बैतडीकाे खानेपानीको मुहानमा ‘कोलिफर्म’ भेटियो

डम्बर बोहरा बैतडी, संवाददाता
Read Time = 3 mins

बैतडी । बैतडीका खानेपानीका मुहानहरूमा दिसामा भेटिने कीटाणु कोलिफर्म भेटिएको छ । स्वास्थ्य कार्यालय बैतडीले जेठ र असारमा गरेको नमूना संकलन तथा परीक्षणमा अधिकांश खानेपानीका मुहानमा उक्त कीटाणु भेटिएको हो । संकलन गरिएको नमूना मध्ये ५० प्रतिशत बढी मुहानहरुमा कोलिफर्म भेटिएको छ ।

नियमित रुपमा प्रयोग गर्दै आएका खानेपानीका मुहान, धारा र ट्याङ्कीबाट नमूना संकलन गरि परीक्षण गर्दा दिसामा हुने कीटाणु कोलिफर्म भेटिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेश प्रसाद भट्टले जानकारी दिनुभयो । मुहान सफा गर्नुपर्ने, पानी शुद्धिकरण गरेर मात्रै पानी पिउन आग्रह गरिएको उहाँले बताउनुभयो ।

‘जिल्लाका सबै पालिकाबाट स्थानीयले नियमित प्रयोग गर्दै आएका २६९ पानीका मुहानबाट नमूना संकलन गरि परीक्षण गरेका थियौँ’ भट्टले भन्नुभयो ‘ति मध्ये १३६ ओटा मुहानको पानी पिउन योग्य छैन । ५० दशमलव ८ प्रतिशत दूषित छ ।’

दशरथचन्द नगरपालिकामा ३४ ओटा मुहानको नमूना संकलन गरि परीक्षण गर्दा ११ ओटा खानेपानीका मुहानमा कोलिफर्म भेटिएको छ । पुर्चाैडीमा ३० मध्ये १२, पाटनमा २९ मध्ये १३, मेलौली नगरपालिकामा ३१ मध्ये १७ खानेपानीका मुहानमा उक्त कीटाणु भेटिएको स्वास्थ्य कार्यालय प्रमुख भट्टले जानकारी दिनुभयो ।

यस्तै पञ्चेश्वरका १८ मध्ये १४, शिवनाथका १८ मध्ये १२, सिगासका ३७ मध्ये १०, सुर्नयाका २४ मध्ये १७ दोगडाकेदारका २७ मध्ये १८ र डिलाशैनि गाउँपालिकाका २१ ओटा खानेपानीका मुहानबाट नमूना संकलन गरि परीक्षण गर्दा १२ ओटा पानीका मुहानमा कोलिफर्म भेटिएको हो ।

खानेपानीका मुहान वरिपरि सरसफाइ तथा उचित किसिमको ढल निकास नहुँदा ढलको पानी मुहानमा मिसिन गइ दूषित हुने गर्दछ । पानीको मुहान, इन्टेक र धाराहरूलाई नियमित सरसफाइ गर्न आवश्यक रहेको उहाँले बताउनुभयो ।

दूषित पानीको प्रयोगले झाडापखाला, टाइफाइड, हैजा र आँउ जस्ता विभिन्न सरुवाको रोगको संक्रमण बढ्ने भएकाले उमालेर तथा फिल्टर गरेर मात्रै खानुपर्ने पाटन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदन सिंह महराले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?