नेपाल फर्कियो महिला फुटबल टोली

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । नेपाली महिला फुटबल टोली बंगलादेशसँगको मैत्रीपूर्ण फुटबल सिरिज जितेर सोमबार स्वदेश फर्किएको छ । १९औँ एसियाडको तयारीस्वरूप नेपालले महिला फुटबलमा दक्षिण एसियाको बलियो टोली बंगलादेशसँग दुईवटा मैत्रीपूर्ण खेल खेलेको थियो ।

उक्त भ्रमणमा नेपालले पहिलो खेलमा १-१ बराबरीको नतिजा सामना गर्दा दोस्रो खेल टाइब्रेकरमार्फत् ४-२ गोलअन्तरले जित्दै सिरिजको ट्रफी उचाल्यो । दोस्रो खेलमा वैकल्पिक गोलकिपरका रूपमा मैदान प्रवेश गरेकी अञ्जना रानामगरले दुई पेनाल्टी बचाएपछि नेपालले रोमाञ्चक जित निकालेको थियो । नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईले स्वागत गर्नुभएको थियो ।

सोमबार स्वदेश फर्किएका नेपाली टोलीले पर्याप्त म्याच एक्सपोजर पाउन सकेमा एसियाडका लागि राम्रो तयारी हुने धारणा राखेका थिए । नेपाली महिला फुटबल टोलीका प्रशिक्षक अनन्तराज थापाले साफको च्याम्पियन टोलीविरुद्ध आफ्नो टोलीले गरेको जुझारु प्रदर्शनले आगामी खेलमा नेपाली खेलाडीको आत्मबल बढाउने विश्वास व्यक्त गर्नुभयोे । तुलनात्मकरूपमा नेपाली टोलीमा धेरै पक्ष सुधार आएको प्रशिक्षक थापाले बताउनुभयो । प्रशिक्षक थापाले टोलीमा अझै पनि फिटनेसमा केही समस्या देखिएको बताउनुभयो । त्यसका लागि उनीहरूलाई जति सक्दो धेरैभन्दा धेरै म्याच एक्सपोजर दिन आवश्यक रहेको औँल्याउनुभयो ।

नेपाली महिला फुटबल टोलीकी कप्तान एञ्जिला तुम्बाप्पो सुब्बाले एसियन गेम्समा बंगलादेशभन्दा कठिन प्रतिद्वन्द्वीहरू सामना गर्नुपर्ने भएकाले टोलीमा धेरै सुधार गर्नुपर्ने आश्यकता रहेको बताउनुभयो । उहाँले अझ पनि माथिल्लो स्तरको टोलीविरुद्ध म्याच एक्सपोजर पाएमा एसियाडको तयारी राम्रो हुने विश्वाव व्यक्त गर्नुभयो । नेपाली टोलीकी भरपर्दी स्ट्राइकर सावित्रा भण्डारीले पछिल्ला साफमा भएका गल्तीहरू कम गर्दा बंगलादेशविरुद्ध जित सम्भव भएको बताउनुभयो । उहाँले एसियन गेम्स खेल्न पाउनु नै आफूहरूका लागि ठूलो अवसर भए पनि त्यो प्रतिस्पर्धाले गर्दा नेपालको वास्तविक खेलस्तर कस्तो रहेछ भन्ने प्रमाणित गर्ने धारणा राख्नुभयो । सावित्राले पुरुष टिमको जस्तै युथ र सिनियर लेलको लिग गरे महिला फुटबलको भविष्य राम्रो रहेको संकेत गर्नुभयो । साथै सिनियर टोलीको म्याच एक्सपोजर पनि उत्तिकै आवश्यक रहेको सावित्राको भनाइ थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?