इन्धनमा स्वचालित मूल्य प्रणाली लागू

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य घटाउँदै स्वचालित मूल्य प्रणाली लागू गरेको छ । आइतबार बसेको निगम सञ्चालक समितिको २३३५औँ बैठकले डिजेल चार रुपैयाँ र पेट्रोल छ रुपैयाँले मूल्य घटाएको हो । स्वचालित मूल्य प्रणालीअन्तर्गत निगमले परल मूल्यमा डिजेलमा दुई प्रतिशत र पेट्रोलमा २.५ प्रतिशत नाफा राखेर मूल्य तोक्नेछ । खाना पकाउने एलपी ग्याँसको मूल्यमा भने नाफा नराख्ने निर्णय गरेको छ । निगम सञ्चालक समितिका अध्यक्ष एवं वाणिज्य तथा आपूर्ति सचिव मधुकुमार मरासिनीले स्वचालित मूल्य प्रणली लागू भएपछि परल मूल्य बढ्दा बिक्री मूल्य पनि बढ्ने बताउनुभएको छ । निगमका अनुसार पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने एलपी ग्याँसको मूल्य घटेको छ भने ग्याँसमा प्रतिसिलिण्डर १० रुपैयाँ घट्ने भएको छ ।

पछिल्लो मूल्यसँगै काठमाडौं उपत्यकासहितका क्षेत्रमा पेट्रोल प्रतिलिटर एक सय ६४ रुपैयाँ र तराईका जिल्लामा एक सय ६१ रुपैयाँ ५० पैसा र भित्री मधेशमा एक सय ६३ रुपैयाँ पर्नेछ । डिजेल र मट्टितेल पनि क्रमशः एक सय ४६ रुपैयाँ, एक सय ४३ रुपैयाँ ५० पैसा र एक सय ४५ रुपैयाँ पर्नेछ । एलपी ग्याँसको प्रतिसिलिण्डर १७ सय ९० रुपैयाँ कायम हुनेछ । हवाई इन्धनको मूल्य भने स्वचालित हुने छैन । सीमा मूल्यको अन्तर हेर्दा भारतको रक्सौलमा भन्दा वीरगञ्जमा पेट्रोल प्रतिलिटर १३ रुपैयाँ २७ रुपैयाँ र मट्टितेल र डिजेल प्रतिलिटर नौ रुपैयाँ ९४ पैसा सस्तो पर्ने निगमको दाबी छ । हवाई इन्धनअन्तर्गत २३ रुपैयाँ ८१ रुपैयाँ सस्तो र बाहृय इन्धन भने केही महँगो पर्ने बताइएको छ ।

इण्डियन आयल कर्पोरेशन (आइओसी) ले आइतबार नेपाल आयल निगमलाई पठाइएको मूल्य सूचीअनुसार पेट्रोलमा प्रतिलिटर ३४ पैसा घटेर आएको छ, डिजलमा प्रतिलिटर दुई रुपैयाँ ४७ रुपैयाँ बढेर आएको छ । ग्याँसको मूल्य पनि घटेर आएको छ । विगतमा मूल्य घटे पनि निगमले सञ्चित नोक्सानी देखाएर मूल्य समायोजन गर्न आनाकानी गर्दै आएको थियो ।

स्वचालित मूल्य प्रणाली अन्तर्राष्ट्रिय बजार मूल्यअनुसार इन्धनको मूल्य स्वतः समायोजन गर्दै जाने प्रणाली हो । जुन प्रणालीअन्तर्गत निगमले लिने नाफा, सरकारलाई बुझाउने कर, प्राविधिक चुहावटबापत कट्टा गर्नुपर्ने नोक्सानी, ढुवानी खर्च जोडेर मूल्य घट्दा घटाउने र बढ्दा बढाउने प्रणाली हो । स्वचालित मूल्य लागू भएपछि निगमले घाटा बेहोर्नुपर्दैन । मूल्य बढेको बेलामा ३० अर्बभन्दा बढी सञ्चित नोक्सानी बेहोरेको निगम अहिले मूल्य घटे पनि मूल्य समायोजन नगरी घाटा पूर्ति गर्दै आएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?