कांग्रेस केन्द्रीय समिति बैठक : सात लाख पार्टी सदस्य थप्ने महत्वाकांक्षी लक्ष्य

अनिल क्षेत्री
Read Time = 19 mins

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक मंगलबारबाट सुरु भएको छ । एक वर्षपछि बसेको केन्द्रीय समितिको बैठक पहिलोपटक प्रत्यक्ष प्रशारण गरिएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको बैठकले आफ्नो फेसबुक पेजमा प्रत्यक्ष प्रशारण गरेर ऐतिहासिक बनाएको छ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक प्रत्यक्ष प्रशारण गरिएको यो पहिलोपटक हो । यसअघि सोमबार बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले केन्द्रीय समिति बैठक प्रत्यक्ष प्रशारण गर्नुपर्ने प्रस्ताव गर्नुभएको थियो । बैठकमा विभिन्न १० एजेण्डामाथि छलफल हुनेछ । बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको निर्वाचन परिचालन समितिले तयार गरेको प्रतिवेदन, नीति अधिवेशनसम्बन्धी प्रस्ताव, विभाग गठन, एउटा अभियान घोषणा, अनुशासन समितिको प्रतिवेदन, प्रतिनिधिसभा बैठकमा पार्टीको भूमिका, भ्रातृ संगठन लगायतका १० वटा एजेण्डा प्रस्तुत गर्नुभएको छ । केन्द्रीय समिति बैठकको पहिलो दिन अनुशासन समिति, निर्वाचन समिति लगायतको प्रतिवेदन प्रस्तुत भएको छ । बैठकमा अर्का महामन्त्री गगन थापाले विधान कार्यान्वयन र पार्टीको सुदृढीकरणका सन्दर्भमा सांगठानिक कार्यतालिका र योजना प्रस्तुत गर्नुभएको छ ।

क्रियाशील सदस्यता वितरण वर्षभरि
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी एक वर्ष क्रियाशील सदस्यता विस्तार अभियान चलाउने र पाँचदेखि सात लाख नयाँ सदस्य बनाउने कार्ययोजना अघि सार्नुभएको छ । मंगलबारदेखि सुरु भएको कांग्रेस केन्द्रीय समितिको बैठकमा महामन्त्री थापाले आगामी साउन २० देखि २०८१ असार ३१ गतेसम्म ‘घरघर जाऊँ, पार्टी सदस्य बनाऊँ’ अभियान चलाउने योजना प्रस्तुत गर्नुभएको छ । क्रियाशील सदस्यताको वितरण वर्षभरि नै गर्नेगरी यसका लागि जिल्ला कार्यसमितिलाई फारम पठाइसकिएको जानकारी दिँदै महामन्त्री थापाले भन्नुभयो, ‘कांग्रेसको क्रियाशील सदस्ता वितरण अनलाइनमार्फत गर्ने कुरालाई हामीले सुरु गर्‍यौँ । यसलाई प्रभावकारी बनाउने, संगठन विस्तार र सुदृढीकरणका लागि नयाँ व्यक्तिलाई पार्टीमा आकर्षण र गर्न र समाजको विविधता झल्कने गरी यो वर्षको साउन २० गतेदेखि २०८१ असार ३१ गतेसम्म घरघर जाऊँ पार्टी सदस्य बनाऊँ भन्ने अभियान चलाउनअन्तर्गत राष्ट्रिय अभियान सुरु हुनेछ । पाँचदेखि सातलाख सदस्यता बनाउने उद्देश्यले यो अभियान प्रारम्भ गरिनेछ ।’ मंसिर-पुस २०७८ मा भएको १४औँ महाधिवेशनको समयमा कांग्रेसमा आठ लाख ६६ हजार क्रियाशील सदस्य थिए । महामन्त्री थापाले अभियानका तीन चरण प्रस्ताव गर्नुभएको छ । जसअनुसार पहिलो अभियान साउन २० गतेदेखि भदौ १ गतेसम्म संगठन सुदृढीकरण र शुद्धीकरण, दोस्रो अभियान भदौ १० गतेदेखि २४ गतेसम्म समुदायसँग संवाद र तेस्रो चरणको अभियान मंसिर १५ देखि माघ १५ गतेसम्म रहनेछ । यही साउन ६ गते बिपी स्मृति दिवसका अवसरमा ‘रुख रोपौँ’ अभियान सञ्चालन गर्ने र भदौ ५ गते दिवंगत नेता प्रदीप गिरीको पहिलो वार्षिकीमा स्मरणसभा गर्नुका साथै प्रदीप गिरी संवाद कार्यक्रमको आयोजना गरिने महामन्त्री थापाले जानकारी दिनुभयो ।

२२ विभाग थपेर ७० वटा बनाउन प्रस्ताव
महामन्त्री थापाले थप २२ वटा विभाग थप्न प्रस्ताव गर्नुभएको छ । हाल ४८ वटा विभाग रहेको कांग्रेसमा थप २२ वटा थपेर ७० वटा विभाग बनाउन प्रस्ताव गरिएको हो । केन्द्रीय समिति बैठकमा कार्ययोजना प्रस्तुत गर्दै महामन्त्री थापाले भन्नुभयो, ‘भदौ १५ भित्र सबै विभाग गठन गरेर पूर्णता दिइसक्ने प्रस्ताव छ ।’ थापाका अनुसार विभागहरूले आफ्नो कार्ययोजनासहित एक वर्षको कार्यतालिका बनाएर भदौ मसान्तभित्र केन्द्रीय कार्यसमितिमा पेस गर्नुपर्ने छ । साथै, हरेक ६/६ महिनामा केन्द्रीय कार्यसमितिमा प्रगति विवरण बुझाउनुपर्ने छ भने केन्द्रीय कार्यसम्पादन समितिले समीक्षा गर्नेछ ।

भ्रातृ संस्थाबारे : भदौ १५ भित्र तदर्थ समिति, ६ महिनाभित्र अधिवेशन
केन्द्रीय समिति बैठकमा कार्यकाल सकिएका ६ वटा भ्रातृ संगठनको तदर्थ समिति भदौ १५ भित्र बनाउने प्रस्ताव पेस भएको छ । महामन्त्री गगनकुमार थापाले नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल भूतपूर्व सैनिक संघ, राष्ट्रिय लोकतान्त्रिक अपांग संघ, नेपाल मुस्लिम संघ, नेपाल ठाकुर संघ र नेपाल दलित संघको तदर्थ समिति भदौ १५ भित्र बनाउने प्रस्ताव राख्नुभएको हो । म्याद सकिएर तदर्थ समिति बनेको तर समितिले पूर्णता नपाएका नेपाल विद्यार्थी संघ लगायतका भ्रातृ संगठनलाई ६ महिनाभित्र अधिवेशन गरिसक्ने गरी भदौ १५ भित्र पूर्णता दिने पनि उहाँको प्रस्ताव छ । सबै भ्रातृ संस्थाहरूले आफ्नो कार्यतालिका बनाउनुपर्ने र हरेक तीन/तीन महिना प्रगति प्रतिवेदन केन्द्रीय कार्यालयमा बुझाउनुपर्ने प्रस्ताव छ ।

केन्द्रीय समिति बैठक दुई/दुई महिनाको पहिलो हप्ता
कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक दुई/दुई महिनापछिको पहिलो साता गर्ने प्रस्ताव गरिएको छ । महामन्त्री थापाले अहिलेको बैठक साउनको पहिलो साता बसेकाले अरू बैठक पनि पहिलो साता बस्ने प्रस्ताव गर्नुभयो । कांग्रेसको विधानमा केन्द्रीय कार्यसमितिको बैठक दुई महिनामा कम्तीमा एकपटक बस्ने उल्लेख छ । वर्षमा न्यूनतम दुई बैठक काठमाडौंबाहिर गर्ने प्रस्ताव पनि महामन्त्री थापाले पेस गर्नुभएको छ । यस्तै, पार्टीका केन्द्रीय सदस्यहरूलाई वर्षमा एक महिना बिदा दिने प्रस्ताव गरिएको छ ।

गठबन्धनविरुद्ध गतिविधि नगर्न उपसभापति खड्काको आग्रह
सरकारमा कांग्रेसको नेतृत्व गरिरहनु भएका उपप्रधानमन्त्री तथा कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले गठबन्धनका दलहरूलाई चित्त दुख्ने र भड्किने खालका कुनै पनि गतिविधि नगर्न पार्टीपंक्तिलाई आग्रह गर्नुभएको छ । मंगलबार सुरु भएको केन्द्रीय समिति बैठकमा सरकारका काम कारबाहीको बारेमा प्रतिवेदन पेस गर्दै उपप्रधानमन्त्री खड्काले भन्नुभयो, ‘प्रतिकूल अवस्थामा हामीले हाम्रो सभापतिको नेतृत्वमा एक झड्कामा भत्किएर निराशा भएको मतदाता, पार्टी पंक्तिलाई दुई महिना ठूलो मिहिनेतका साथ नयाँ विश्वास स्थापित गरे अनि अन्यत्र अविश्वास खडा गरेर हाम्रो नेतृत्वमा जुन परिस्थिति निर्माण भएको छ । यसलाई सच्याउने र सुधार्ने कुरामा लागौँ । तर, मेरो आग्रह छ, हाम्रा गतिविधि र बोलीबाट यो राजनीतिक परिस्थिति भत्किने र बिग्रने तहमा पुग्ने गरी जान हुन्न ।’ उपसभापति खड्काले राष्ट्रपति पाउने सुनिश्चितता भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको स्पष्ट पार्नुभयो ।

रमेश लेखकको रिपोर्टिङ : प्रतिपक्षीहरू आक्रामक, अधैर्य र अपरिपक्व
कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले संसद्मा प्रतिपक्षी दलहरू आक्रामक, अधैर्य र अपरिपक्व भएको आरोप लगाउनुभएको छ । कांग्रेस ठूलो दल भएकाले उसको काँधमा सत्ता गठबन्धन मात्रै नभई संसद्मा समेत नेतृत्वदायी भूमिका खेल्ने जिम्मेवारी आइलागेको बताउँदै केन्द्रीय समिति बैठकमा लेखकले भन्नुभयो, ‘एमाले परिपक्व त छ, तर उसमा धैर्यको कमी देखिन्छ । बीचैमा सत्ता गुमाउनुपर्दा उसमा आक्रामकता छ । अरू प्रतिपक्षीहरू आक्रामक छन्, अधैर्य छन् र अपरिपक्व पनि छन् ।’

चुनावमा अन्तरघात गर्नेविरुद्ध २१ सय उजुरी
कांग्रेसमा गत निर्वाचनमा पार्टीका उम्मेदवारविरुद्ध अन्तरघात गर्ने दुई हजार एक सय नेता कार्यकर्ताविरुद्ध उजुरी परेको छ । निर्वाचनका बेला पार्टीले गरेको निर्णय नमान्ने, पार्टीले उठाएका उम्मेदवारविरुद्ध खडा हुने र पार्टीका उम्मेदवारलाई पराजित गराउन भूमिका खेल्ने नेता कार्यकर्ताविरुद्ध विभिन्न ४६ जिल्लाबाट उजुरी परेको हो । केन्द्रीय कार्यालयले निर्वाचनमा पार्टी हितविपरीत कार्य गर्नेविरुद्ध उजुरी आहृवान गरेकोमा ४६ जिल्लाबाट दुई हजार १०० नेताविरुद्ध उजुरी परेको केन्द्रीय अनुशासन समितिका संयोजक आनन्द ढुंगानाले जानकारी दिनुभयो । अनुशासन समितिले प्रतिवेदनमाथि जारी केन्द्रीय कार्यसमितिको बैठकमा छलफल हुँदै छ । बैठक आज (बुधबार) बिहान ११ बजे पुनः बस्दै छ ।

कांग्रेस रूपान्तरण अभियानले बुझायो प्रतिवेदन
नेपाली कांग्रेस रूपान्तरण अभियानले प्रतिवेदन बुझाएको छ । सातै प्रदेशमा पुगेर अन्तरक्रिया गरी प्राप्त सुझाव समेटेर कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेललाई मंगलबार प्रतिवेदन बुझाइएको हो । प्रतिवेदन पार्टी सभापति शेरबहादुर देउवालाई नै बुझाउने योजना भए पनि समय नदिएपछि पार्टी कार्यालयका मुख्यसचिव पौडेललाई बुझाइएको अभियानले जनाएको छ । २१ बुँदे सुझावसहितको प्रतिवेदनमा पार्टीको सैद्धान्तिक र वैचारिक मौलिकता रक्षा गर्नुपर्ने, समयसापेक्ष, स्पष्ट र जनमुखी नीति निर्माण गर्नुपर्ने लगायतका विषय उल्लेख छ । हरेक तहका सभापति अधिकतम दुई कार्यकाल मात्र पदमा रहन पाउनुपर्ने तथा एउटै व्यक्ति दुई पटकभन्दा बढी प्रधानमन्त्री हुन नहुने सुझाव प्रतिवेदनमा समेटिएको छ । रूपान्तरण अभियानले पछिल्ला प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन, अस्वाभाविक गठबन्धन र सरकार निर्माणमा भएको राजनीतिक दुर्घटना, उपनिर्वाचनको अनपेक्षित परिणाम, भ्रष्टाचार प्रकरणहरूमा पार्टीका नेताहरूको संलग्नता जस्ता कुराहरूले देशभरिका इमानदार, निष्ठावान कार्यकर्ताको भावनामा ठेस पुगेको उल्लेख गरेको छ । कांग्रेस रूपान्तरण अभियानले नक्कली भुटानी शरणार्थी र ललिता निवासलगायत प्रकरणमा मुछिएका नेताहरूलाई कारबाही गर्न माग गरेको छ । प्रतिवेदनमा भनिएको छ, ‘नक्कली भुटानी शरणार्थी, ललिता निवासलगायत भ्रष्टाचार काण्डमा मुछिएका पार्टीका नेता वा सदस्यहरूलाई तत्काल निलम्बन गर्नुपर्छ । अख्तियार दुरुपयोग र भ्रष्टाचार घटनाका छानविनमा पार्टीले सहयोग गर्नुपर्छ ।’ पूर्वगृहमन्त्रीसमेत रहेका केन्द्रीय सदस्य बालकृष्ण खाँण नक्कली भुटानी शरणार्थी प्रकरणमा कारागारमा छन् । गत जेठ ११ देखि ३१ गतेसम्म कांग्रेस रूपान्तरण अभियानले सातै प्रदेश भेला गरेका थिए । त्यसपछि प्राध्यापक, तरुण लगायतसँग काठमाडौंमा रूपान्तरण अभियानले भेला गरेको थियो ।

के छ कांग्रेस रूपान्तरण अभियानले दिएको २१ सुझावमा ?

  • पार्टीको सैद्धान्तिक, वैचारिक मौलिकताको रक्षा गर्नुपर्ने ।
  • समयसापेक्ष, स्पष्ट र जनमुखी नीति निर्माण गर्नुपर्ने ।
  • ‘सम्मुनत नेपाल, सम्मानित नेपाली’को लक्ष्यलाई राष्ट्रिय संकल्प बनाउनुपर्ने ।
  • पार्टी सदस्यता प्रणालीलाई खुला,सहज र पारदर्शी बनाउनुपर्ने ।
  • पार्टीका सबै तहले विधानमा तोकिए बमोजिमका काम, कर्तव्य र अधिकारको पूर्णपालना गर्ने तथा त्यसको अनुगमन र मूल्यांकनको व्यवस्था गर्नुपर्ने ।
  • पार्टी विधानलाई अविलम्ब संशोधन गर्नुपर्ने ।
  • संविधान संशोधनका लागि अग्रसरता लिनुपर्ने ।
  • सरकार सञ्चालन सर्वसाधारण जनताका लागि प्रभावकारी एंव परिणामदायी बनाउनुपर्ने ।
  • भ्रष्टाचारविरुद्ध सशक्त अभियान चलाउनुपर्ने ।
  • सिद्धान्तहीन चुनावी गठबन्धन नगर्ने प्रतिबद्धता जनाउनुपर्ने ।
  • देशभक्तिपूर्ण विदेश नीति अवलम्बन गर्नुपर्ने ।
  • गुटउपगुटको अन्त्य गरी एजेण्डामा आधारित राजनीतिलाई उत्प्रेरित गर्नुपर्ने ।
  • योग्यतन्त्र (मेरिटोक्रेसी)लाई हर अवसर वितरणको मूलमन्त्रको रूपमा अवलम्बन गर्नुपर्ने ।
  • निर्वाचन प्रणाली परिवर्तन गर्नुपर्ने ।
  • स्थानीय, प्रदेश र संघीय संसद्को विद्यमान संरचनालाई परिवर्तन गर्नुपर्ने ।
  • सुशासन प्रवद्र्धन गर्नुपर्ने ।
  • नैतिक मूल्यको संस्कृतिलाई सम्बद्र्धन एवं प्रवद्र्धन गर्नुपर्ने ।
  • उद्यमशीलता बढाउने एवं आत्मनिर्भर गराउनुपर्ने ।
  • भ्रातृ/शुभेच्छुक संघसंस्थाको पुनर्जीवन र स्वचालन सुनिश्चित गर्नुपर्ने ।
  • पार्टीको आय-व्ययलाई पारदर्शी तथा जवाफदेही बनाउनुपर्ने ।
  • पार्टीलाई अनुसन्धानमूलक, सृजनशील बनाउनुका साथै पार्टीभित्र अध्ययन संस्कृतिको विकास गर्न जोड दिनुपर्ने ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?