न आफू गरिखाने न अरूलाई गर्न दिने

Read Time = 16 mins

कतिपय व्यक्ति, वस्तुको उपयोगिता सिद्धिएपछि पनि ठाउँ ओगटेर अरूलाई दुःख दिएर पिरोलेर बस्ने प्रवृत्ति परापूर्वकालदेखि नै रहेको हुनाले यस प्रकारका भनाइ लोकले भन्दाभन्दै लोक भण्डार भरिएर आएको हो । यस्ता भनाइ कसले पहिला भन्यो भनेर तोक्न या किट्न सकिँदैन । यसको मतलब हो लोकोक्ति या लोकवाग्धारा अपौरुषेय हुन्छन् वेदका ऋचाजस्तै । यस अर्थमा पौरस्त्याचार्यले वेदलाई अपौरुषेय भनेको पनि उचित देखिन्छ र सर्वसत्य पनि त्यही नै हो किनभने जसरी उखान एउटा कुनै क्रान्तदर्शी लोकसदस्यले नै भनेको भए पनि कालान्तरमा ती लोकका सम्पत्ति बने व्यक्ति विस्मृतिमा गयो ।

वेद त यति वैज्ञानिक अनुसन्धानको परिणाम देखिन्छ कुन मन्त्र कुन ऋषिले दर्शन गरेको हो भन्ने त्यहाँ स्पष्ट छ । जस्तो कि गायत्रीमन्त्रका द्रष्टा विश्वामित्र हुन् । वाक् मन्त्रद्रष्टा वागम्भृणि हुन् । यति वैज्ञानिक विधि हामीले आजको उखान, टुक्का, गाउँखाने कथा आदिमा अवलम्बन गर्न सकेका छैनौं । यतातिर कसैको ध्यान गएको छैन । गौरांग महोदयका लहैलहैमा मात्र लागेका छौं, औचित्यानौचित्यको विचारविमर्श छैन । अहिले नेपाली राजनीतिमा पनि यही समस्या जल्दोबल्दो बनेर आएको छ । कोही त मौका छोप्न आएका छन् तिनको के कुरा गर्नु ? ती समयले ल्याएका दर्दुर हुन् । दर्दुर राग अलाप्छन् जान्छन् । समयका प्रवाहले तिनलाई जन्माउँछ र विलीन पनि बनाउँछ ‘परिवर्तिनी संसारे मृत को वा नजायते’ ।

व्यक्तिको उत्थान र पतनको क्रम चक्रकै शैलीमा हुन्छ । आवेशमा गरिएका कामले पुस्तादरपुस्ता कसैलाई राम्रो गर्दैन/गर्न सक्दैन पनि । यो कुरो अहिले नेपाली कांग्रेस र एमालेमा लागू भएको देखिन्छ । मान्छेको टाउकाको मूल्य तोक्ने र प्रजातान्त्रिक व्यवस्थामा दीर्घकालसम्म संविधानविपरीत संकटकाल लाएर आफू सत्ता र शक्तिमा टाँसिने प्रवृत्ति प्रदर्शन गरेका बेला तत्कालीन पार्टी सभापतिले चार आने सदस्य पनि नरहनेगरी निष्काशन नगरेको भए आज यस्ता उपयोगिता सकिएका बुढागोरू पारेगोरू बनिसकेका हुन्थे ।

सारा भ्रातृ तथा शुभेच्छुक संघ संठनलाई समाप्तिका दिशातिर लग्यो, सिद्धान्तविपरीत गठबन्धनमा लगेर कांग्रेस र कम्युनिष्टको सीमा मेटायो, रूखभन्दा हँसिया हतौडालाई आदर्श मान्यो त्यही नेतृत्व राखेर अब पनि बस्ने हो भने नेपाली कांग्रेसलाई आर्यघाटमा लगेर सद्गत् गर्न तयारी गरे हुन्छ ।

मौका आउँछ पर्खंदैन, त्यसमा चुक्ने महालन्ठ हो, समय गतिशील हुन्छ त्यो पटक-पटक दोहोरिएर आउँदैन । तमाम कांग्रेसीले अब एमालेका झैं कि जो छ त्यसैलाई जे गरे पनि इन्द्रस्त्वं, वरुणस्त्वं भनेर पूजा गरेर जुनी बिताउन तयार रहने, कि त मौकामा हीरा फोरेर पनि भासमा परेको पार्टीलाई उठाएर मार्गमा आरूढ गराउन सक्नुपर्दछ । अहिले गगन, विश्वप्रकाश, प्रदीप पौडेल, मधु आचार्य, गुरुराज घिमिरे, जीवन परियार, बद्री पाण्डेजस्ता युवक यस मार्गमा लागेका देखिए ।

यो राम्रो लक्षण हो, दलभित्रका संघर्षमा हारजितको कुरो हुँदैन सुधार परिष्कारको प्रयत्न र यथास्थितिको भिडन्त हुन्छ । प्रत्येक रातपछि बिहानको सूर्योदय आए झैं यथास्थितिलाई परास्त गरेर नवप्रवर्तन आउनैपर्छ/ल्याउनैपर्छ । निरन्तर लागेर यो काम गर्न नसक्ने हो भने गगन र विश्वप्रकाशजस्ताका दिन गएर रात पर्न सक्छ । मुठीको गुमाएर हात मोलेर केही पाइँदैन । थलापरेको गोरु पालेर साउने रोपाइँ धान्न सकिँदैन । थारो भैंसी पालेर दही, दूध खान पाइँदैन भन्ने कुरो राम्ररी मनन् गर्नैपर्छ कांग्रेसीजनले ।

पहिलो चार वर्षे कार्यकाल नौ वर्ष भोग्दा पनि जसले सन्तोष गरेन । सारा भ्रातृ तथा शुभेच्छुक संघ संगठनलाई समाप्तिका दिशातिर लग्यो, सिद्धान्तविपरीत गठबन्धनमा लगेर कांग्रेस र कम्युनिष्टको सीमा मेटायो, रूखभन्दा हँसिया हतौडालाई आदर्श मान्यो त्यही नेतृत्व राखेर अब पनि बस्ने हो कांग्रेसीजन भने नेपाली कांग्रेसलाई आर्यघाटमा लगेर सद्गत् गर्न तयारी गरे हुन्छ । नाता, ग्रुप, ठेकेदार र लैना भैंसीले न दल चल्छ न आदर्शको रक्षा हुन्छ । मानवमल र गोबरको छ्यानविचार नभएको भनेर हाम्रा पुर्खाले यस्तैलाई भनेका थिए । राजनीति नीति भनेको नियमको राजा या रोज्जा नीति होता पनि यो आफू, आफन्तका स्वार्थलाई प्राथमिकता दिनेका हातमा पर्दा बाँदरका हातको नरिवल बन्छ ।

नेपाली कांग्रेसको वर्तमान नेतृत्व पार्टीको दर्शन, पार्टीको इतिहास र पार्टी संगठन आदि कुरामा बेसुरको प्रमाणित भएको देखिन्छ । महाधिवेशनमा पनि नीतिका सम्बन्धमा छलफल नगरी महाधिवेशनजस्तो कुरो सिध्याएर फुर्सदले आफ्नो स्वार्थानुकूल पार्टी चलाउने चातुर्य अब लाटाले पनि बुझेको छ । अब विधानले तोकेका बेला केन्द्रीय कार्यसमितिको बैठक हुन सकेको छैन तापनि नेपाली कांग्रेसका नेता स्मसानशान्तिको भजन गरेर बसेका छन् । किन ? कसैलाई केहीको लोभ, कसैलाई केहीको लोभ यो मौनता र मनपरितन्त्रको कारण हो ।
अतः अध्यक्ष असल खराब दुवै हुनसक्ने भएको हुनाले पार्टीलाई सामूहिक नेतृत्वको अवधारणा, विधानलाई संशोधन गर्दा अध्यक्षलाई नै ब्रहृमाविष्णुमहेश्वरको तागत प्रतिबिम्बित हुने विधानका ठाउँमा कम्तीमा पनि सभापति, उपसभापति र महामन्त्रीमा अधिकार बाँडफाँडको अवधारणा अनुसारको विधान बनाउनु अतिआवश्यक भयो । पार्टी ग्रुपमा चलाउने होइन नीतिमा चलाइनुपर्दछ । अहिले नेपाली एकातिर कांग्रेस अर्कातिर हुँदै जान लागेको देखियो ।

समयएव करोति बलाबलम् :
मान्छे होइन नीति बलवान् हुन्छ हुनुपर्छ । यदि नीतिका लिकमा हिँडेन कोही भने सबै मिलेर नीतिका लिकमा हिँडाउन बल गर्नुपर्छ । बल गर्दा पनि पटक-पटक भाँडिएर आफूखुशी गर्छ कोही भने त्यस्तालाई दण्डित पनि गर्नैपर्छ । समयले त्यस्तालाई दण्डित गर्ला तर समयको गति अलि धिमा हुने भएको हुनाले मानवीय कमजोरीबाट समूह या समुदाय नोक्सानमा पर्दछ, कुनै विचार, आदर्श मैलन्छ संघसंगठनमा खिया लाग्छ भने कठोर निर्णय गर्नैपर्छ । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक साउन २ गते मंगलबारदेखि बसेको छ । यस दिनबाट सुरु भएको बैठक पहिला-पहिलाका भन्दा फरक हुनुपर्छ भएन भने नेपाली कांग्रेसका दिन जान्छन् ।

किनभने कांग्रेसको मूलप्रतिस्पर्धी दल भनेको एमाले नै हो ऊ ‘मिसन ८४ को ग्रासरुट’ मा निक्लेको छ । त्यो दलका सभापति र नेपाली कांग्रेसका सभापतिका चरित्रमा धेरै समानता रहेको देखिन्छ । आफू र आफन्तका लागि जे पनि जति पनि गर्ने चरित्र दुवैमा छ । दुवै दम्भी र घमण्डी छन् । दुवै दल आफ्नै हुकुम र निर्देशनमा चलाउन चाहन्छन् । दुवै प्रशस्ती र चाटुकारी शब्द सुन्न अभ्यस्त छन् । दुवै आफूसँग तर्क गर्ने या असहमत हुनका लागि कठोर छन् । एमालेका अध्यक्ष तित्रो बोले झैं बोल्छन् तर नेका सभापति बकुल्लाले माछो ढुके झैं सत्तासयरको या आर्थिक अपचलनको अवसर ढुक्छन् ।

एमाले अध्यक्ष बोलेर बिगार्छन् भने नेपाली कांग्रेसका सभापति अँध्यारा कोठाबाट गोटी चालेर भ्याउँछन् । एमाले अध्यक्षले आफ्नाविरोधी र आफूले भनेका कुरामा तर्क गर्ने खालका जतिलाई ‘बारराजा एक इन्द्र एकै स्वस्ती स्वाहा’ पारे । नेका सभापतिले त्यो तरिका अपनाउन प्रजातन्त्रवादी भएका हुनाले नसके पनि पार्टीलाई नै आदर्शविहीन बनाएर, बेलामा गर्नुपर्ने काम नगरेर, सामयिक चुनाव नगराएर, विचार दर्शन नमिल्नेसँग चुनावभन्दा पहिलेको गठबन्धन गरेर, ९/१० वर्षदेखि भ्रातृ तथा शुभेच्छुक संस्थाका चुनाव नगराएर पार्टी नै समाप्तिमा पुर्‍याए । एमालेका सभापतिले त व्यक्ति मासेका थिए नेकाका सभापतिले बीजै सिध्याइदिए ।

प्रतिवर्ष बजारमा आउने बीस लाख युवामध्ये २० जना पनि आउन नदिएर कांग्रेस बलियो हुन्छ ? हो यी सबै कुराको हिसाबकिताब नीतिमहाधिवेशन या विशेष महाधिवेशन गरेर चुक्ता गर्न सकेनन् कांग्रेसीजनले भने मनभरि, दिलभरि कांग्रेसको माया बोकेर पनि चितवनका जगन्नाथ पौडेल र डा.स्वर्णिम वाग्ले हिँडे झैं धेरै असल कांग्रेस हिँड्नेछन् आगामी चार वर्षभित्रमा । अतः बुज्झकी कांग्रेसका निमित्त साउन २ देखि प्रारम्भ भएको कांग्रेस केन्द्रीय समिति जीवनमरणको सवाल बोकेर बसेको देखिन्छ भने स्वार्थान्धहरू आ-आफ्नै स्वार्थका हरियालीमा रमाएर भदौमा आँखा फुटेको गोरुले चैतमा पनि हरियाली देखेझैं देख्यौँ भनेर डिङ हाँक्न सक्छन् ।

एमाले अध्यक्ष बोलेर बिगार्छन् भने नेपाली कांग्रेसका सभापति अँध्यारा कोठाबाट गोटी चालेर भ्याउँछन् । एमाले अध्यक्षले आफ्नाविरोधी र आफूले भनेका कुरामा तर्क गर्ने खालका जतिलाई ‘बारराजा एक इन्द्र एकै स्वस्ती स्वाहा’ पारे ।

यो नेतृत्वबाट चुनाव जीतिँदैन, आदर्श रक्षा हुँदैन, देश र जनताका लागि गर्नैपर्ने कामको सुरुवात हुँदैन भन्ने कुरामा अब पनि भ्रम पालेका छन् कसैले भने तिनलाई बेहोरे टारलाई दश पैसाको ढ्याक दक्षिणा दिएर पन्साए झैं पन्साउन अहिलेका कांग्रेसका सभापति माहिर छन् । आफूलाई के के न हुँ भन्ने नेतापुत्रहरूलाई ठेगान लाएर अब फेरि आ-आफ्ना क्षेत्रबाट चुनाव जितेर आउनै नसक्ने बनाए भने अरू पनि जो जो उहाँसँग राम्रो सम्बन्ध राखेर पद हात पारूँला भनेर बसेका छन् तिनले त्यस्तो अनुभव गर्न धेरै दिन कुर्नुपर्दैन । अतः अप्पदीपो भव, कल्याणमस्तु ।
रक्षाखातिर सर्पका शरणमा पर्ने कुनै मानिस ।
देखेको छ र के सुरक्षित यहाँ लाग्दै नलागी विष ।।
बदरीनाथ भट्टराईको चिठी शीर्षक कविताका यी दुई लाइन् अहिले नेपाली कांग्रेसका सबैले गायत्री मन्त्र सरी जप गर्नुपर्ने बेला आएको छ । आफ्न कार्यकालभरि विश्वप्रकाश शर्मालाई पार्टी प्रवक्ता बनाएर चुनावका बेला प्रकाश शरणको हितका निमित्त ‘काम सकियो भाँडो आफल तेरो ठाँडो’ गरेको नेपाली कांग्रेसका स्वार्थ सपना बोकेर बसेका नेताले बिर्सन मिल्दैन । पार्टी फुटाउँदासँगै भएको तर पछि अर्कातिर लागेकालाई पनि त उनले चुनावका बेला आफैंमा ल्याए नि जाबो काठमाडौंको मेयर दिएर । लोभीको भाँडो उभिण्डो हुन्छ । न पति मन्त्री न पत्नी मेयर ।

अहिले मलाई मद्दत गर १४औं मा म तिमीलाई मद्दत गर्छु भनेर नगरेको कुरो पनि त बाहिरियो नि । सुनिन्छ कसैलाई यो पार्टी त तिम्रा जनकको हो चुप लाग तिमीलाई नै जिम्मा लाएर छाड्छु पनि भने रे भनिन्छ । हो भने पनि सतर्क रहनुहोला सम्बद्ध व्यक्ति । जसका बाबुको हो उसले सकेन अब तपाईं नै हो भनेर पनि अरू कतिपयलाई आश्वासन बाँडेको सुनिन्छ । यस प्रकारका भ्रममा परेर कर्तव्य छाडे सम्भावना भएका कांग्रेसले भने यो देश, प्रजातन्त्र, शहीद र नेपाली जनताका निमित्त गर्नेभन्दा भ्रममा पर्नेलाई नेपाली जनताले भोलि थुक्नुपर्नेछ । अतः बुढो गोरु मरो भनेर रुनेभन्दा बुढो गोरु मरो भकारो खनियो भनेर खुशी हुन सिक्नोस् कांग्रसीजनहरू ।

Subscribe
Notify of
guest
4 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Devi Bhakta Dhakal
Devi Bhakta Dhakal
2023-07-19 12:28 pm

सारा भ्रातृ तथा शुभेच्छुक संघ संठनलाई समाप्तिका दिशातिर लग्यो, सिद्धान्तविपरीत गठबन्धनमा लगेर कांग्रेस र कम्युनिष्टको सीमा मेटायो, रूखभन्दा हँसिया हतौडालाई आदर्श मान्यो त्यही नेतृत्व राखेर अब पनि बस्ने हो भने नेपाली कांग्रेसलाई आर्यघाटमा लगेर सद्गत् गर्न तयारी गरे हुन्छ ।
यथार्थ कुरा सार्वजनिक गर्ने विद्वान लेखकलाई बधाई छ।

ganesh neupane
ganesh neupane
2023-07-19 3:49 pm

प्रा० डा० सर् लेख अति उत्कृष्ट छ।हार्दिक धन्यवाद ।

रमेश प्रसाद पुडासैनी ,काठमाडौ
रमेश प्रसाद पुडासैनी ,काठमाडौ
2023-07-21 5:30 am

अति सान्दर्भिक छ लेख ।मन छुने ,कटु यथार्थ छ ।

tirtha mishra
tirtha mishra
2023-07-22 1:08 am

commendable discourse

रिलेटेड न्युज

छुटाउनुभयो कि ?