सर्पदंश उपचार केन्द्र, ‘नाम छ, उपचार छैन’

प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
Read Time = 6 mins

नवलपरासी । नवलपरासीको सरावल–१ का उत्तम चौधरीलाई गत शनिबार सर्पले टोक्यो । चौधरीलाई आफन्तले एम्बुलेन्समा राखेर सुनवल–११ जर्गाहमा रहेको नेपाल प्रहरी युक्ति तालिम महाविद्यालयमा सञ्चालित सर्पदंश उपचार केन्द्रतर्फ लगे । केन्द्र आउन करिब पाँच सय मिटर बाँकी रहँदा फोन सम्पर्कबाट उपचार केन्द्रमा ‘एन्टी स्न्याक भ्यानम’ नभएको जानकारी पाए । उत्तम र उहाँका आफन्त अत्तालिए, त्यत्तिकैमा एम्बुलेन्स चालकले एम्बुलेन्स फर्काएर बुटवलतर्फ कुदाए ।

उहाँ मात्र होइन सुनवल–११ जर्गाहाकै ४१ वर्षीया रेनुका चापागार्इंलाई गत आइतबार सर्पले टोक्यो । चापागाईंका छिमेकीले वडा अध्यक्ष कमल चुवाईलाई तत्काल खबर गरे । चुवाईले आफ्नै वडामा रहेको नेपाल प्रहरी युक्ति तालिम महाविद्यालयमा सञ्चालित सर्पदंश उपचार केन्द्रमा फोन गर्नुभयो । तर, केन्द्रबाट प्राप्त जवाफले उहाँलाई निकै निराश बनायो । केन्द्रले सर्पदंशको उपचार गर्न नसकिने बताएपछि चापागाईंलाई तुरुन्दै परासीस्थित पृथ्वीचन्द्र जिल्ला अस्पतालमा लगेर उपचार गरियो ।

नवलपरासी सर्पदंशको उच्च जोखिम जिल्ला हो । वर्षायामसँगै विषालु सर्पको टोकाइबाट ज्यानै जानसक्ने जोखिम उच्च हुँदा तत्कालै नजिकैको सर्पदंश उपचार केन्द्रमा उपचार गर्न सके जोखिम कम हुन्छ । वडा अध्यक्ष चुवाईले उपचार केन्द्र नियमित सञ्चालन र औषधि व्यस्थापनका लागि पटक–पटक नगरपालिकामा आवाज उठाउँदै आएको बताउनुभयो । उहाँ भन्नुहुन्छ, ‘स्थानीयस्तरमा सञ्चालनमा आएको सर्पदंश उपचार केन्द्रलाई आपसी समन्वय गरी तुरुन्त सञ्चालन गर्नुपर्दछ ।’

२०७५ साल फागुन २७ गतेदेखि सञ्चालनमा आएको उपचार केन्द्रले २०७५ सालमा तीनजना, २०७६/०७७ मा २२ जना, ०७७/०७८ मा ७२ जना, ०७८/०७९ मा ५८ जना र २०७९ माघसम्म ५९ जना सर्पदंशका बिरामीलाई उपचार गरेको केन्द्रका डाक्टर हिमशैल खड्काले बताउनुभयो ।

उहाँका अनुसार ‘उपचार केन्द्र सञ्चालन भएपछि गत माघसम्म २१४ जना सर्पदंशका बिरामीलाई उपचार गरिएको छ ।’ भौतिक संरचना, दक्ष जनशक्ति र औषधिको अभावको कारण देखाउँदै हाल उपचार केन्द्र बन्द छ । डाक्टर खड्का भन्नुहुन्छ, ‘उपचार केन्द्रमा आइसियु र भेन्टिलेटर छैन । यस्तो अवस्थामा उपचार गर्दा जुनसुकै बेला बिरामीलाई आइसियु र भेन्टिलेटरको आवश्यकता पर्ने हुनसक्छ ।’

गत माघमा केन्द्रमा कार्यरत डाक्टर विनोदकुमार यादव नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा सरुवा हुनुभयो । उहाँ सर्पदंशको उपचार गर्नका लागि तालिम प्राप्त थिए । उहाँ गएसँगै उपचार केन्द्रमा सर्पदंशको उपचार हुन सकेको छैन । न त तालिम प्राप्त स्वास्थ्यकर्मीको व्यवस्था गरिएको छ । डाक्टर खड्काका अनुसार अस्पतालमा रहेको एन्टी स्न्याक भ्यानमको गत चैत्र महिनामा डेट सकिएको हो ।

त्यसयता अस्पतालमा कुनै पनि निकायले भ्यानम उपलब्ध गराएको छैन भने तालिम प्राप्त जनशक्तिको व्यवस्थापन पनि भएको छैन । केन्द्र स्थापना गर्नका लागि सुनवल नगरपालिकाको पनि सहयोग रहेकोले औषधि सकिएसँगै डाक्टर खड्काले औषधि मागको पत्र लिएर नगरपालिका गएको बताउनुभयो ।

खड्काले नगरपालिकासँग औषधि माग गरिएको बताए पनि सुनवल नगरपालिकाका नगर प्रमुख विमला अर्यालले भने सर्पदंशको उपचार निरन्तरताका लागि नेपाल प्रहरी युक्ति तालिम महाविद्यालयबाट कुनै पनि समन्वय गर्न नआएको बताउनुभयो । उहाँ भन्नुहुन्छ, ‘नगरसँग उपचार केन्द्रका लागि कसैले औषधि माग गरेको छैन । दुईवटा एसी माग गरिएको थियो जुन उपलब्ध गरायौँ ।’ औषधि सकिएकै समयमा औषधि उपलब्ध नगराएको नगरले उपचार केन्द्रमा एसी भने उपलब्ध गराएको छ । नगर प्रमुख अर्यालले सर्पदंशको उपचार केन्द्र सञ्चालन गर्न आवश्यक समन्वय गर्न तयार रहेको बताउनुभयो ।

केन्द्रको २०७५ फागुन २७ गते तत्कालीन नगर प्रमुख भीमबहादुर थापा ‘भरत’ले उद्घाटन गर्नुभएको थियो । उहाँले आफ्नो कार्यकाल अवधिमा केन्द्रका लागि आवश्यक पर्ने औषधि उपलब्ध गराउँदै आएको बताउनुभयो । उहाँ भन्नुहुन्छ, ‘औषधि बहाना मात्रै हो, खास कुरो त अघिल्ला जनप्रतिनिधिहरूले गरेका राम्रा कामहरूलाई बेवास्ता गर्नु हो । जनताले सेवा पाउने विषयमा अनावश्यक राजनीति नगरी सर्पदंश केन्द्र तत्काल सञ्चालन गर्नुपर्छ ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?