काँग्रेस केन्द्रीय सदस्यहरुलाई वर्षमा एक महिना पार्टी कामबाट छुट्टी

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । नेपाली काँग्रेस पार्टीले केन्द्रीय सदस्यहरुलाई एक महिनामात्रै पार्टी कामबाट छुट्टी दिने प्रस्ताव पेश भएको छ ।

मंगलवारदेखि पार्टी केन्द्रिय कार्यालय सानेपामा शुरु भएको केन्द्रिय कार्यसमिति बैठकमा सांगठनिक तालिका प्रस्तुत गर्दै महामन्त्री गगनकुमार थापाले केन्द्रिय सदस्यहरुलाई असार महिनामा मात्रै पार्टी कामबाट छुट्टी दिने प्रश्ताव पेश गर्नुभएको हो ।

उहाँले अरु ११ महिना नै पार्टी नेता तथा कार्यकर्ताहरु पार्टी काममा लाग्नुपर्ने तालिका पेश गर्नुभएको छ । असार महिना किसानको महिना भएको र खेतीको समय भएको भन्दै उहाँले पार्टी नेता, कार्यकर्ताहरुले सो महिनामा किसानलाई सहयोग गर्नुपर्ने बताउनु भयो । त्यस्तै आइपर्न सक्ने प्राकृतिक विपद्हरुको सामना गर्नका लागि पनि पार्टीपंक्ति तयारी अवस्थामा रहनुपर्ने उहाँको भनाई छ ।

उहाँले भन्नुभयो – ‘असार महिनामा किसानको समय हो । किसानको समस्यामा सहजीकरण गर्ने । समुदायलाई अफ्ठ्यारो परेको बेलामा तयारी हुन्छौँ । केन्द्रिय सदस्य साथीहरुले वर्षमा जम्मा एक महिना मात्रै छुट्टी पाउनुहुन्छ । त्यो भन्दा बाहेक समय कि उहाँहरु अभियानमा हुनुहुन्छ, कि उहाँहरु विभागमा हुनुहुन्छ । काम गरिरहेको अवस्था बन्छ ।’

महामन्त्री थापाले भदौ १५ गतेभित्र सबै विभागको गठन गरिसक्ने र पूर्णता दिइसक्ने कार्ययोजना पेश गर्नुभएको छ । त्यस्तै समितिहरुले पनि भदौ १५ गतेसम्ममा पूर्णता पाउने प्रश्ताव छ । आगामी एक वर्ष भित्रमा ७ लाख नयाँ पार्टी सदस्य बनाउनेगरी घर–घर जाऔँ, पार्टी सदस्य बनाऔँ अभियान सञ्चालन गरिने पनि उल्लेख गरिएको छ ।

उहाँले भन्नुभयो – ‘प्रत्येक विभागले आफ्नो कार्यक्षेत्र प्रत्येक विभागले आफ्नो कार्यक्षेत्र अन्तर्गतका कार्यक्रमहरु बनाई कार्यतालिका सहितको वार्षिक योजना भदौ मशान्तभित्र केन्द्रिय कार्यसमितिमा पेश गर्ने र विधानको नियमावलीको ४७ (ख) बमोजिम वर्षभरीको गतिविधिको प्रगति विवरण ६÷६ महिनामा केन्द्रिय कार्यसमितिमा बुझाउनुपर्ने । समितिहरुले पूर्णता पाउन सकेका छैनन् । भाद्र १५ गतेसम्म पूर्णता पाउने प्रश्ताव हो । साउन २० गतेदेखि २०८१ असार ३१ गतेसम्म घर घर जाउँ पार्टी सदस्य बनाऔँ भन्ने राष्ट्रिय अभियान शुरु हुने । यो अभियानमा कम्तिमा ५ लाखदेखि ७ लाख नयाँ पार्टी सदस्य बनाउने उद्देश्यले यो अभियान शुरु गर्नेछ ।’

पार्टीका सबै दस्तावेजहरु डिजिटलाइज गर्ने र डिजिटल अभिलेख राख्नेपनि उहाँको प्रश्ताव छ । यसको निम्ति कामहरु भइरहेको पनि महामन्त्री थापाले उल्लेख गर्नुभयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?