मृतकका परिवारसँग सहमति भएपछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य सेवा नियमित

विवेक खड्का दाङ, संवाददाता
Read Time = 3 mins

दाङ । मृतकका परिवारलाई रोजगारी दिने सहमति भएपछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य सेवा नियमित भएको छ ।

उपचारका क्रममा प्रतिष्ठानमा घोराही उपमहानगरपालिका वडा नम्वर ३ निवासी ११ बर्षीय बालक आक्रोश नेपालीको विहीवार मृत्यु भएपछि पीडितका आफन्तहरुले आन्दोलन गर्दा दुई दिनदेखि प्रतिष्ठानले सेवा दिन सकेको थिएनन् । प्रतिष्ठानका पदाधिकारी र मृतकका आफन्तहरु विच भएको बार्ताले सहमति जुटाएसँगै अवरुद्ध रहेका स्वास्थ्यहरु चालू भएको प्रतिष्ठानले जनाएको छ ।

अबेरसम्म चलेको बार्ता निष्कर्षमा पुगेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. विकास लामिछानेले जानकारी दिनुभएको छ । उपकुलपति डा लामिछानेले भन्नुभयो,‘प्रतिष्ठान,पीडित पक्षका प्रतिनिधिलगायतको वार्ताबाट सहमति भएसँगै प्रतिष्ठानमा अवरुद्ध भएको स्वास्थ्य सेवा शुक्रवार रातीदेखि नै सूरु भएका छन् ।’

उहाँका अनुसार पीडित र अस्पताल पक्षबीच घोराही उपमहानगरपालिका वडा नं. ३ का वडा अध्यक्ष रामप्रसाद चौधरीको संयोजकत्वमा ७ सदस्यीय छानबिन समिति बनाउने सहमती भएको छ । जसमा वडा अध्यक्ष संयोजक रहने गरी सहायक प्रमुख जिल्ला अधिकारी, प्रहरीबाट एक जना, अस्पताल प्रशासनबाट एक जना, राजनीतिक दलका तर्फबाट एक जना, पीडित पक्षबाट २ जना सदस्य रहने छन् ।

समितिले जतिसक्यो चाडो घट्नाबारेमा अध्ययनसँगै सत्यतथ्य छानबिन गरी प्रतिवेदन ल्याउने उहाँले बताउनुभयो । त्यसैगरी शैक्षिक योग्यता अनुसार मृतक एकाघरका नजिकका आफन्तलाई रोजगारी दिने, पीडित परिवारका लागि आर्थिक सहयोग जुटाउन सर्वपक्षीय समिति बनाएर आर्थिक संकलन गरिने सहमति भएको छ ।

सहमतिसँगै मृतक बालकको शव आफन्तले बुझ्ने र अन्त्येष्टि गर्ने, उपचारका क्रममा मृत्यु भएका बालकको उपचारका क्रममा लागेको सम्पूर्ण खर्च प्रतिष्ठानले ब्यहोर्ने कार्यकारी परिषदमा सिफारिस गर्ने सहमति भएको उपकुलपति डा. लामिछानेले बताउनुभयो । छारे रोग सम्वन्धी समस्या भएका बालकको उपचारका क्रममा एमआरआई गर्नका लागि लग्ने क्रममा एमआरआई मेसिनको चुम्बकीय शक्तिले अक्सिजन सिलिन्डर तान्दा चोट लागेर बालकको मृत्यु भएको पीडितको आरोप छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?