ५ गते पेश गर्छन् पार्लियामेन्टमा । के हेरेर बसे ? राष्ट्रियसभामा असार ५ गते पेश गर्छन्, बैशाख २४ गते गर्नुपर्ने त्यो अध्यादेशसम्बन्धि प्रतिस्थापन विधेयक । बैशाख २४ देखि असार ५ सम्म के हेरेर बसे ? अथवा बिल्कूल उदासिन, लापरबाह र यिनीहरु सामन्तको पक्षमा भएका हुनाले यिनीहरुले त्यो गरेका हुन् । नहोस् भनेर । राष्ट्रियसभाबाट अन्तिम दिन । ६० दिन भित्र भईसक्नु पर्छ । अव ६० औं दिनको अन्तिम दिनमा केही भयो भने पनि संसद रोकिन सक्छ । त्यस्तो बेलामा ल्याए । हामीले भन्यौं–मिटरब्याजीहरुलाई कारबाही गर्ने र पीडितलाई न्याय दिने विषय छ । संसद चलाउने गरी अघि बढौं । प्रधानमन्त्रीले राजीनामा गर्नुस् । अथवा बाटो त निकाल्नु प¥यो नि केही । जथाभावी बोल्ने अनि उहाँ मलाई प्रधानमन्त्री बनाउन कति पटक दिल्ली जानु भयो भन्ने । अनि केही पनि होइन भनेर चुप लागेर बस्ने । प्रधानमन्त्री पार्लियामेन्ट पनि आउनु भएन । कसैसँग कुुरा पनि गर्नु भएन । र, झूट प्रशारण गर्नु भयो बोल्न दिएन भनेर, स्पष्टीकरण गर्न दिएन भनेर । कहाँ गर्नु भयो उहाँले स्पष्टिकरण ? बल्ल हिजो स्पष्टिकरण दिन्छु भनेपछि हामीले दियौ त । अनि गृहमन्त्री गएर त्यहाँ कसैले रोक्न सक्दैन तपाईहरुलाई न्याय दिन भन्छन । बैशाख २४ गतेदेखि असार ५ गतेसम्म अन्तिम घडीपला समेत समाप्त हुने बेलामा त्यो ल्याएर, त्यसलाई फुकाएर जाऊ भन्दा नफुकाएर, अनि कुदेर माइतीघर मण्डलामा गएर यस देशमा छ नि नारायणकाजी भन्ने महान, बहादुर जन्मेको छ, त्यसले तपाईहरुलाई इन्साफ दिन्छ भनेर फाईफूर्ती लगाउने त्यहाँ ? सरकारमा त हामी थिएनौं । बैशाख ५ गतेदेखि असार ५ गतेसम्म के हेरेको ? अर्को हिजो संसदमा हेरेको त ६० दिन भित्र सिद्धिसक्छ । त्यो हुनेवाला नै छैन । ६० दिन भित्र अध्यादेश वा त्यसलाई प्रतिस्थापन गर्ने विधेयकको म्याद सिद्धिन्छ । २० गते सिध्याए । प्रचण्डजी एण्ड कम्पनीको ७ गठबन्धन, १० गठबन्धन कतिको गठबन्धन हो । यो गठबन्धनको सरकारको हो । यसलाई असफल पारिसक्यो । हिजो ६० दिन कटेको ५ दिन पछि फेरी विधेयक पारित गरौं भनेर । ६० दिनमा त्यो रद्द भईसक्छ । अर्को विधेयक ल्याउनु पर्छ । यिनीहरुलाई कानुन, संविधानको मतलव होइन । खाली जनता छक्याउने, अनि त्यहाँ त हामीे यो संविधान बमोजिम मिल्दैन भनेर । त्यसो भन्ने वित्तिकै कुदेर माईतीघर मण्डलामा पुग्ने र एमालेले हुन दिएन भन्ने । यो सबै जनता ठग्ने चाल हो । नत्र भने त्यस्तो विधेयक म्याद सकिएको ५ दिनपछि कसैले ल्याउँछ ? २० गते म्याद समाप्त भयो, २५ गते कसैले ल्याउँछ ? त्यसकारण यो सबै छलछाम हो । यस्ता तत्वहरु, जो पार्लियामेन्टमा सत्ताधारी दलका सांसदहरु, तालिम गरेर लगिन्छन । सुनको जलहरी चढाएको होइन, पित्तलको हो भनेर भन्न तालिम दिएर लगिन्छन । तालिम कस्ता होलान, बक्ता कस्ता होलान ? कसैले दुनियाँमा त्यस्तो कल्पना गर्न सक्ला ? १०८ किलो सुन पशुपतिजस्तो ठाउँमा सुन नचढाएर पित्तल चढायो । यो सद्दे दिमाग भएको मान्छेले बोल्न सक्ला ? त्यसबापत किञ्चित ग्लानी छैन । यस्ता झुट अफवाह फैल्याए वापत लाज, सरम केही पनि छैन । अचम्म लाग्छ । उनीहरुकै कुरा चाँही ठूला छन् । हिजो पनि ठूला कुरा सुन्दै थिए म प्रधानमन्त्रीजीका पार्लियामेन्टमा बोलेका कुरा । केटाकेटीको बल नै रुनेमा हुन्छ । आमाको ध्यान तान्ने रोएर, अरुको ध्यान तान्ने रोएर । भोक लाग्यो भन्नु प¥यो रुने, थकाई लाग्यो भन्नुप¥यो रुने । उसको बल नै, तागत नै त्यही हो । बाबुआमाले टेरेन, मानेन भने चल्काएर ल्याई हाल्छ बाबुआमालाई । बालकको रोदनमा तागत हुन्छ । विभिन्नको तागत विभिन्न चिजमा हुन्छ । र, अहिलेको सरकारको तागत झूट बोल्ने, अफवाह फैल्याउने, गठबन्धनका मान्छेहरुको त्यही देखिन्छ । र, उनीहरु यो गठबन्धन कायम राख्न चाहन्छन । किनभने उस्तैउस्तै मिलेको जस्तो देखिन्छ । त्यसकारण कायम राख्न चाहन्छन । हामीले भनेका छौं–हामीलाई सरकारमा जान हतारो नभएको मात्रै होइन, अहिले हामी सरकारतिर हेरेका पनि छैनौं । त्यतातिर सोचेका पनि छैनौं । हामी ग्रासरुटमा लाग्यौं । अव मिशन २०८४, मिशन ५१ पर्सेन्ट । यतापट्टि हामी लागेका छौं । हामीलाई सरकारतिर हेर्ने, यो सरकारको दैनिक किचलो, सरकार बनाउने, त्यसलाई जोगाउने, त्यसलाई कसरी टिकाउने, यताको टेको, उताको टेको, यो खोज्यो, उ खोज्यो, जेलबाट छुटाएर चार वटा भोट लियो । यता खेल्यो, उता खेल्यो । यसखालको कुनै परिणाम ननिस्कने खेल वैयक्तिक ज्यान बनाउनु छ भने ठिकै हुन्छ ।’

ओलीले इमान र निष्ठाका साथ देश र जनताको पक्षमा काम गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराउनु भयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?