ब्याजदरमा बैंकहरूको कार्टेलिङ अन्त्य

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेपाल बैंकर्स संघले बैंकहरूले स्वतन्त्ररूपले आफैं ब्याजदर निर्धारण गर्न पाउने निर्णय गरेको छ । बिहीबार बसेको संघको बैठकले बैंकहरूले स्वतन्त्ररूपले ब्याज निर्धारण गर्न पाउन सक्ने निर्णय गरेको हो । उक्त निर्णयसँगै वाणिज्य बैंकहरूले गर्दै आएको ब्याज कार्टेलिङ अन्त्य हुने भएको छ ।

संघका अनुसार बैंकहरू नेपाल राष्ट्र बैंकको नीतिभित्र रहेर ब्याज निर्धारण गर्न स्वतन्त्र हुनेछन् । हाल साधारण मुद्दती निक्षेपको ब्याजदर ९.९९ प्रतिशत रहेको छ । बैंकहरूले चाहेमा बढाउन सक्नेछन् । वित्तीय प्रणालीमा अधिक तरलतासँगै वाणिज्य बैंकहरूले साउनदेखि कर्जाको ब्याज घटाउने तयारी गरेका छन् ।

वैशाखपछिको तीन महिनामा बैंक तथा वित्तीय संस्थामा दुई खर्ब ४२ अर्ब रुपैयाँ थप निक्षेप संकलन भएको छ । वैशाख २ देखि असार २४ सम्ममा वित्तीय प्रणालीमा दुई खर्ब ४२ अर्ब थपिँदा लगानीयोग्य रकम चार खर्ब ४० अर्ब रुपैयाँ नाघेको छ ।

वैशाख २ गते वित्तीय प्रणालीमा ५४ खर्ब ७३ अर्ब रुपैयाँ कुल निक्षेप रहेकोमा असार २४ गते ५७ खर्ब १५ अर्ब रुपैयाँ पुगेको छ भने वाणिज्य बैंकहरूको कुल निक्षेप ४८ खर्ब २२ अर्बबाट दुई खर्ब २८ अर्बले बढेर ५० खर्ब ५० अर्ब रुपैयाँ पुगेको छ । वैशाख २ गते बैंक तथा वित्तीय संस्थाको कुल कर्जा प्रवाह ४८ खर्ब ५० अर्ब रहेकोमा असार २४ गते पनि ४८ खर्ब ६१ अर्ब रुपैयाँ छ ।

वाणिज्य बैंकहरूको कर्जा प्रवाह वैशाख २ गते ४३ खर्ब एक अर्ब रहेकोमा असार २४ गते पनि ४३ खर्ब एक अर्ब रुपैयाँ रहेको छ । वस्तु तथा सेवाको मागमा कमी एवं उच्च ब्याजका कारण कर्जा प्रवाह सुस्त बन्दा बैंक तथा वित्तीय संस्थामा तीन महिनाको अवधिमै चार खर्ब ४० अर्बभन्दा बढी थुप्रिएको छ । वित्तीय प्रणालीमा अधिक तरलता भए पनि कर्जाको माग छैन । बैंकहरूले असारमा पनि ब्याज घटाएका थिए । तर, कर्जाको माग बढेको छैन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?