बाजुराका खलियालाई संघीयताले सम्बोधन गर्न सकेन

Read Time = 16 mins

✍️ सर्पलाल गिरी

बाजुरा जिल्लाका खलियाहरूको स्थिति दयनीय अवस्थामा छ । उनीहरूको परम्परागत पुख्र्यौली पेशा हाल धरापमा छ । मालिक र साहुको लुगा कपडा सिलाइकटाइ गर्ने हलो बनाउने हलो बाँध्ने बजाउने बडाइ गरेर खलियाहरूले आफ्नो पेशा व्यवसाय गर्दै घरपरिवारको गुजरा चलाउँदै आएका थिए । पछिल्लो समयमा संघीयता आएदेखि आफूहरूको पेशा व्यवसाय धरापमा परेको र घरपरिवारको गुजारा चलाउन कठिनाइ भएको उनीहरूको गुनासो छ परम्परादेखि आफ्ना पुर्खाहरूले भोगेको रूपमा दमाई, सहनाई, नेपाली, औजी र ढोलीले आफ्नो माली रीति लगीको लुगा कपडा सिलाउने दशंै मेला पर्व विवाह र उत्सवहमा दमाहा बजाएर बढाई गर्ने जिउँदोको जन्ती मर्दाको मलामी दमाह बजाएर सेवा गरेबापत छ महिनाको खलो भागेको रूपमा कार्तिकको महिना एक सुपो धान (चारदेखि पाँच पाथी) र जेठको महिना गहुँ पाउने गरेकोमा हाल संघीयता आएदेखि यसको अन्त्य भएको कुरा समुदायका खलियाले बताएका छन् ।

त्यसैगरी हलो बनाउने र बनेकोे हलो पुनः मर्मत गरेर बाँध्ने पेशा गर्दै आएका सार्की समुदायको पेशा पनि हाल संकटमा छ । उनीहरूले पनि लगी (मालिक)बाट छ महिनाको एक सुपो धान र गहुँ पाउँथे । संघीयतापश्चात् उनीहरूले पाउने लगी भोक र प्रचलन हराउँदै गएको बताएका छन् । भाँडा आसी कार्ने व्यवसाय गर्ने विशेषगरी लुवार समुदाय पर्दछन् । वर्षको दुई पटक फलामको औजारहरूमा साँध लगाउँने र मर्मत गरेबापत छ महिनाको लगीबाट भोक खलो पाउने गर्थे । बाजुरा जिल्लाभरिका यो समुदायभित्र पर्ने खलियाहरू सबैको यो साझा समस्या भएको बताएका छन् । सबै हलिया खलियामा पर्दैनन् । सबै खलिया हलियामा पर्दैनन् । सबै दलितहरू हलिया होइनन् ।

नेपाल सरकारले २०६५ साल भदौ २१ गते हलिया मुक्त घोषणा गरेर पुनःस्थापना र साहुको ऋण र सावाँ ब्याज मिनाह गर्ने पाँच बुँदे घोषणा गरेपनि खलियालाई यस घोषणाले सम्बोधन गर्न सकेन । सरकारले हलिया र खलिया एकै हुन् भनेर बुझ्नु गलत हो । साहु मालिकको खेत जोत्ने हलिया हुन् भने । लगी भागे भएर परम्परादेखि सिलाइ गर्ने बाजा बजाउने र हलो बनाउने, फलामको औजार बाउँसो, बञ्चरो, हसिँया, कुटो, कोदालो छ महिनामा मर्मत गर्ने पेशा गर्ने समुदाय खलियामा पर्दछन् । मालिकको खलाखेत गएर सेवा गरेबापत सम्झेको अन्नबाली मालिकबाट पाउँनुलाई खलो भनिन्छ । जिल्लाभरिका खलियाहरूको यो साझा सवाल हो ।

लगी भागे भएर परम्परादेखि सिलाइ गर्ने बाजा बजाउने र हलो बनाउने, फलामको औजार बाउँसो, बञ्चरो, हसिँया, कुटो, कोदालो छ महिनामा मर्मत गर्ने पेशा गर्ने समुदाय खलियामा पर्दछन् । मालिकको खलाखेत गएर सेवा गरेबापत सम्झेको अन्नबाली मालिकबाट पाउँनुलाई खलो भनिन्छ ।

पछिल्लो समय खलियाहरूको घरमा जीवन धान्न चुलोचौको गरेर घरपरिवार पाल्न साह्रै कठिन भएको हलियाका अगुवाले बताएका छन् । नेपालभरि एकमात्र खलिया महासंघ बाजुरामा दर्ता भएको छ । बाजुरा जिल्लाका नौवटै स्थानीय पालिकामा तदर्थ समित गठन गरी तथ्यांक संकलन भइरेहको बुढीनन्दा नगरपालिका खलिया समाजका संयोजक बिललाल नेपालीले बताउनुभएको छ । बुढीनन्दा नगरपालिकामा मात्रै १८ सय बढी खलियाको तथ्यांक संकलन भइसकेको कुरा नेपालीले बताउनुभएको छ । हालसम्म जिल्लाभरिमा छ हजार भढी खलिया परिवारको तथ्यांक संकलन भइसेको खलिया महासंघका अध्यक्ष प्रतापे औजीले बताउनुभएको छ ।

पेशाबाट विस्तापित खाद्य अधिकार सञ्जाल गठनका लागि पैरवी गर्दै आइरेहको फियान नेपालले बाजुरा जिल्लाका विभिन्न स्थानीय तहका टोल र बस्तीमा समूह गठन पैरवी गर्दै आइरहेको कुरा फियान नेपाल बाजुराका प्रतिनिधि सविता थापाले बताउनुभएको छ । यसै साता बाजुरा जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिका वडा नम्बर-४ बाईमा गठित पेशाबाट विस्थापित खाद्य अधिकार प्रभावित समूहसँग अन्तक्र्रिया गर्ने अबसर मिल्यो उक्त समूहमा १५ जना सदस्य आबद्ध हुनुभएको छ । पेशा विस्थापित समूहमा १५ जना महिला र दशजना पुरुष मिलेर समूह गठन भएको छ । पेशा किन संकटमा पर्‍यो भन्ने जिज्ञासामा उक्त समूहका अध्यक्ष धन दमाईले हामीले पाला पुर्खादेखि लगी भागे प्रचलन अनुसार सिलाइ र बाजा बजाउने पेशा गर्दै आयौँ ।

आजभोलि गैह्रदलित सबैले मेसिन राखेर लुगा, कपडा सीप सिकेर सिलाउने लागे हामीले मान्दै आएका भागे मालिकहरूले सहरबजारमा सिलाई गरी राम्रा कपडा लगाउन थाले । पहिला हामीले जे जस्तो सीपले सिलाए पनि लाउथे । हामीले गुणस्तरी सीप पनि बढाउन सकेनौं । सिलाउन छोडे । सलाए बापत पाउने ज्वाला खलो भागे कसरी पाउनु हाम्रो पेशा धरापमा पर्‍यो । जहान बच्चा पाल्न धौ धौ छ । ६-६ महिना कार्तिक र जेठ खलो भागे एक सुपो धान र एक सुपो गहुँ लगीबाट पाउथ्यौं । गाउँमा यस्ता लागी धेरै छौं गाउँमा काम पनि गराउँदैनन् ।

कतिपय लगीहरू त बसाइँसरेर गए । राम्रो सिलाई खोज्न लागे हामीलाई जीवन गुजारा चलाउन कठिन छ । उहाँले गुनासो गर्नुभयो । पेशाबाट विस्थापित खाद्य अधिकार प्रभावित समूहका १५ सदस्यीहरू सबैको आफ्नो नाममा जग्गा जमिन छैन्, थौरै जनाको घर र एक कित्ता पाखो जमिनमात्र आफ्नो नाममा छ । नापी भए पनि जग्गाधनी लालपुर्जा हातमा छैन । नापी भएको घरजग्गा पनि तत्कालीन माहन्त र मुखियाको अधिनमा उनीहरूको कब्जामा भएको कुरा वीरमान नेपालीको गुनासो छ ।

उहाँ भन्नुहुन्छ, गैह्रदलित माहन्त मुखिया मालिक र साहुले हामी दलितलाई कसैले हलो जोत्न लगाए, कसैलाई फलाम बनाउन लगाए, कसैलाई जुत्ता सिलाउन लगाशए, कसैलार्य सिलाई त कसैलाई बजाउन लगाए कामको स्वार्थ लिए । सबै प्रयोग गरे तर हाल हाम्रो पेशा संकटमा छ । संरक्षण भएन । जग्गा जमिन पनि छैन । आजभोलि मजदुरी गरे पनि ज्याला पूरा पाइँदैन ।

उहाँको पीडादायिक गुनासो राज्यसँग छ यस्तै बताउनुहुन्छ दीप नपाली । घरमा सात जनाको परिवार छ । ६ वर्ष भारतको दिल्लीमा मजदुरी काम गरेर घरमा आउँदा घर भत्केर ६५ वर्षकी आमा अर्काको गोठमा बसेर ज्यालादारी काम गरेर गुजारा चलाएको व्यथा सुनाउनुभयो । ६५ वर्षकी लालपुरा नेपालीले ढुंगा बोकेर ज्यालादारी मजदुरी गरी आफ्ना परिवार पाल्ने बताउनुभयो । आफूसँग अन्य सीप र व्यवसाय छ्रैन । सिलाई गर्न कोही आउँदैनन् ।
को तल बुढीनन्दा जाइदे, को सिन्की रुझाइदे ।
को गरिदे मनको कुडो, को तित्त बुझाइदे ।
देउडा गीतबाट आफ्नो वेदना सुनाउँदै वर्ष ६५ की झुप्री विक स्थानीय भाषमा भन्नुहुन्छ, ‘हाम्मा दुःखका कुडा र पीर मर्काका कुडा गरौं भन्या बुझिदिन्या र सुनिदिन्या कोही नाई । बसिखान्या समयमा अरूको काम गरी जीवन गुजारा गरी बाँच्याकी छु । लगीभागी छुटिगयो । उहीँबेला मागेमा पाइदो छियो । आजभोलि काम नगरी कसैले थुकीकन पनि दिँदैनन् । उही बेला कतिका काम ग¥यौँ कति दिन त भोकभोकै पनि बस्यौँ । दशजना लगीका घर गएर दाल चामल मच्या धुलो मागीकन घरको चुलोमा आगो बाली जहान बच्चा पाल्दा छियौं । आइबेला कसैले हामीलाई हेर्‍याको छैन ।’

खलिया समुदायका व्यक्तिहरूका बालबालिकाहरूको पढाइ र पढेलेखेको बेरोजगारीलाई विशेष कोटा छुट्याउनुपर्नेमा राज्यले कुनै पनि सेवा सुविधा नदिएको कक्षा १२ पास गरेकी दर्सना नेपालीको गुनासो छ ।
कमाई खान्या जग्गा छैन, बस्नलाई घर छैन
खलो प्रथा हटिसक्यो बाँच्नलाई भर छैन ।
ब्याजे रुपैयाँ सयकडा ३ रुपैयाँ ब्याज साहुबाट ल्याएर जहान बच्चा पालेको कुरा खलिया स्वामीकार्तिक खापर गाउँपालिका संयोजक एवं पेशा विस्तापित खाद्य अधिकार समूह-४ का अध्यक्ष धन दमाई बताउनुहुन्छ । भारतमा मजदुरी गाउँघरमा ज्यालादारी काम गरेर घरपरिवार गुजारा चलेको छ । साहुको साँवा त के ब्याज तिर्दै जुनी बितेको छ । बाजेबाट बुबा र बुबा मेरेपछि छोरामा पनि साहुको ऋण जिम्मेवारी थपिने उहाँ बताउनुहुन्छ । त्यसै फलामका औजार कुटो, बाउँसो, हँसिया बञ्चरो, खुकुरी बनाउने आरन पेशा गर्दै आउनुभएका जगन्नाथ-१ का बजिरे लुवारको पनि पेशा संकटमा छ ।

भारतमा मजदुरी गाउँघरमा ज्यालादारी काम गरेर घरपरिवार गुजारा चलेको छ । साहुको सावाँ त के ब्याज तिर्दै जुनी बितेको छ । बाजेबाट बुबा र बुबा मेरेपछि छोरामा पनि साहुको ऋण जिम्मेवारी थपिने गरेको छ ।

खलाप्रथा टुट्यो शहर बजारमा औजार प्रयोग गर्छन् । आफूले बनाएको फलामको सामग्री किनिदिने मान्छे कोही छैन् । कसरी परिवार पाल्ने उहाँको गुनासो छ । त्यसैगरी खला प्रथामा हलो बनाउने र हलो बाँध्ने पेशा गर्दै आएका जगन्नाथ–२ का मनसुर सार्की पनि खलो प्रथा हटेदेखि आफ्नो पेशा संकटमा परेको बताउनुहुन्छ । खलिया प्रथा अन्यसँगै यो पेशा गर्दै आएका बाजुरा खलियाका लागि राज्यले नीतिगत विशेष सम्बोधनका लागि स्थानीय प्रदेश र संघ सरकारले व्यवस्था गर्न जरुरी छ ।

यसले गर्दा सरकारले प्रत्येक नागरिकलाई रोजगारको व्यवस्था गर्ने भने पनि यो पेशा संकटमा परेपछि धेरै नागरिक बरोजगारी बस्नुपर्ने बाध्यता रहेको छ । परम्परागत चलेको खलो प्रथालाई आत्मसाथ गर्दा न त यसले मानिसको जीवनस्तर उकास्न सफल भएको छ नत मान सम्मान नै पाएको छ । प्रत्येक स्थानीय सरकारले खलो प्रथासँग सम्बन्धित सबैलाई सीपको व्यवस्था गरेर उनीहरूलाई व्यवसायतर्फ उकास्न सके देशमा भएको बेरोजगारीलाई कम गर्न सकिन्थ्यो कि ?

विशेषतः त बाजुरा जस्तो अति विकटको बिम्ब मानिने जिल्लामा सबैले विशेष प्रकारको सीपको व्यवस्था गरेमा बाजुराबाट विदेशिने युवाको संख्यामा कम हुने बलियो सम्भावना देखिन्छ । अझै पनि गाउँघरमा खलियो प्रथामा आबद्ध भएका पेशा भनेर चिनिने सिलाइकटाइ र आरन व्यवसायलाई सरकारले विशेष जोड दिएर काम गर्दा केही युवा साथीहरूले देशमा नैँ रोजगारी पाउने थिए र दिनदिनै विदेशी ने युवाको संख्या कम नहोला भन्न सकिँदैन ?

अबका दिनमा बाजुराका प्रत्येक स्थानीय सरकारले खलिया व्यवसाय गर्दै आएका समुदाय र मान्छेहरूलाई यस पेशाबाट हटाउनका लागि विशेष कार्ययोजना बनाउँदा यो पेशालाई मर्यादित बनाउन सकिन्छ कि ? खलो व्यवसायबाट कसैको पनि जीवनस्तर माथि उठाउन पनि निकै कठिन परिरहेको छ । अझ त बालबालिकालाई शिक्षा दिन पनि मुस्किल परेको छ । समाज परिवर्तन गर्न यो पेशामा आबद्ध आमजनसमुदायलाई माथि उकास्दा राज्यमा रोजगारीको सिर्जना हुन्छ । यसले गर्दा यो पेशा दलित समुदायले मात्र नभई सबैले गर्दा सरकारको सुखी नेपाली समृद्ध नेपालको नारालाई अगाडि बढाउन सकिन्छ । यसले गर्दा सरकारले खलो व्यवसायलाई अन्त्य गरी यसलाई व्यवसायमा ढाल्नु आवश्यक छ ।

(लेखक गिरी नेपाल पत्रकार महासंघ बाजुरा शाखाको केन्द्रीय परिषद् सदस्य एवं रेडियो शिम्भुनाथ कोल्टी, बाजुराका सञ्चालक अध्यक्ष र बालअधिकारकर्मी हुनुहुन्छ।) 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?