राष्ट्रपति पाउने पूर्वसहमति अनुसार नै प्रचण्डलाई विश्वासको मत  : उपप्रधानमन्त्री खड्का

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । नेपाली काँग्रेसका उपसभापति तथा उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएबापत नेपाली काँग्रेसले राष्ट्रपति पद पाउने पूर्वसहमति भएको खुलासा गर्नुभएको छ ।

मंगलवारदेखि शुरु भएको पार्टीको केन्द्रिय कार्य समिति बैठकमा बोल्दै उपप्रधानमन्त्री खड्काले नेपाली काँग्रेसले राष्ट्रपति पाउने शर्तमा प्रधानमन्त्री दाहाललाई पुस २६ गते विश्वासको मत दिइएको बताउनुभएको हो । एमाले–माओवादी केन्द्र लगायतका दलहरुको गठबन्धनमा प्रधानमन्त्रीमा नियुक्त हुनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले पनि विश्वासको मत दिएको थियो । विश्वासको मत दिनुपर्नाको कारण खुलाउँदै उपप्रधानमन्त्री खड्काले सो कुरा बताउनुभएको हो । उहाँले पार्टी सभापति शेरबहादुर देउवासँगको छलफलमा प्रधानमन्त्री दाहालले राष्ट्रपति नेपाली काँग्रेसलाई दिने प्रतिवद्धता व्यक्त गरेसँगै विश्वासको मत दिइएको स्पष्ट पार्नुभयो । काँग्रेसले विश्वासको मत दिएसँगै आफूहरुबिचको गठबन्धन पुनःस्थापित हुने वातावरण बनेको र अहिले काँग्रेस सरकारमा पुगेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘पुस २६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वलाई उहाँलाई विश्वासको मत दिने निर्णयमा पुग्यौँ । त्यही विश्वासको मत दिने विश्वासको वातावरण जुन बनाइएको थियो । आज मैले भन्नुपर्छ, त्यो विश्वासको मत हामीले दिएपछि राष्ट्रपतिको निर्वाचनमा एउटा वातावरण बनाएर नेपाली काँग्रेसको उम्मेदवारको पक्षमा फर्कने वातावरण बनाउनका लागि वर्तमान प्रधानमन्त्री प्रचण्डले प्रतिवद्धता व्यक्त गर्नुभएको थियो एउटा तहमा । हाम्रो सभापतिको नेतृत्वमा विभिन्न चरणमा भएका वार्ताक्रममा भएको थियो । त्यही विश्वासको आधारमा हामीले विश्वासको मत दियौँ । त्यही विश्वासको मतबाट पुस १० गते भत्किएको गठबन्धन पुनःस्थापित हुने राजनीतिक वातावरण बन्यो । त्यही वातावरण स्वरुप रामचन्द्र पौडेललाई राष्ट्रपतिको रुपमा निर्वाचित ग¥यौँ ।’

उपप्रधानमन्त्री खड्काले सरकारले जनतालाई उत्साहित र प्रेरित गर्नेखालको काम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले जनताको अपेक्षापनि पार्टीले सरकारमा गएर राम्रो काम गरोस् भन्ने रहेको भन्दै आफूहरुले हालसम्म कुनै गल्ती र कमजोरी नगरेको बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘सरकारको कामबाट सकेसम्म जनतालाई प्रेरित गरेर जनतालाई उत्साहित गर्ने, जनतालाई नयाँ आशा र भरोसा दिलाउने कामका लागि हामीले अगाडी लाग्नु छ । कहीँ यताउता गर्न सकेनौँ भने जनताप्रति नकारात्मक असर पर्ने, जनता रिसाउने, मतदाता रिसाउने, पार्टी बचाएर जमिनमा बसेका कार्यकर्ता सदस्यहरु हामीसँग रिसाउने काम नभइदिओस् भन्ने आम अपेक्षा छ । जिल्लामा जाँदा त्यो खालको अनुभुति हुन्छ । म लगायत ९ जना साथीहरु सरकारमा छौँ । अहिलेसम्म जानेर नियतवश कुनै गल्ती कमजोरी गरेको जस्तो लाग्दैन ।’
उहाँले सरकारले गर्नुपर्ने कामको सम्बन्धमा केन्द्रिय समितिले ध्यानाकर्षण, सुझाव तथा निर्देशन दिने विश्वास पनि व्यक्त गर्नुभयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?