मणिपुर हिंसामा १४२ नागरिक मारिए

हिमालय टाइम्स
Read Time = 2 mins

नयाँदिल्ली । भारतको उत्तरपूर्वी राज्य मणिपुरमा विगत दुई महिनामा भएका हिंसामा १४२ जनाको मृत्यु भएको स्थानीय सरकारले जनाएको छ । मणिपुरका मुख्यसचिवले भारतको सर्वोच्च अदालतमा प्रस्तुत गरेको प्रतिवेदनमा हिंसा प्रभावित राज्यमा १४२ जनाको ज्यान गएको उल्लेख छ ।

गत मेदेखि राज्यमा आगजनीका पाँच हजार घटना भएका तथा इम्फाल पूर्व र इम्फाल पश्चिमका जिल्लामा सबैभन्दा धेरैले ज्यान गुमाएका उल्लेख गरिएको छ ।

राज्यमा शान्ति सुव्यवस्था कायम गर्न तथा स्थितिलाई नियन्त्रणमा राख्न पाँच हजार ९९५ फष्ट इन्फर्मेशन रिपोर्ट (एफआईआर) दायर गरिएको र ६ हजार ७४५ जनालाई हिरासतमा लिइएको मुख्यसचिवले प्रतिवेदनमा उल्लेख गरेका छन् । स्थानीय सरकारले पनि राज्यमा शान्ति कायम गर्न अर्धसैनिक बलका १२४ कम्पनी र भारतीय सेनाको १२४ टोली परिचालन गरिएको जनाइएको छ । उत्तरपूर्वी राज्य मणिपुरमा मे ३ तारिखदेखि जारी जातीय दंगामा ती हजारभन्दा बढी घाइते भएका छन् भने ६० हजारभन्दा बढी विस्थापित भएका छन् ।

भीडले तोडफोड र आगजनी गर्ने क्रममा राज्यमा सयौं घर र पसल जलाएका छन् भने राज्यका अधिकांश भागमा निषेधाज्ञा जारी गरिएको छ । इन्टरनेटमा प्रतिबन्ध लगाइएको छ । मणिपुरमा शान्ति पुनःस्थापनाका लागि संघीय सरकारले हालसम्म गरेका प्रयासहरूले अपेक्षित परिणाम ल्याउन सकेको छैन ।

उक्त राज्यमा सोमबार भएको हिंसात्मक झडपमा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । गैरआदिवासी मेइतेई समुदायलाई अनुसूचित जनजातिको दर्जामा समावेश गर्ने निर्णयको विरोधमा हिंसा भड्किएको हो । रासस/सिन्हृवा

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?