लम्पी स्किन संक्रमण: धनकौलमा खोप र ईश्वरपुरमा उपचार शिविर

प्रकाश मैनाली सर्लाही, संवाददाता
Read Time = 3 mins

सर्लाही । सर्लाहीको धनकौल गाउँपालिकामा पशुचौपायलाई लम्पी स्किनविरुद्धको खोप लगाउन सुरु गरिएको छ ।

केही समयदेखि स्थानीय किसानले पालेका गाई, गोरु, भैँसीलगायतका चौपायमा लम्पी स्किनको सङ्क्रमण देखा परेपछि गाउँपालिकाले सातवटै वडामा शिविर आयोजना गरेर पहिलो पटक खोप लगाउन सुरु गरेको हो ।

गाउँपालिकाबाट लम्पी स्किनविरुद्धको दुई हजार भाइल खोप खरिद गरिएको गाउँपालिकाको पशु सेवा शाखाका प्रमुख रामश्रेष्ठ जानकारी दिनुभयो । उहाँका अनुसार यो खोप सङ्क्रमित नभएका पशुलाई मात्रै लगाइने छ । लम्पी स्किन लागिसकेका पशुलाई खोपले काम नगर्ने पशु प्राविधिकले बताएका छन् । धनकौल गाउँपालिकाको सबै वडामा लम्पी स्किन देखिएपनि एकिन तथ्याङ्क भने नरहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मलङ्गवाका वरिष्ठ पशु विकास अधिकृत शङ्कर साहले बताउनुभयो ।

उहाँका अनुसार धनकौलसहित जिल्लाको २० वटै पालिकामा लम्पी स्किनको सङ्क्रमण फैलिएको छ । धनकौल गाउँपालिकामा मात्रै यस रोगको सङ्क्रमणबाट दुईवटा पशु मरिसकेका छन् । वरिष्ठ पशु विकास अधिकृत साहले लम्पी स्किनको सङ्क्रमण भएका बेला उच्च ज्वरो आई पशु मर्ने गरेका बताउनुभयो । दुहुनो चौपायमा यो रोगले भेटेपछि दुध उत्पादनमा कमी आउने र प्रजननमा समस्या तथा गर्भपतन समेत हुनसक्ने सम्भावना रहेको साहले बताउनुभयो । धनकौल गाउँपालिकाले आज सदरमुकाम मलङ्गवाबाट समेत प्राविधिक बोलाएर वडा नं. २ बाट लम्पी स्किनविरुद्धको खोप लगाउन सुरु गरेको हो ।

उता, ईश्वरपुर नगरपालिकाले पनि घरघरमै पशु चिकित्सक पठाएर लम्पी स्किनविरुद्धको उपचार सुरु गरेको छ । आज पहिलो दिन वडा नं. १ मा पशु चिकित्सक पठाएर लम्पी स्किन देखिएर ज्वरो आएका, घाउ भएका चौपायको उपचार सुरु गरिएको नगरपालिकाले जनाएको छ ।

आफूहरु घरघरमै पुगेर बिरामी भएका चौपायलाई उपचार गर्ने, रोगविरुद्ध लड्न सक्ने औषधि वितरण गर्ने काम गरिरहेको नगरपालिकाको पशु सेवा शाखाका पशु प्राविधिक प्रदीप कार्कीले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?