चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा. अञ्जनीकुमार झा नियुक्त

निजामती सेवाका ४० कर्मचारीलाई पुरस्कृत गर्ने

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । सरकारले चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा. अञ्जनीकुमार झा नियुक्त गर्ने निर्णय गरेको छ । सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले झालाई चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिनुभयो । यसअघि आयोगको उपाध्यक्षको नाम सिफारिस गर्न गठित सिफारिस समितिले आयोगको उपाध्यक्ष नियुक्तिका लागि डा. अञ्जनीकुमार झा, डा. प्रवीण मिश्र र डा. श्रीकृष्ण गिरीको नाम सिफारिस गरेको थियो ।

बैठकले शिक्षा ऐन संघीय संसद्मा पेस गर्ने निर्णय गरेको छ भने स्वास्थ्य क्षेत्रको लैंगिक समानता सामाजिक समावेशीकरण रणनीति २०८० स्वीकृत गरिएको प्रवक्ता शर्माले जानकारी दिनुभयो । यस्तै, बैठकले तेजाब तथा अन्य रासायनियक घातक पदार्थ नियमन नियमावली २०८० स्वीकृत गरेको छ, संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको सर्तसम्बन्धी विधेयक २०८० संसद्मा पेस गर्ने निर्णय गरिएको प्रवक्ता शर्माले बताउनुभयो । त्यस्तै, बैठकले निजामती सेवा दिवसका अवसरमा ४० जना कर्मचारीलाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ ।

झा नेपाली कांग्रेसको कोटाबाट नियुक्त हुनुभएको हो । क्यान्सर रोग विशेषज्ञसमेत रहनुभएका झा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष भइसक्नु भएको छ । उहाँ १४औँ महाधिवेशनमा मधेशी समुदायभित्र कांग्रेसको खुला केन्द्रीय सदस्यको उम्मेदवार हुनुहुन्थ्यो । राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ अनुसार उपाध्यक्षको कार्यकाल चार वर्षको हुने व्यवस्था छ । उपाध्यक्ष आयोगको पूरा समय काम गर्ने प्रमुख कार्यकारी पद हो ।

आयोगको उपाध्यक्ष लागि नौजनाको आवेदन परेको थियो । आवेदन दिनेमा झासँगै, डा. पियुष दाहाल, डा.प्रमोदकुमार यादव, डा. प्रवीण मिश्र, प्राडा. मनेनप्रसाद गोर्खाली, डा. विधाननिधि पौडेल, प्राडा.श्रीकृष्ण गिरी, प्रा.डा.संगीतासिंह भण्डारी र प्राडा.सुमनकुमार श्रेष्ठ हुनुहुन्थ्यो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?